२०७९ आश्विन १०
Advertisement

Advertisement

अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

सुप्रिमा महर्जन २०७६ साल फागुन अन्तिमतिर आफ्ना हजुरबुवाको जंकुका लागि नेपाल फर्किइन्। जम्मा चार साता बिदा मिलाएर आएकी थिइन्। लगत्तै कोरोना महामारी फैलियो र लकडाउन भयो।

त्यो बेलादेखि सुप्रिमा अस्ट्रेलिया फर्केकी छैनन्। भिसा बाँकी रहे पनि उनको एक वर्षभन्दा बढी समय नेपालमै बितिसक्यो। उनले यो समय यसै खेर जान भने दिएकी छैनन्। यतिबेला उनी अनलाइनमार्फत गहना व्यवसाय गरिरहेकी छन्।


Advertisement


‘स्थायी रूपमा नेपाल बस्ने सोचमा फर्केकी थिइनँ। तर महामारीका कारण यतै अड्किएँ,’ २९ वर्षीया सुप्रिमा भन्छिन्, ‘लकडाउनमा दिन कटाउनै मुश्किल हुन्थ्यो। त्यसैले आफ्नो रूचिको काम गर्न थालेँ।’ 

सुप्रिमालाई गरगहना मन पर्छन्। हातमा ब्रासलेट र औंठी, घाँटीमा विभिन्न डिजाइनका सिक्री, हार र कानमा झुम्का कहिल्यै खाली हुँदैन। बुवाको हस्तकला गहनासम्बन्धी व्यवसाय भएकाले पनि सानैदेखि विभिन्न डिजाइनका गहना लगाउने रूचि पलाएको उनी अनुमान गर्छिन्।

दस कक्षा हुँदादेखि नै बुवाको व्यवसायको खातापाता राख्ने उनले लकडाउनताका पनि बुवालाई सघाइन्।

‘त्यही बेला फरक डिजाइनका गहना बनाउने आइडिया फुरेको हो,’ सुप्रिमा व्यवसाय सुरू गर्न प्रोत्साहन मिलेको घटनाबारे भन्छिन्, ‘काम गर्दै जाँदा ठूलो आकारको सेफ्टिपिनको अर्डर देखेँ। ती सेफ्टिपिन डिजाइनमा झुम्का बनाउन सकिन्छ भन्ने ख्याल आयो। अनि आइडियाबारे बुवासँग सल्लाह गरेँ।’  

बुवाकै मद्दतबाट उनको भेट कालिगड रमेश रिजालसँग भयो। सुप्रिमाले आफ्नो अवधारणा रमेशलाई सुनाएपछि उनले भनेजस्तै झुम्का तयार पारिदिए। यो गत असोज महिनाको कुरा हो।  

त्यसपछि औपचारिक रूपमा सुप्रिमाले आफ्नो ब्रान्ड सुरू गरिन्, ‘एसटी महर्जन ज्वेल्स’। इन्स्टाग्राममा खाता बनाइन्। अनि आफूले डिजाइन गरेर बनाएका गहनाका फोटा पोस्ट गर्न थालिन्।

बुवाको नाम सूर्जमानबाट ‘एस’ र आमाको नाम तरीबाट ‘टी’ शब्द मिलाएर ब्रान्ड नाम बनाएको सुप्रिमा बताउँछिन्। सँगै नेवार समुदाय प्रतिनिधित्व गर्न ‘महर्जन’ र गहनाको काम भएकाले ‘ज्वेल्स’ थपिन्। यसरी ब्रान्डको नाम ‘एसटी महर्जन ज्वेल्स’ बनेको हो।

‘सानोमा घरका सबै भाँडाकुँडामा एसटी लेखेको देखेर अर्थ सोधेकी थिएँ। बुवा र आमाको नाम रहेछ। अहिले त्यही नामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।

लकडाउन समय कसरी बिताउने भन्ने छटपटीले सुरू भएको व्यवसायिक यात्राले विस्तारै गति लिन थालेको छ। एसटी महर्जन ज्वेल्स ब्रान्डका अहिले झुम्का, ब्रासलेट, नेकलेस, औंठी लगायत गहना पाइन्छ। सुप्रिमाका डिजाइनमा गहना बनाउने जिम्मेवारी रमेशसँगै सुमन शंकरले पनि लिएका छन्। 

अचेल उनी आफैं पनि गहना बनाउन सिकिरहेकी छन्।

‘सुरूको दिन त हातमा घाउ नै भयो। अहिले विस्तारै सिक्दै र बनाउँदैछु,’ सुप्रिमाले गहना बनाउन सिक्दाको अनुभव साटिन्। प्रत्येक साता एउटा नयाँ डिजाइनको सामान सार्वजनिक गर्ने योजना उनको छ।

सुप्रिमाले बहिनीहरूलाई गहना किन्न र लगाउन भन्दै घरबाटै ब्रान्डको मार्केटिङ थालेकी थिइन्। बहिनी र साथीहरूकै मद्दतमा सुप्रिमाको स्टार्ट-अपले बजार पाउन थालेको हो। अनलाइन बजार सामग्री बिक्रीमा फोटाले ठूलो प्रभाव पार्छ। यो बुझेर उनले फोटो खिच्ने तरिका अध्ययन गरिन् र सिकेअनुसार खिच्दै पोस्ट गरिन्।

एसटी महर्जन ज्वेल्सबाट सुनको जलप लगाएका गहना तयार हुन्छ। केही समयमै चाँदी र अन्य धातुका पनि बनाउने योजना सुप्रिमाको छ। उनले हरेक गहनाको नाम पनि राख्छिन्। यसो हुँदा उत्पादनको नाम र विशेषता ग्राहकसम्म पुर्‍याउन सक्ने उनी विश्वास गर्छिन्।

‘नेपालीहरू फेसनमा निकै सचेत छन्। विशेष समारोहमा विभिन्न डिजाइनका सुनचाँदीका गहना लगाउँछन्। क्याजुअल पहिरनमा गहना लगाउने चलन चाहिँ खास छैन,’ उनी भन्छिन्, ‘गहनाले पहिरनमा बेग्लै आकर्षण थप्छ। हामी क्याजुअल पहिरनसँग लगाउन मिल्ने गहना बनाउँदैछौं।’

अहिले एसटीले धेरैजसो महिलाहरूकै लागि गहना बनाए पनि पुरुषका लागि ब्रासलेट, औंठी र सिक्री छ। कुनै लक्षित उमेर नभए पनि प्रायः ग्राहक १५ देखि ३५ वर्षका हुने उनले जानकारी दिइन्।

एसटीले ग्राहकको रोजाइअनुसार ‘कस्टमाइज्ड’ गहना पनि बनाउँछ। काठमाडौं उपत्यका र बाहिर डेलिभरी हुन्छ भने विदेशमा पनि एसटीका उत्पादन पुगेको सुप्रिमाको भनाइ छ।

सुप्रिमाको दीर्घकालीन योजना एसटीका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु नै हो। भन्छिन्, ‘विदेशी बजारमा नेपालमा बनेका यी गहना प्रस्तुत गर्दै बिक्री बढाउने इच्छा छ। यसरी नेपाली हस्तकलाको प्रचार गर्न सकिन्छ।’

उत्पादनसम्बन्धी सकारात्मक प्रतिक्रिया पाइरहे भए पनि मूल्यबारे धेरैको गुनासो आउँछ उनलाई। उनी भन्छिन्, ‘केही ग्राहक सामान महँगो भयो भन्नुहुन्छ। हातले बनाउने हुँदा तुलनात्मक रूपमा महँगो हुनु स्वाभाविक हो।’

अहिले एसटीका तीन सयदेखि नौ सय पचास रूपैयाँसम्मका झुम्का/टप उपलब्ध छ। त्यस्तै औंठी चार सयदेखि आठ सय, नेकलेस/सिक्री नौ सयदेखि पन्ध्र सय र ब्रासलेट आठ सयदेखि एक हजार रूपैयाँसम्मको पाइन्छ। सुनको जलप छ महिनाभन्दा अघि नै फिक्का भए निःशुल्क फेरि लगाइदिने व्यवस्था भएको सुप्रिमाले बताइन्। 

सामग्रीको प्याकेजिङमा पनि उनले विशेष ध्यान दिएकी छन्। गहना पत्रिकाका झोला र त्यसपछि परम्परागत शैलीको थैलीमा प्याक हुन्छ। 

नेपालमै आफ्नो व्यवसाय सुरू गरेकी सुप्रिमाले अस्ट्रेलियामा स्थायी बसोबास (पिआर) को प्रकिया सुरू गरेकी थिइन्। महामारी कारण बीचमै काम रोकियो। अहिले उनी पिआर पाइहाले लिने कि नलिने भन्ने दुविधामा छिन्। 

लिटल एन्जल्सबाट व्यवस्थापनमा स्नातक सकेर २०७२ सालमा उनी स्नातकोत्तर गर्न अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालय पुगेकी थिइन्। लेखाकी विद्यार्थी उनले स्नातकोत्तर सकेर दुई वर्ष त्यहीँको एक कम्पनीमा लेखा शाखामा काम गरिन्। कामसँगै अस्ट्रेलियन अनलाइन इन्स्टिच्युटबाट नेतृत्वसम्बन्धी कक्षा सुरू गरेकी थिइन्। अहिले यो कक्षा अनलाइनमार्फत लिइरहेकी छन्।

अस्ट्रेलिया हुँदा सुप्रिमा नेपाललाई खुबै मिस गर्थिन् रे।

‘उता हुँदा नेपाल आउन एकदमै मन लाग्थ्यो। तर मिलिरहेको थिएन,’ उनी भन्छिन्, ‘नेपाल फर्के पनि के गर्ने भन्ने अन्यौलमा थिएँ।’

हजुरबुवाको जंकु बहानामा आएकी उनी केही दिन घुम्न कालिञ्चोक पुगेकी थिइन्। त्यही बेला अस्ट्रेलियामा लकडाउन हुँदैछ भन्ने खबर आयो। फर्किने भए उनले सोही दिन राति ९ बजेभित्र फर्किसक्नु पर्थ्यो।

भन्नेबित्तिकै फर्किन सम्भव भएन। त्यसैले केही समय यतै बस्ने भइन्। तर नेपालमा पनि लकडाउन भइदियो। लकडाउन लम्बिएसँगै उनी बुवाको व्यवसाय र अन्य काममा भुल्न थालेकी हुन्। अहिले आफ्नै काममा व्यस्त हुँदा खुसी लागिरहेको उनले बताइन्, ‘व्यस्त हुन थालेसँगै रमाइलो लागेको छ। आत्मविश्वास र प्रेरणा मिलेको महशुस गर्छु।’

सानैदेखि सक्रिय स्वभावकी सुप्रिमा आफूलाई मन लागेको काम थालिहाल्नुपर्ने मान्यता राख्छिन्। यसमा उमेर, पैसा र अनुभव बाधक नबन्ने विश्वास उनको छ। उनले आफ्नो व्यवसाय ५० हजार रूपैयाँमा सुरू गरेकी हुन्।

२९ वर्षे सुप्रिमा भन्छिन्, ‘कुनै काममा उमेर वा लगानीले रोक्छ भन्ने गलत बुझाइ हो। यी सब कुरा बेवास्ता गरेर मेहनत गर्दा राम्रो हुन्छ।’ 

लकडाउनले खुलाएको व्यवसाय एसटी महर्जन ज्वेल्सलाई जहाँ बसे पनि निरन्तरता दिने बताउँछिन् उनी। हरेक दिन नयाँ कुरा सिक्न रूचाउने सुप्रिमा भन्छिन्, ‘सिकाइ क्रम जारी छ। भोलि जहाँ बसे पनि एसटी महर्जनलाई विस्तार गर्नेछु। यसमार्फत नेपाली हस्तकला र रचनालाई विदेशी बजार पुर्‍याउने इच्छा छ।’ 

Copy link
Powered by Social Snap