![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/12/istockphoto-839325654-612x612-1.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
एउटा रोचक तथ्यबाट सुरू गर्छु।
जुम्ल्याहाहरू दुरूस्तै हुन्छन्। बोली, स्वरूप, हिँडाइदेखि हरेक चालढाल उस्तै हुन्छ। ती दुबै एउटै पारिवारिक वातावरण र शिक्षादीक्षामा हुर्केका छन्। पोषणदेखि वंशाणुका सूचनाहरू सबै समान भएको अवस्था छ।
तर पनि ती दुईको वैयक्तिक भिन्नता (इन्डिभिजुअल डिफरेन्स) आधारभूत रूपमा फरक हुन्छ। उनीहरूका अनुभव शैली र धारणा फरक हुन्छन्।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
सहोदर बालबालिकामा पनि यही भिन्नता रहन्छ। ती वयस्क बनिसक्दा, उस्तै वातावरणमा रहे पनि उनीहरूबीच भिन्नता कायमै रहन्छन्। विचारवृत्तिहरू फरक हुन्छन्।
यसरी नै विभिन्न परिवार, समाज र संस्कृतिका बालबालिका ‘युनिक’ (अद्वितीय) हुन्छन् वा ऊजस्तै अर्को कोही हुँदैन। यो विविधताले अद्वितीयपनलाई अझै फराकिलो बनाइदिन्छ।
किन होला यस्तो भएको? यसका निहित परिणामहरू के होलान्?
यो लेखमा अद्वितीयपन वा विशिष्टताका कारणहरू, यिनको अतुलनियता, शिक्षा र बालविकासमा यसले पार्ने आधारभूत प्रभावहरू सम्बोधन गर्नेछु।
बालबालिकाका अद्वितीयपनका प्रमाणित वैज्ञानिक कारणहरू छन्। एकै परिवारभित्रै वंशाणु एकै किसिमको हुँदा पनि भिन्नता हुनुका पछाडि ‘एपिजेनेटिक्स’ को भूमिका रहन्छ।
यो भनेको वंशाणुका अनुक्रम (सिक्वेन्स) एउटै हुँदा पनि तिनीहरूले पैदा गर्ने फरक फरक वंशाणुगत सूचना हो।
जटिल जीवरसायन (बायोकेमेस्ट्री) प्रक्रियाहरूमध्ये एक डिएनएमा हुने हिस्टोन (एक प्रकारको प्रोटिन) को परिमार्जन क्षमता हो। जसले उही अनुक्रममा रहेका डिएनएलाई कुन धेरै क्रियाशील हुने वा सुषुप्त हुने भन्ने सूचित गर्छ। यसले जुम्ल्याहामा पनि वैयक्तिक भिन्नता ल्याउँछ।
वंशाणुको सूचनालाई यसैका धागा वा क्रोमोजोमको हरेक वंशमा अविछिन्न चलिरहने पुनर्निर्माणको प्रक्रियाले पनि फरक बनाउँछ। वैयक्तिक भिन्नताको जैविक रहस्य यहीँ अवस्थित हुन्छ।
न्युरोजैविक कारणहरूले पनि विशिष्टता ल्याउँछन्। उदाहरणका लागि, यसमा मस्तिष्कमा हुने सूचना सञ्चारका लागि चाहिने रसायनहरू जसलाई न्युरोट्रान्समिटर भनिन्छ, त्यसको मात्रा बालबालिकामा तलमाथि हुनु हो। यसले स्वभावको ढाँचा र संज्ञानात्मक क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ र भिन्नता ल्याउँछ।
जन्मभन्दा अगाडिको पोषण र भ्रूणको अवस्थिति, जन्मपछिका वातावरणीय कारकहरूले पनि भिन्नताहरू निर्धारण गर्छन्।
पारिवारिक अवस्था, संस्कृति, सामाजिक अन्तर्क्रिया, मानसिक र शारीरिक स्वस्थता, इत्यादिले भिन्नता निर्माण गर्छन् र यिनैको समग्रतामा अद्वितीयपन सिर्जना हुन्छ।
उल्लेख्य के छ भने, ती बाह्य र जैविक परिस्थितिहरू पनि परिवर्तन भइरहन्छन् र त्यसै अनुसार भिन्नताका लागि विभिन्न अवस्थाहरू बन्छन्। प्रत्येक वंशमा ती भिन्नताका समूहहरू र अन्य स-साना कारक तत्वहरू, जस्तै हल्का वंशाणु उत्परिवर्तन, फरक हुँदा वैयक्तिक भिन्नतासँगै सामाजिक र जैविक वंशान्तर पनि सिर्जना हुन्छ।
अद्वितीयपन मनोवैज्ञानिक प्रक्रियाको एउटा मूर्त अभिव्यक्ति हो। यसका निहित तत्वहरूमा संज्ञान, सूचना प्रशोधनको आन्तरिक बनावट, भावनात्मक नियमनका तरिका, विचारका ढाँचा इत्यादि पर्छन्। यी भित्री विषयगत संरचनाहरूले विशिष्टताहरू निर्धारण गर्छन्।
यसरी एकै परिस्थितिमा पनि बालबालिका युनिक बन्छन्। प्राकृतिक रूपमै यस्तो विविधता उत्पन्न हुन्छ। तसर्थ बालबालिकामा निहित यो सत्यलाई आधार मानी त्यसै अनुसार उनीहरूको व्यक्तिगत झुकाव बुझेर शिक्षित गरिनुपर्छ।
अद्वितीयपनका परिणतीहरू छन्।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
अद्वितीयपनको शिक्षा र बालविकासमा प्रमुख भूमिका हुन्छ। यसलाई सामान्यीकरण गरेमा शिक्षण प्रभावकारी नहुने अनुसन्धानले पुष्टि गरेको छ। यसैले विद्यालय, शिक्षक र अभिभावकहरूले बालबालिकाका अद्वितीयपन पहिचान गरेर त्यसलाई वैधता दिनुपर्छ। स्वीकार गर्नुपर्छ।
उदाहरणका लागि, कक्षामा शिक्षण गर्दा एउटै विधि सबैमा उत्तिकै प्रभावकारी नहुनु यही विशिष्टताका कारणले हुन्छ। यसलाई सामान्यीकरण गरी बनाइएका एकै किसिमका शैक्षिक प्रक्रियाले सबैलाई समेट्दैन।
विशिष्टताका कारणले हरेक विद्यार्थीका शैक्षिक आवश्यकताहरू पनि फरक पर्न जान्छन्। कुन विधि उपयुक्त हुन्छ भन्ने तथ्यलाई सन्दर्भ मिलाएर प्रयोग गर्नुपर्ने शिक्षाविद्हरू बताउँछन्।
विद्यार्थीबीच व्यक्तिगत तुलना गर्न नहुने तथ्यको आधार बालबालिकाको अद्वितीयपन हो। जुन सन्दर्भ एक विद्यार्थीका लागि उपयुक्त छ, त्यो अर्काका लागि मिल्दैन। किनभने हरेक बालबालिकाको बाह्य परिस्थिति र वंशाणुगत अवस्था नितान्त रूपमा भिन्नाभिन्नै हुन्छ।
विद्यालयमा वा अभिभावकले बालबालिकालाई अन्यसँग तुलना गर्नु न्यायोचित हुँदैन। यसले उनीहरूमा आत्मसम्मानमा कमी आउने र बौद्धिक विकासमा प्रत्यक्ष नकारात्मक असर पर्ने अध्ययनले देखाएको छ।
अभिभावकले अद्वितीयपनको ख्याल नराखी अरूका छोराछोरीसँग तुलना गर्दा बालबालिकाले हेय र हिनताबोध गर्छन्। यो क्रियाले उनीहरूको मानसपटलमा गम्भीर घाउ लाग्छ र यो वयस्क हुँदा पनि निको नहुन सक्छ।
यसले उनीहरूको स्वधारणालाई विक्षिप्त बनाउने, व्यग्रता बढाउने, सम्बन्ध कायम गर्न नसक्नेदेखि संज्ञानात्मक क्षमतामा ह्रास ल्याएको अनुसन्धानले देखाएको छ।
अद्वितीयपनका कारण बालबालिकाको विकासात्मक कार्यहरूको समयरेखा पनि धेरथोर फरक पर्न जान्छ। यसले एउटै उमेर समूहका, एकै कक्षाका विद्यार्थीमा पनि उपलब्धि फरक हुने र बौद्धिक परिपक्वता र सक्षमता विकासको समयक्रम फरक पर्छ।
तसर्थ कुनै व्यक्तिगत वा शैक्षिक सफलताका आधारमा एउटै कक्षामा पनि विद्यार्थीको प्रथम, द्वितीय, तृतीय भन्दै श्रेणी निर्धारण गर्न नहुने विज्ञहरू बताउँछन्।
कक्षामा विद्यार्थीबीच तुलनाका लागि बौद्धिक श्रेणीकरण गरिएमा गलत अभ्यास हुन जान्छ। यसले स्वप्रेरित विद्यार्थी सधैं अघि हुने, अरूले आफूलाई असक्षम मान्ने, समता खल्बलिने, शिक्षण विधिमा विभेदीकरण कम हुने अवस्था सिर्जना हुन्छ। यसले औसत विद्यार्थीलाई सधैं शैक्षिक त्रासमा राख्छ र उन्नति अवरूद्ध गर्छ।
विद्यालयमा व्यक्तिगत गुण वा बौद्धिक प्रतिस्पर्धाका परिणामलाई आधार मानेर तुलनात्मक व्यवहार गरिएमा शैक्षिक र मनोविज्ञानका अनेकौं परिणाम अवाञ्छित आउने अनुसन्धानले पुष्टि गरेको छ। कक्षामा प्रतिस्पर्धात्मक र प्रतिद्वन्द्विताको वातावरण सवर्था गलत हुन्छ। यसले विद्यार्थीमा उत्प्रेरणाको कमी, विद्यालय छाड्ने प्रवृत्ति, लक्ष्यहीनतादेखि मन्द मनोसामाजिक विकास, फिक्का आन्तरिक अभिप्रेरणा, न्यून आत्मविश्वास र वितृष्णा पैदा हुनेछ।
अभिभावक र विद्यालय दुबैले तुलना र स्वस्थ प्रतिस्पर्धाको अवधारणाबारे बुझ्नुपर्ने उल्लेख्य बुँदा पनि छ। तुलना र स्वस्थ प्रतिस्पर्धालाई एक पातलो धर्सोले छुट्ट्याउँछ। यी दुबैमा पक्कै पनि मूल्यांकनका मापदण्ड निर्धारण गरिन्छ तर त्यसको उद्देश्य नितान्त फरक हुन्छ।
प्रतिस्पर्धा द्वन्द्वशून्य, सहकार्य र उन्नति केन्द्रित छ भने, उपलब्धि बढाउन, प्रेरणा जगाउन, व्यक्तिगत विशिष्टता तुलना नगरी सामूहिक उन्नति र मनोरञ्जनका लागि छ भने बालबालिकामा उत्साह बढ्ने विज्ञहरू बताउँछन्। विद्यालयहरूले विद्यार्थीबीच व्यक्तिगत तुलनाको भावबिनै प्रतिस्पर्धा गराउनु उचित हुन्छ।
बालबालिकाले पनि आफूलाई तुलना गर्ने दुई आधार पाउँछन्।
एक, शिक्षक वा अभिभावकले दिएको अभिव्यक्ति।
दोस्रो, आफ्नो तुलना आफैंले अरूसँग गर्ने।
विद्यार्थी आफैंले व्यक्तिगत रूपमा आफ्नो तुलना अरूसँग गर्दा पनि परिणाम सही हुँदैन। तुलना गरी आफ्नो क्षमता प्रबल अनुभव गरे समानुभूति क्षमता र लचिलोपनमा ह्रास आउँछ। अर्को विद्यार्थी सबल भएमा हीनताबोध हुन्छ।
विद्यार्थीहरूलाई उनीहरू जस्ता छन्, त्यसैलाई स्वीकार गराउँदै उन्नतितर्फ लाग्ने प्रेरणा दिनुपर्छ। उनीहरू यसरी लचिलो, समानुभूति भावका र आत्मविश्वासी बन्छन्।
अब अद्वितीयपनलाई केन्द्रमा राख्दा कस्तो परिणाम हुन्छ, त्यो हेरौं।
विद्यार्थी, शिक्षक र अभिभावकले विशिष्टताको आधार आत्मसात गरेपछि शिक्षा र विद्यार्थीको व्यक्तिगत उन्नति सन्तुलित हुन्छ। यसले उनीहरूको स्वपहिचानलाई उपल्लो स्थानमा राख्छ र आत्मसम्मान कायम रहन्छ।
बालबालिकाले आफ्ना क्षमता चिन्न सक्छन् र त्यही अनुसार लक्ष्य निर्धारण गर्न सक्षम हुन्छन्। आफूमा भएका कमीकमजोरी सहर्ष स्वीकार गर्छन्।
यो अवस्थामा विद्यार्थीहरूले आफ्नो सिकाइलाई जोड दिने प्रवृत्ति विकास गर्छन्। यसको सकारात्मक प्रभावले बालबालिकाको सर्वांगीण विकास गर्छ। उनीहरू खुल्छन्।
शिक्षक र अभिभावकले बालबालिकाको अद्वितीयपनमा समभाव राख्दा अन्तरसम्बन्ध बलियो बन्छ। उनीहरूका विशिष्टता सम्बोधन हुन्छन् शिक्षणमा विभेदीकरण हुन्छ। कक्षाकोठा विद्यार्थी केन्द्रित बन्छन्।
यसरी विद्यार्थीहरू सहकार्यमा लाग्छन् र प्रतिद्वन्द्वी भावना समाप्त हुन्छ। प्रतिस्पर्धाको ठाउँ सहकार्यले लिँदा सामाजिक विकासका साथै शिक्षण सहज बन्छ।
विद्यार्थीले आफ्नो अद्वितीयपन आन्तरिकीकरण गरेपछि अरूसँग आफ्नो तुलना छाड्छन्। अनि आफ्नै विगतका कमी र हालका प्रगति तुलना गर्न सुरू गर्छन्। अरूका विशेषतालाई प्रशंसाको भावले देख्छन्। स्वभाव शान्त र सकारात्मक बन्छ।
अभिभावकले आफ्ना छोराछोरीको विशिष्टता पहिचान गर्दा न्यानो परिवार बन्छ जसमा बालबालिकाको समग्र विकास सम्भव हुन्छ। उनीहरू भावनात्मक रूपमा सुरक्षित बन्छन्; लचिलो बन्छन्।
धेरै परिवार, समुदाय र सांस्कृतिक संरचनाबाट विद्यालयमा बालबालिका आउँछन्। यो विद्यालयहरूलाई दुबै चुनौती र अवसर हो। यही सुन्दर विविधतालाई विद्यालयले मल, जल र स्थान दिँदा बालबालिकाको हित हुन्छ।
सबैले बालबालिकाको विशिष्टता पहिचान गरी सार्थक मान्यता दिनुपर्छ। सबैलाई एकै साँचोमा नराखी न्यायोचित व्यवहार गरेमा समता कायम हुन्छ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)