२०७९ आश्विन १०
Advertisement

Advertisement

स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला

रमेश प्रसाईं छ नि बाबु ::: राम्रो बोल्छ नि! आँखा टालिएको मान्छे क्या, अब तिनले आँखा देख्न सक्छ रे, अपरेसन हुँदै छ रे।’
असी वर्ष पुग्न लाग्नु भएको ससुरा बाले खबर भान्सासम्म आएर सुनाउँदै हुनुहुन्थ्यो।

‘कसले भन्यो बाबा हजुरलाई’ हाँस्दै छोराले सोध्नुभयो।

म पनि कान ठाडा पार्दै बाउ छोराको वार्तालाप सुन्दै थिएँ।


Advertisement


‘युट्युबमा भनेको रे, आमालाई सबै सम्चार थाहा हुन्छ नि, जतिखेर पनि युट्युब हेर्छे। बाबु, खोरियाको सञ्जयलाई चिन्छस्?’
‘किन नचिन्नु, पिच्कुको कान्छो छोरो होइन?’ 

‘हो! ठ्याक्कै चिनिस्। तँभन्दा निकै कान्छो हो। आज साउदीबाट भिडिओ कल गरेको थियो। गाउँमा पक्की घर बनायो रे, चार कठ्ठा घडारी पनि जोडेको छ रे, हाम्रो रुप्नी खेत नजिकै।’ ससुरा बाको मुहारमा प्रसन्नता छताछुल्ल देखिन्थ्यो।

बहत्तर वर्षीय सासू र असी वर्ष पुग्न लाग्नु भएको ससुरा बा काठमाडौंको घरभित्र एउटा सानो कोठामा ठूलो संसार निर्माण गर्दै हुनुहुन्छ। समयसँग कोल्टे फेर्दै हुनुहुन्छ। प्रविधिसँग हातेमालो गर्दै रमाउनु भएको छ। छोरी ज्वाइँ, छोरा बुहारी र नातिनीहरूसँग जतिखेर मन लाग्यो उत्तिखेर भिडिओ कल गर्दै उज्यालिनु हुन्छ।

राति नराम्रो सपना देख्दा होस् या राम्रो, बाडुल्की लाग्दा होस् या छाती दुखेको बेला अमेरिकादेखि दक्षिण कोरियासम्म स्मार्टफोन हातमा लिएर भिडिओ च्याट गर्दै सन्तुष्टिको श्वास फेर्नु हुन्छ, आफ्नै बलबुतामा।

भान्जी पिएचडी गर्न अमेरिका गएको एक वर्ष भयो। आमालाई कण्ठ छ युनिभर्सिटीको नाम। नातिनी अमेरिकाको कुन राज्यमा बस्ने सजिलै भनिदिनु हुन्छ। कुन कुन विषय लिएर पढेको जम्मै थाहा छ। विदेशी साथीहरूको नाम पनि स्पष्ट फड्कार्न सक्नु हुन्छ। आमाको यो लगलशीलता देखेर हामीसबै अचम्मित हुन्छौं।

 चालीस वर्षसम्म तराई मुलुककी बुहारी भएर खारिएकी नारी। कान्छो काका प्रायः सुनाउनु हुन्छ। ‘खेतालाहरूलाई बिहानभरि भाउजूले सत्तरी असी वटा मडुवाको रोटी ( कोदो) सजिलै पकाउनु हुन्थ्यो। भाउजूको जस्तो कला त न तिम्रो काकीमा छ न तिमीहरूमा।’ काका आफ्नी भाउजूको तारिफ गर्न कन्जुस्याइँ गर्नु हुन्न।

घुम्टोले बेरिएर वर्षौं बुहार्तन झेल्दै जिन्दगीको सीमारेखा आफैंले कोरेर खुम्चिएकी महिला आज स्मार्ट फोन हातमा लिएर विश्व परिवेशका कुराहरू गर्न पछि हट्नु हुन्न। सासू-आमाको बारेमा केही लेख्छु भनेर ससुरा बालाई सुनाउँदै थिएँ। हतार हतार भन्नुभयो

‘२००६ सालमा सिन्धुलीमा दाहाल कुलमा जन्मिएकी २०२१ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सिन्दुर हाल्दै मैले भनेको थिएँ; आज प्रजातन्त्र दिवसको दिन सबै स्वतन्त्र भए, एउटी नारीचाहिँ परतन्त्र भई। सिन्धुलीको रसिला जुनार, सुन्तला जस्तै सुन्दर रूप र मन लिएर मेरो जीवनलाई स्वर्ग बनाउन पन्ध्र वर्षको उमेरमा आई। तराईको उखर्माउलो गर्मीमा होमिँदै हाम्रो वैवाहिक जीवनको डुङ्गा सफलतापूर्वक पार लगाई।’

बाबाका कुरा सुनेर एकछिन टोलाएछु। के साँच्चै बिहे भनेको स्वतन्त्र व्यक्तिलाई परतन्त्र पार्ने संस्कार हो र?

सोचाइलाई परिवर्तन गर्दै सासूआमालाई सोधें

 ‘आन्द्रेले को हो आमा ?’

‘त्यही क्या संगमको सिनियर, पढाइ सक्किएर कोलम्बसमा काम गर्न थाल्यो रे पैसा पनि थुप्रो हुन्छ रे, सुरू सुरूमा ल्याबमा निकै सहयोग पनि गर्थ्यो रे, अर्ग्यानिक केमिस्ट्री मै पिएचडी गरेको रे।’ आमाका कुरा सुनिरहें। आमाको कुरा गर्ने तरिका सुन्दा अपत्यारिलो लाग्न सक्छ कि आमाले नेपाली अक्षर मात्र पढ्न सक्नु हुन्छ त्यो पनि बिस्तारै। तर संवादका क्रममा अंग्रेजीका शव्दहरू मज्जैले मिसाएर बोल्नु हुन्छ।

अस्ति जनैपूर्णिमामा नन्द र ज्वाइँहरू जम्मा हुनुभएको थियो। आमा कुद्दै मोबाइल बोकेर आउनु भयो। 

‘लु लु मेरो मोबाइलबाट पनि दुई चार वटा फोटो खिचिदेऊ, म पनि स्टोरी हाल्छु पछि मेमोरी हुन्छ।’

 ‘कान्छी नन्दले जिस्क्याउँदै भन्नुभयो – ओहो ठूली मम्मी यति स्मार्ट, मेमोरीलाई नेपालीमा के भन्छन त ?’ गर्वका साथ खुसी हुँदै सोध्नुभयो।

आँखा चिम्लिएर भन्नुभयो- पछि सम्झिनलाई फोटोहरू खिच्न खोजेको नि नानी! 

कोठा हाँसोले गुञ्जायमान भएको थियो।

जहाँ चाहा त्यहाँ राह भनेको हो रहेछ। आमाले आजको युगसँग सहकार्य गर्न आफूलाई अभ्यस्त पार्दै हुनुहुन्छ। ७२ वसन्त काटेकी सासूआमा आज पनि म सक्दिनँ, थाकें भन्नु हुन्न। गर्नु पर्छ काम गरेर मान्छे मर्दैन, जीउलाई जति सक्रिय बनायो उति स्वस्थ हुन्छ उहाँको सिद्धान्त हो। बुन्ने, उन्ने, बारी खन्ने जम्मै काममा उत्तिकै सबल र जाँगरिलो हुनुहुन्छ। आफैं भन्नु हुन्छ- यो थाइराइड अस्वस्थ खानपानले भएको हो, बिख नहालेको केही हुन्न हिजोआज।

छोरीहरूसँग मख्ख पर्दै मोबाइलका जल्दाबल्दा खबरहरू, कसैको जन्म दिन, एनिभर्सरी, अरूका घुमघामका फोटाहरू देखाउँदै प्रविधिमय जीवनको रामायण र महाभारत सुनाउनु हुन्छ।

‘आखिर के नै चाहियो र बुढेसकालमा, नानी। शान्ति र आनन्दले खान बस्न पाछौँ। यति सजिलै आफन्तसँग भलाकुसारी गरेका छौँ। समय काट्न मोबाइलले कति सजिलो पारेको छ हामीलाई। बुढाबूढीको लागि त यो मोबाइल स्वर्गजस्तै रहेछ।’

ससुरा वा मोबाइल चलाउनु हुन्न। तर सासूआमाको छेउमा बसेर मोबाइलका सबै गतिविधि नियाल्नु हुन्छ। दोहोरी हेर्दै बुढाबूढी रमाएको देख्दा, हामी पनि मख्ख पर्छौँ।

यो उमेरमा साँच्चै प्रविधिलाई साथी बनाउन जान्ने हो भने धेरै बुढाबूढी स्वस्थ, व्यस्त र मस्त हुने थिए। बच्चालाई चुप लगाउन हिजोआज मोबाइल खेल्न दिए जस्तै बुढाबूढीलाई पनि दिक्दार लाग्ने समय कटाउन प्रविधिको साथ निकै प्रभावकारी हुँदो रहेछ। 

मेरो सासू ससुरा पट्यारलाग्दो समयमा मोबाइल हेर्दै दिन कटाउनु हुन्छ। सबै गतिविधि साँझ छोरोसँग भेट भएको बेला सुनाउँदै चाउरी पर्न लागेका गालाहरू पोटिलो पार्दै हाँस्नु हुन्छ।

साँच्चै सासूआमा स्मार्ट युगकी स्मार्ट लेडी हुनुहुन्छ भन्दा फरक पर्दैन। प्रविधिसँग मितेरी लगाएको पनि धेरै भएको छैन तर पनि यति सजिलै प्रविधिलाई समात्नु उहाँको अदभूत क्षमता हो।

उहाँका उमेरका अरू आमाहरूले सायद यति सजिलै प्रविधि सिक्न सक्दैनन् होलान्। कुनै पनि कुरा एकचोटि सिकाएको भरमा टपक्क टिप्न सक्ने खुबी छ। दुई चार वर्ष अघिसम्म आमाले फेसबुक चलाउँदा बुहारीहरू या नातिनीहरूले चलाइदेका होलान् भन्ठान्थे आफन्तहरू पनि। तर त्यो बेला पनि जानीनजानी आफैं हौसिनु भएको थियो फेसबुक, म्यासेन्जर र युट्युब चलाउन।

‘सुरूमा दीपक बाबुले अमेरिकाबाट आउँदा आइप्याड ल्याइदिनु भाथ्यो। त्यो बिग्रेपछि जेठी नातिनीले बनाई दिएकी थिई त्यो पनि धेरैदिन काम लागेन। अनि जेठो छोराले यो सामसुङको मोबाइल ल्याइदियो। अहिले दुई वटा मोबाइल छन्। भजन सुन्न र युट्युब हेर्न सृष्टिले दिएको पुरानो मोबाइल पनि छ।’

फुरूङ्ग पर्दै मोबाइलको इतिहास सबैलाई सुनाउनु हुन्छ। फेसबुकमा अरूको फोटो लाइक गर्ने, रेडिमेट कमेन्ट पोष्ट गर्ने, स्टोरी हाल्ने, स्टोरीमा लभ रियाक्ट गर्न जम्मै आउँछ। कहिलेकाहीँ कुनै भिडिओ पनि साझा गर्नुहुन्छ। बिहान ओछ्यानमै जीवन विज्ञान सुन्दै प्रणायाम गर्न भ्याउनु हुन्छ। पूजापाठ उहाँको अर्को डिपार्टमेन्ट हो। धेरैजसो संस्कृतका श्लोक मुखाग्र छन्। हनुमान चालिसा त फूल टिप्दाटिप्दै भ्याउनु हुन्छ। शिव मानस पूजा लय हालेर गाउँदा घरको वातावरण शिवालयझैं प्रतीत हुन्छ। हरेक बिहान एक घन्टा आँखा चिम्लेर पाठ गर्नु हुन्छ।

गाउँ घरको खुला वातावरणमा विचरण गर्दै आएका पुराना पुस्तालाई सहरका घरभित्र खुम्चिएर बस्दा कति गाह्रो हुन्छ होला ? नातिनातिना स्कुल र पढाइको बोझले बोल्नसम्म भ्याउँदैनन्। छोराबुहारीलाई कामको हतारले सधैं तनाव। अनि बुढाबूढीहरू ठूलो घरमा कता कता हराएका हुन्छन्। आफन्त र साथीभाइहरूसँग कुरा गर्न पाउँदा मात्र पनि स्वर्ग प्राप्त गरेको अनुभूति मिल्छ।

आफ्नो उमेरमा निकै भागदौड गरेर बल्ल आरामले छोराछोरीसँग सँगै बस्न पाउँदा पनि एउटै कोठामा एक्लिएर दिक्दार हुनु परेको छ। यदि बुढाबूढीले प्रविधिलाई चलाउन जान्ने हो भने एक्लै गुम्सिएर निस्सासिनु पर्दैन थियो।

हामी बुहारी भएर भित्रिएपछि घन्टौं मुख आँ गरेर सासूका संघर्षका कथा सुन्थ्यौँ। उहाँमा कथा कहानी सुनाउने गजबको खुबी पनि छ। कुरा गर्न निकै सिपालु। काम त दस जना मर्दले के गर्लान् त्यो भन्दा बढी नै गर्नु हुन्थ्यो रे। चउरमा घाँस काट्नेदेखि घरधन्दा, गाईवस्तु, खसीबाख्रा, कुखुरा, खरायो, जम्मै सासू आमाका जिम्मेवारी थिए रे।

‘तिम्रो सासूले जम्मै व्यवहार जानेको छ। उहाँ जस्तो बुहारी गाउँमै कोही थिएनन्। होलीमा गाउँ भरिका मान्छे रंग दल्ल आउँथे हाम्रो घर। ससुरा बाले नै हामीलाई बाहिर बोलाउनु हुन्थ्यो रंग खेल्न। हाम्री दिदीको रूप उस्तै  गुण उस्तै। सबै मख्ख पर्थे उहाँलाई देखेर। अरूलाई दिएर खाएको मान्छे। अभावमा पनि कहिल्यै नआत्तिने, अप्ठ्यारोमा परेकाहरूलाई हरेक तवरले सहयोग गर्न पछि नपर्ने अचम्मको आईमाई हो।’

साँच्चै दया यतिसम्म छ कि बाटोमा काम्दै हिँडेका कुकुरहरूलाई देख्दा पनि पुरानो ओड्ने खोजेर ओढ्याइदिनु हुन्छ। घरमा कोही भोकै आए भने आफूले नखाएर पनि आगन्तुकको भोक मेटाइदिनु हुन्छ। हरेक जमघटमा आमाको प्रशंसा गर्न कान्ति काकी पछि पर्नु हुन्न।’

‘ठूलो मम्मी हजुरको अनुहारमा चायापोतो केही आएन, चउरमा घाँस काट्न जाँदा पनि यस्तो सेतो छाला घामले डढाएन? कि ठूलो बुवाले सम्सीबाट घाममा लगाउने राम्रो क्रिम ल्याइदिनु हुन्थ्यो?’ ब्युटीपार्लरमा ट्रेनिङ दिँदै आएकी नन्दले तीन छक्क पर्दै प्रायः सोधिरहनु हुन्छ।

‘बाबु कलको पानीले अरूको त दाँत कालो पार्थ्यो, मेरो त कपाल मात्र कालो पार्यो। अनुहार र दाँत त जति पखाल्यो उति सेता हुँदै गए।’ आँखा चिम्सा पार्दै पूरै दाँत खोलेर हाँस्नुभयो।

अचम्म छ, पानीले मात्र अनुहार पखाल्दा पनि टलल टल्किन्छ। चालीस वर्षसम्म तराईको प्रचण्ड गर्मीमा धुलो, धुवाँ खाएर काठमाडौं बस्न थालेको पनि वीस वर्ष पुग्न लाग्यो। आज पनि उस्तै राम्री र तगडा हुनुहुन्छ।

नन्दले आमालाई सम्झाउँदै हुनुहुन्थ्यो – आमा मोबाइल धेरै नचलाउनू है चाँडै बिग्रिन्छ, जतिखेर पनि हेर्नु हुँदैन आँखा पनि खतम हुन्छ। यस्ती राम्री मान्छे आँखा नदेख्ने हुनुभयो भने। 

‘बहत्तर काटिहालेँ हेर्न पाउन्जेल हेर्छु। उबेला खेतखलियान गर्दै ठिक्क भयो। अरू अमल केही छैन मेरो। मोबाइल त हेर्छु बाई! कत्रा दु:खले चलाउन सिकेँ अब छोड्छु! । बिग्रिए त्यही मोबाइल त बिग्रिन्छ नि। अब मलाई केको दु:ख? एउटी नातिनी अमेरिकामा छे, अर्की डाक्टर, एउटी कलेज पढाउँछे। जाबो मोबाइल काम नलाग्ने भए नाकाचालले किन्दिनु पर्छ।’
जिब्रो टोक्दै नन्द मरिमरी हाँस्न थाल्नु भयो। मैले पनि हाँसोमा हाँसो मिलाएँ।

Copy link
Powered by Social Snap