२०७९ आश्विन १०
Advertisement

Advertisement

फुल्की बेचेरै महिनाको दुई लाख

पाल्पा भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ रानी महल, करुवा वा ढाका। जिब्रो भने चुकौनी र फुल्की सम्झेर पनि रसाउन सक्छ।

पाल्पालगायत पश्चिमी ठाउँमा विशेषगरी ठेलामा पाइने फुल्कीको मौलिक स्वाद अचेल शंखमुल र मैतीदेवीको ‘फुल्की स्टेसन’मा पाइन्छ। काठमाडौंमा फुल्की लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् तीन बाल्यकालीन साथी- राजिव थापा क्षेत्री, प्रविन कुमार श्रेष्ठ र मिलन ज्ञवाली।

फुल्कीलाई धेरैले पानीपुरी ठान्छन्। यस्तै देखिन्छ पनि। तर फुल्कीको आफ्नै स्वाद र बनाउने तरिका छ। यसमा अमिलो-चिसो पानी हालिँदैन। केराउको तातो तरकारी हालिन्छ र स्वादअनुसार अमिलो-पिरो झोल थपेर खाइन्छ।


Advertisement


‘त्यसैले यसलाई धेरैले तातो पानीपुरी पनि भन्छन्,’ सञ्चालक राजिवले भने, ‘तर साधारण पानीपुरीको पुरीमा फुल्की बन्दैन। तातो मटरले गलाउँछ। त्यसैले फुल्कीका लागि आँटा र सुजीको पुरी बनाउनुपर्छ।’ 

पुरी पुक्क राम्ररी फुलेन भने काम छैन। खाँदा कुरुमकुरुम हुनुपर्‍यो, झोलले नगलाउने बाक्लो पनि। यस्तो पुरीमा तरकारी, मसला, बिरे नुन हालेर तात्तातो फुल्की सर्भ गरिन्छ।

दुई शाखाबाट उनीहरूले दैनिक २००० वटासम्म फुल्की (करिब २५० प्लेट) बेचिरहेका छन्। बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने फुल्कीमा टाढा–टाढाबाट पनि ग्राहक आउँछन्।

गत भदौमा शंखमुल र माघमा मैतिदेवीमा खुलेका यी स्टेशनले महिनामा करिब दुई लाख कमाइरहेको राजिव बताउँछन्।

फुल्कीसँगै राजिव पनि काठमाडौंमा नयाँ नै हुन्। तानसेनका राजिव त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर गरिरहेका छन्। डेढ वर्षदेखि काठमाडौं बस्दै आएका उनी गाउँकै निजी स्कुलमा उप–प्रधानाध्यापक थिए।

फुल्की

‘मलाई दस वर्षअघि नै काठमाडौंमै स्नातक पढ्ने मन थियो, मिलेन,’ विज्ञानका विद्यार्थी राजिवले आफ्नो परिस्थिति सुनाए, ‘मध्यम वर्गीय परिवारले धेरै खर्चमा पढ्न गाह्रै हुन्छ। पछि पाल्पाबाटै स्नातक गरेँ।’

योसँगै उनले स्थानीय निजी स्कुलमा पढाए। उप-प्रधानाध्यापक भएपछि भने उनलाई लाग्यो रे, ‘पदअनुसार मेरो पढाइ पुग्दैन। स्नातकोत्तर गर्छु।’

बिहान ५ देखि बेलुकी ८–९ बजेसम्म खट्ने उनलाई स्कुल व्यवस्थापन सम्हाल्ने भार पनि थियो। तर आफूभन्दा दक्ष-शिक्षितलाई आदेश दिन मन मानेन। 

२६ वर्षीय राजिवले भने, ‘म त्यो पदमा योग्य छैन भनेरै छाडेँ। पढाइ सक्ने सुरले ०७५ असारमा काठमाडौं आएँ।’ 

उनी काठमाडौंमा पाल्पाली खाजा ‘मिस’ गर्थे, विशेषगरी फुल्की र बटुक। यहाँ पानीपुरी, चाट भए पनि फुल्की पाएनन्। एकातिर फुल्की नपाएको, अर्कातिर सहरमा बाँच्न मुश्किल भइरहेको। उनको दिमागमा आइडिया आयो- फुल्की बेच्ने।

काठमाडौंमा पाल्पाली खाजा चिनाउने योजना बुन्दै तीन स्कुले साथी मिलेर शंखमुलमा ‘फुल्की स्टेसन’ खोले।

मिलन अर्को कम्पनीमा काम गर्ने भए पनि फुल्कीका लागि समय निकाल्छन्। प्रविनको पारिवारिक पृष्ठभूमि व्यापार भएकाले साथ मिल्यो। राजिवलाई भने सुरूआती दिनमा नमिठा बचन खानुपर्‍यो। 

बटुक। 

अघिल्लो दसैंमा घर जाँदाको अनुभव सुनाउँछन्- आशिष पनि टेडोटेडो पो पाएँ। पढ्न त पढेको तर बाटो भड्केको हो कि? सही बाटोमा लाग्नू भन्ने खालका आशिष पाएँ। मास्टरको काम छाडेर फुल्की साहु भएको? पानीपुरी साहु हो? भन्दै गिज्याउँथे।’ 

तर राजिवले आफ्नो बाटो बनाइसकेका थिए। उनी हिँडिरहे, अहिले परिवारले पनि बुझ्दैछ। 

दस कामदारको सहयोगमा चलिरहेको फुल्की स्टेसन देख्दा रोजगार सिर्जना गरिरहेको अनुभव हुन्छ राजिवलाई। कामदारसँग राम्रो सम्बन्ध बनाउन अघि सर्ने उनले एउटा घटना हाँस्दै सुनाए, ‘दसैं बेला एक जना कामदारले मोबाइल हराए। पैसा म हाल्दिन्छु, पछि तलबमा कटाउँला भनेर मोबाइल किन्न गएको, महँगो भनेर उनले मानेनन्। पछि मेरै मोबाइल दिएँ।’

यसमै प्रविन थप्छन्, ‘आफूले चलाइरहेको राम्रो स्मार्टफोन उसलाई दिएर राजिवले नोकिया ११०० चलायो। दसैंपछि ती कामदार सम्पर्कमै आएनन्। विश्वास जित्न खोज्दा धोका पो भयो।’

तर राजिव यस्ता कुरामा खास ध्यान नदिने बताउँछन्। कामदारलाई चाहिएका समय अगावै तलब दिने बताउँदै भने, ‘कामदारलाई जस्तो सत्कार गर्‍यो, त्यस्तै फल आउँछ।’

राजिवले पाल्पाली फुल्कीको स्वाद निकाल्न गाउँकै साथी विशाल जयसवालसँग सहयोग मागेका थिए जसको परिवार नै यही व्यवसायमा छ। फुल्की स्टेसनमा बटुक, आलु–टिक्की चाट, चुकौनी र लाफिङ पनि पाइन्छ। राजिवका अनुसार यहाँबाट दैनिक सय वटासम्म बटुक र ७०–८० प्लेटसम्म लाफिङ बिक्छ। 

चाट
लाफिङ

‘फुल्की बुटवलतिर पनि चर्चित छ। बुटवलको फुल्की पाल्पाको तुलनामा मसलेदार हुन्छ,’ राजिवले भने, ‘धेरै ग्राहकले बुटवल स्वादमा मागिरहनुभएको छ। केही समयपछि बनाउनेछौं।’

फुल्कीजस्तै प्रख्यात अर्को स्वाद हो ‘बटुक’। खस्रो पिसिएको केराउको दालमा पिसिएको अदुवा–लसुन मिसाएर ‘डोनट’ आकार दिई तेलमा तारिएको परिकार हो बटुक। विशेषगरी यो टिमुरको अचारसँग खाइन्छ। बुटवलदेखि पाल्पा बीचको जोरधार नामको ठाउँ बटुककै लागि प्रख्यात भएको राजिवले बताए।

‘प्रायः गाडी जोरधारमा रोक्छन् जहाँ मान्छे बटुक र माछा खान्छन्। हामी पनि पहिले पाल्पाबाट बटुक खानै भनेर जोरधारा पुग्थ्यौं,’ राजिवले सुनाए।

उनका अनुसार फुल्की स्टेसनको बटुक जोरधाराकै स्वादमा पाइन्छ। बटुक निकै मनपराइएको बताउँदै उनले भने, ‘जोरधारामा खाइसकेकाले पनि उताकै स्वाद छ त, कुक उताकै भएर हो कि भन्छन्।’

यहाँ बटुक बनाउने विष्णु थापा मगर हुन्। ३६ वर्षीय विष्णु जोरधारामै बटुक बेच्थे। पछि राजिवकै प्रस्तावमा काठमाडौं आएका हुन्। 

फुल्की स्टेसनका थप शाखा खोल्ने योजना बनाएका छन् राजिवले। बौद्ध, असन, पाटन र भक्तपुर क्षेत्र लक्षित ठाउँ हुन्। 

सरकारले केही गर्न चाहने युवालाई सहयोग गरे यहीँ धेरै गर्न सकिने उनी बताउँछन्, ‘थुप्रै युवाले अवसर पाउँथे, तर सहयोग हुँदैन र पो।’ 

राजिवको सपना फुल्की व्यवसायमै सीमित हुने भने छैन। बिहानै कलेज र दिउँसो कहिले मैतिदेवी, कहिले शंखमुल धाइरहेका उनको सपना छ- पाल्पाका गाउँमा प्रविधियुक्त स्कुल सञ्चालन गर्ने। स्कुल विस्तार गर्दै कृषि कलेज खोल्ने। 

Source support: Setopati Sanchar Pvt. Ltd

Copy link
Powered by Social Snap