कापी च्यातेर बनाइएको चंगा र दक्षिणाको पैसाले गुच्चा खेल्दा
दशैंले मलाई सधैं मेरो बाल्यकालमा फर्काउँछ । मंगल धुन बज्न थालेसँगै मेरो स्मृतिले मलाई बारा जिल्लाको स्याउली चोक पु¥याउँछ । त्यो सानो बस्ती, स–साना दोकान । लहलह झुलिरहेका धान । बेपर्वाह खेलिरहेका बालसखाहरु । त्यो गुच्चा, त्यो लंगुरबुर्जा, त्यो पिङ । सुकिलो मौसम । अनि शरद् ऋतुमा बहने हावाको शीतल स्पर्श ।
दशैंको बेला गाउँघरको चमक त्यसै बढ्ने रहेछ । टाढाटाढा पुगेकाहरु गाउँ फर्कने । गाउँमा सबै जना आफन्त, इष्टमित्र भेट हुने । मान्छेहरुको जमघट बढेपछि केटाकेटीलाई यसै रमाइलो । त्यसमाथि विद्यालयको लामो बिदा पनि ।
दशैं आउनुअघि नै हामी दिनगन्ती सुरु गरिसकेका हुन्थ्यौं ।
दशैंको कञ्चन सफा मौसममा चंगा उडाउने खुब रहर हुन्थ्यो । तर तयारी चंगा किन्ने पैसा हुँदैनथ्यो । घरमै बनाउन नसकिने । अनि कापी पाना च्यातेर भातको सिताले टाँसेर चंगा बनाइन्थ्यो । धागो पनि जोडजाड गरिन्थ्यो । लट्टा...









