२०७९ आश्विन १०
Advertisement

Advertisement

मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

हामीमध्ये धेरैले घरगाउँमा हुँदा मस्यौरा खायौं वा बनायौं होला। हातैले बनाएका विभिन्न स्वादका मस्यौराको तलतल काठमाडौंमा बस्नेहरूलाई कहिलेकाहीँ लाग्दो हो। तर भनेका बेलामा खान पाउने कसरी?

कतिलाई बनाउनै नआउला, कतिलाई आए पनि बनाउने सामान र फुर्सद नहोला। बजारमा किन्न पाए पनि भनेजस्तो स्वादको मस्यौरा पाउन मुस्किल छ। पाइहाले पनि खुला बिक्री हुनाले स्वच्छ नहुने डर हुन्छ।

यस्तै कारणले कतिले मस्यौराको मौलिक स्वाद पनि बिर्सिसक्यौं होला।

उपभोक्ताको यही समस्या समाधान गर्न लागि परेको छ ‘तारो मस्यौरा उद्योग’। पाँच वर्षदेखि यसले मौलिक स्वादको मस्यौरा प्याकिङ गरी बजारमा पुर्‍याइरहेको छ। हातले होइन, मेसिनबाट बनेको मस्यौरा।


Advertisement


यो उद्योगका सञ्चालक हुन् विष्णु गजुरेल र शारदा रेग्मी। उनीहरू श्रीमान-श्रीमती हुन्। 

काठमाडौंको तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा छ तारो मस्यौरा उद्योग। उद्योगले औसतमा मासिक आठ सय किलोग्राम मस्यौरा उत्पादन गर्ने विष्णुले बताए।

‘हामी अत्याधुनिक प्रविधिको मेसिन प्रयोग गरेर मस्यौरा बनाउँछौं,’ ३८ वर्षीय विष्णुले भने, ‘कच्चा सामग्री, उत्पादन र प्याकेजिङपछिको समेत गुणस्तर मापन गरेर तयार भएको मस्यौरा बजारमा पुग्छ।’

त्यसैले उनीहरूले बेच्ने मस्यौरा बजारमा खुला पाइनेभन्दा स्वस्थ र गुणस्तरीय रहेको विष्णुको दाबी छ।

खासमा मस्यौरा भनेको मासबाट बनाइने हो। राम्ररी भिजाइएको मास पिसेर बाक्लो लेदो बनाइन्छ। लेदोलाई हातले स-साना डल्ला बनाएर घाममा राम्ररी सुकाएपछि मस्यौरा बन्छ। यही मस्यौराको रस बनाएर खानासँग खाइन्छ।

मासमा आलु, कर्कलो, पिँडालु, तरुल, कुभिन्डो, इस्कुस, काउली, बोडी, सिमी, काँक्रोजस्ता तरकारी पिसेर लेदो बनाई मिसाएर पनि मस्यौरा बनाइन्छ। यी तरकारीसँगै आजकाल च्याउ र चना पनि मिसाउन थालिएको छ।

मासको साटो मुङको दालबाट पनि मस्यौरा बनाउन सकिन्छ। स्वादका लागि अदुवा, लसुन र यस्तै अन्य मसला पनि मिलाउन सकिने शारदाले जानकारी दिइन्। उनीहरूको उद्योगले पनि यसै गरी मस्यौरा बनाउँछ। कच्चा पदार्थ प्रयोगका आधारमा यसको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म पर्छ।

शारदाका अनुसार मौसमी तरकारीको मौसमअनुसार नै मस्यौरा बनाइन्छ। पिँडालु, कर्कलो र कुभिन्डो मिलाएर भने नियमित रूपमा बनाइन्छ। 

‘बजार मागअनुसार विभिन्न तरकारी प्रयोग गरेर मस्यौरा बनाउँछौं,’ ३७ वर्षीया शारदाले भनिन्, ‘मेसिनबाट बनेको मस्यौरा कम्तीमा नौ महिनासम्म राख्न मिल्छ। प्याकेजिङ राम्रो भएकाले एक वर्षसम्म पनि बिग्रिँदैन।’

मस्यौरा उद्योग खोल्नुअघि उनीहरूले बजार अध्ययन गरेका थिए। त्यस क्रममा उनीहरूले विभिन्न भेगमा कुनकुन तरकारीको मस्यौरा कसरी बनाइन्छ भन्ने जानकारी लिए। पहाडी भेगमा मुङ र पिँडालुको बन्छ। तराईमा मास र कुभिन्डोको बढी रूचाइन्छ।

लामो समय बजार बुझेर २०७४ पुसमा उनीहरूले तारो मस्यौरा सुरू गरेका हुन्। ‘तारो’ अंग्रेजी शब्द हो जसले जमिनमुनि गानो लाग्ने पिँडालुको जातलाई जनाउँछ। मस्यौरामा मिसाइने पिँडालु र कर्कलो याद दिलाउने गरी ‘तारो’ शब्द रोजेको उनीहरू बताउँछन्।

उद्योग सञ्चालनको योजना भने २०७२ सालमै बनेको थियो। त्यस बेला शारदा घरव्यवहार सम्हाल्थिन्। दुई वर्षे सन्तानको रेखदेखमा दिन बित्थ्यो। उनी पहिले लघु उद्यम विकास कार्यक्रम (मिडेप) को परियोजना संयोजकका रूपमा काम गर्थिन्। दस वर्षसम्म जागिर गरेकी उनले २०६९ सालमा गर्भवती भएपछि छाडेकी थिइन्।

उनी यो दिनचर्या थोरै बदलेर केही उद्यम गर्न चाहन्थिन्। यसबारे श्रीमान-श्रीमतीको छलफल भयो। शिक्षण पेसामा रहेका विष्णु पनि शारदाको चाहनामा सहमत भए।

‘घरको काममा मात्रै संलग्न हुँदा एक किसिमले निष्क्रिय महसुस गर्न थालेपछि कुनै व्यवसाय सुरू गर्ने सोचेँ,’ शारदाले भनिन्, ‘के काम गरौं भनेर सोच्दै जाँदा मस्यौरा उद्योग चलाउने योजना बनेको हो।’

सुरूमा उनीहरूले घरमै मस्यौरा बनाउन थाले। मिक्स्चरमा मुङ र पिँडालु पेले। आवश्यक मसला मिसाएर हातैले परम्परागत शैलीमा मस्यौरा तयार पारे।

‘स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर मस्यौरा व्यवसाय गर्ने सोच पलायो,’ विष्णु भन्छन्, ‘गाउँघरतिर अझै पनि मस्यौरा बनाइन्छ।’

हामीकहाँ, विशेषगरी सहरी भेगमा तेल निकालिएको भटमासको पिठोबाट बनेको ‘सोयाचंक्स’ (बोलिचालीमा सोयाबिन) लाई मस्यौरा भन्नेहरू धेरै छन्। त्यसैले आफूहरू असली मस्यौरा बनाएर बजार पुर्‍याउन अघि बढेको उनी बताउँछन्।

उत्पादन र बजार बुझ्ने क्रममा उनीहरूले मस्यौरा घाम लागेको खुला ठाउँमा सुकाइने थाहा पाए। यसरी खुला सुकाउँदा स्वास्थ्यका दृष्टिले उपयुक्त होइन भन्ने उनीहरूलाई लाग्यो।

‘खुला ठाउँमा सुकाउँदा धूलो, फोहोर टाँसिने सम्भावना हुन्छ। त्यसैले हामीले सुरक्षित तरिकाले सुकाउने मेसिन पनि राखेर काम थाल्यौं,’ विष्णुले भने।

यसबाहेक तरकारी काट्ने, पखाल्ने, मिश्रण बनाउने, डल्ला पार्ने र सुकाउने मेसिनहरू पनि ल्याए।

मस्यौरा बनाउन चाहिने कच्चा सामग्री उनीहरू स्थानीयस्तरमै किन्छन्। सुरूको एक वर्ष त आठ रोपनी जग्गा भाडा लिएर पिँडालु र कर्कलो खेती गरेका थिए। त्यो तरिका त्यति उपयोगी हुन सकेन। त्यसैले किसानबाटै किन्ने निधो गरे।

यसरी सुरू भएको उद्योगमा अहिले पाँच जना नियमित कर्मचारी छन्। शारदा उद्योगमा उत्पादनको काम सम्हाल्छिन्। विष्णु बजार व्यवस्थापन गर्छन्। डेढ दशकदेखि उनी शिक्षण पेसामा पनि सक्रिय छन्। बिहान छ बजेदेखि ११ बजेसम्म सामाखुसीस्थित रेडन कलेजमा पढाउँछन्। बाँकी समय उद्योगमै खट्छन्।

काम गर्दै र सिक्दै अनि केही कमाउँदै र गुमाउँदै तारो मस्यौरा उद्योगसम्म आइपुगेको उनी बताउँछन्।

उद्योग चलाउनु चुनौतीरहित हुँदैन। जे सोचेर सुरू गरिएको हुन्छ, बजार त्यस्तो नहुन सक्छ। यसबाट उनीहरूको उत्पादन पनि अछुतो रहेन।

‘हामीले सोचेजसरी बजारमा उत्पादन पुर्‍याउन सहज थिएन। तुलनात्मक रूपले तारो मस्यौरा महँगो छ। ग्राहकहरूलाई कुरा बुझाउन र विश्वास जित्नै मुस्किल भयो,’ सुरूआती दिन सम्झिँदै विष्णुले भने।

बिक्रेताले उद्योगबाट उधारोमा लैजाने तर समयमा भुक्तानी नगर्ने, सामग्री बिक्रीमा लापरबाही गर्ने जस्ता समस्या पनि भोग्नुपरेको उनले बताए। यस्तो प्रवृत्तिले साना उद्योगीहरू मर्कामा पर्ने गरेको उनको अनुभव छ।

सुरूमा तारो मस्यौराको मुख्य बजार नेपाल नै थियो। अचेल विदेश पुग्न थालेको छ। विष्णुका अनुसार अहिले उत्पादनको ७० प्रतिशत विदेशमै निर्यात हुन्छ। खासगरी नेपालीहरू बसोबास गर्ने ठाउँ, अमेरिका, अस्ट्रेलिया, हङकङ लगायत मुलुकमा पुग्छ।

त्यस्तै उत्पादनको करिब १५ प्रतिशत काठमाडौं उपत्यकामा खपत हुन्छ। बाँकी काठमाडौं बाहिरका बजारमा जान्छ।

विष्णुका अनुसार हालसम्म उद्योगमा ३५ लाख रूपैयाँ लगानी भइसकेको छ। वार्षिक कारोबार करिब ५० लाख रूपैयाँको छ। प्रविधि आधुनिक भए पनि मस्यौरा परम्परागत नेपाली परिकार हो। यस्तो परिकार प्रवर्द्धन गर्न मौलिक खानाको व्यावसायिक प्रवर्द्धन हुनुपर्छ भन्ने उनलाई लाग्छ।

उनी भन्छन्, ‘उत्पादन गर्ने जिम्मेवारी उद्योगको हुन्छ। त्यसलाई बजार दिने कुरा व्यापारीहरूको हातमा हुन्छ।’

तारो मस्यौरा उद्योगबाट निकट भविष्यमा फलफूलको माडा पनि उत्पादन गर्ने योजना छ। फलफूलको माडा ‘ब्याग प्याकिङ फुड’ अर्थात् पदयात्रामा जाँदा बोक्ने खानाको रूपमा विकास गर्ने सोच उनीहरूको हो।

‘हाम्रो उत्पादनको गुणस्तरमा कुनै सम्झौता हुँदैन,’ मस्यौरालाई ब्रान्ड बनाइरहेका शारदा र विष्णु भन्छन्, ‘गुणस्तरीय मस्यौरा लिएर हामी बजार प्रवेश गरेका हौं। उच्च गुणस्तर हाम्रो मूल मन्त्र हो।’

Copy link
Powered by Social Snap