२०७९ आश्विन १०
Advertisement

Advertisement

सासू बुहारीको ‘टिकल-पिकल’

अन्जु शर्माको सोख हो अचार बनाउनु। खानुभन्दा पनि बनाएर अरूलाई बाँड्न पाउँदा झनै रमाउँछिन्। उनको अचारप्रतिको लगाव चालीस वर्ष अगाडिदेखि हो। टन्न अचार बट्टाभरि हालेर साथीभाइलाई दिन्थिन्।

पछिल्ला वर्ष सामाजिक सञ्जालमा जोडिँदै गएपछि आफूले बनाएका अचारको फोटो फेसबुकमा राख्न थालिन्। हेर्दै मुखमा पानी आउने अचारका फोटो देखेर धेरैले अन्जुको तारिफ गर्थे। अझ कतिले उनलाई अचार बेच्न सुझावै दिए।

उनलाई अचार बनाएर बेच्नै फुर्सद त कहाँ थियो र! अन्जु करिब आठ वर्षदेखि लैन्चोरस्थित सिवेक अस्पतालमा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेकी छन्। उनको दिन अस्पतालमै बित्छ। 


Advertisement


तर एकदिन डल्ले खुर्सानी अचारले उनलाई ऊर्जा दियो। डल्लेको अचारलाई ‘बिजुली’ नाम दिएर उनले फेसबुकमा फोटो राखिन्। ‘ए बिजुलीको तार तार तार…’ लेख्दै रमाइलो क्याप्सन पनि दिइन्।

फोटो राखेको केहीबेरमै अचारबारे सोध्नेको ओइरो लाग्यो। अधिकांशले किन्ने इच्छा देखाए।

‘यदि मानिसहरू मैले बनाएको अचार किन्न चाहन्छन् भने किन नबेच्ने त’ भन्ने सोच उनलाई आयो। 

‘अचार बेच्ने आइडिया मलाई मन परेको थियो। तर व्यापारबारे केही ज्ञान र अनुभव नभएकाले गर्ने वा नगर्ने निर्णय लिन सकेकी थिइनँ,’ अन्जुले भनिन्, ‘फेरि यता काममा पनि जानु पर्ने। एक्लै बनाएर बेच्न सम्भव थिएन। यसमा अघि बढ्न मलाई सहयोग गर्ने हात जरुरी थियो।’  

उनले आफ्नी बुहारीसँग सल्लाह गरिन्। अन्जुका अनुसार उनकी बुहारी हिमा राई शर्मा खाना पकाउन निकै खप्पिस छिन्। आफ्नै घरमा यो खुबी हुँदा झनै गज्जब भयो।

अनि सासू अन्जु र बुहारी हिमाको सहकार्यमा उनीहरूले घरायसी अचारलाई व्यवसायको रूप दिए। नाम राखे- ‘सासू बुहारी टिकल एन्ड पिकल’।

‘टिकल भनेको काउकुती, अनि पिकल अचार भइहाल्यो,’ अन्जुले नामबारे खुलाइन्, ‘यो नाम राख्नुको उद्देश्य हामी सासू बुहारीले बनाएको अचार खाने व्यक्तिको जिब्रोमा काउकुती लगाउनु हो।’ 

अन्जु शर्मा (दायाँ) र हिमा राई शर्मा।

उनीहरूले अचार बेच्न थालेको करिब दुई महिना भयो, मात्र दस हजार रूपैयाँ लगानीमा। अहिले सामाजिक सञ्जालकै सहयोगमा सासूबुहारीको अचार धेरैको जिब्रोले चाखिसक्यो।

अचार बनाउन आफूलाई भन्दा बुहारीलाई धेरै ज्ञान भएको अन्जुले बताइन्। हिमाको सीप, काम गर्ने तरिका र मिहिनेत देख्दा उनलाई निकै गर्व लाग्छ।

आफ्नी सासूले तारिफ गरिरहँदा हिमा उनकै छेउमा बसेर हाँस्दै थिइन्। 

त्यसैबीच हिमाले भनिन्, ‘म गृहिणी हुँ। अघिल्ला वर्ष सानी छोरीको हेरचाहमै बित्यो। लकडाउनमा अलि फुर्सद थियो। आमाले अचार व्यवसाय गर्नेबारे सोध्नुभयो। खाली बसिरहनुभन्दा काम गर्नु राम्रो भनेर हुन्छ भनेँ।’ 

उनले थपिन्, ‘मलाई पनि अचार खान धेरै सोख छैन। तर बनाएर अरूलाई खुवाउन रहर लाग्छ। पहिले पनि घरमै बसेर बेकिङ गर्थेँ। अहिले त अचार बनाउनबाटै फुर्सद पाउँदिनँ।’ 

पहिलो लटमा उनीहरूले दुई दर्जन बट्टा अचार बेचे। दोस्रो लटमा ३५ बट्टा हुँदै संख्या बढ्दै गएको हिमा बताउँछिन्।

हाल यी सासूबुहारीले एघार स्वादका अचार बेचिरहेका छन्। ट्वाक्क टुक्क अमला, मूला, तोफुलिसिअस ड्राइ, खट्टो मिठो अमला, डल्ले खुर्सानी ‘बिजुली’, डल्ले तामा, डल्ले गार्लिक पेस्ट, चिकेन लाजवाब, मसरुम, चिकेन भुजुरी र मटन लाजवाब।

यो सूचीमा अझै ६ वटा स्वाद थप्ने तयारी रहेको उनीहरू बताउँछन्।

अन्जु र हिमाका लागि हरेक स्वाद विशेष छ।

यीमध्ये अलि फरक नाम भएको ‘बिजुली’ अचारको भने कहानी पनि रोचक छ। अन्जुका अनुसार यो डल्ले खुर्सानीको अचारको नाम विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको सम्मानमा राखिएको हो।

‘कुलमान घिसिङले राजीनामा दिने कुरा चलिरहेका बेला हामी यता अचारको नाम सोचिरहेका थियौं,’ अन्जुले भनिन्, ‘डल्ले खुर्सानी खाँदा त्यसको पिरोले दिमागमा बिजुलीको झट्का लागेको जस्तै हुन्छ। र, बिजुली भन्नेबित्तिकै सबैलाई याद हुने नाम हो कुलमान घिसिङ। यहीकारण हामीले डल्ले खुर्सानी अचारलाई उहाँकै यादमा बिजुली नाम राखेका हौं।’ 

उनीहरूले सुरूमा आफ्ना आफन्त र साथीभाइको अर्डर लिएर काम थालेका थिए। बिस्तारै एकअर्काको सम्पर्कबाटै धेरै माझ पुगेको बताउँछन्। घरबाट सिधै ग्राहकलाई पुर्‍याउने भएर उनीहरूले कुनै पसल खोलेका छैनन्। त्यसैले घरका हरेक कुनामा अचारका बट्टा देखिन्छ।  

अचार डेलिभरी अन्जु आफैं गर्छिन्।

‘पहिलो अर्डर बेच्न जाँदा अप्ठ्यारो लागेको थियो। जिन्दगीमा कहिल्यै नगरेको काम गर्दा नौलो अनुभव भयो,’ उनले भनिन्। तर पहिलो अर्डरबाट पाएको तारिफपछि उनी हौसिइन्।

हिमाका अनुसार सबै घरधन्दा सकेपछि अचार बनाउन सुरू हुन्छ। अन्जु दिउँसो काममा जाने भएकाले प्रायः रातीको खानापछि। त्यसैले कहिलेकाहीँ काम सक्दा रातको दुई बज्ने हिमाले बताइन्। 

यता दिनभरिको कामले जति थकाइ लागे पनि अन्जु अचार बनाउन जाँगर निकाल्छिन्। 

‘सासूबुहारी सँगै काम गर्दा रात बितेको पत्तो नहुने रहेछ,’ अन्जुले भनिन्, ‘फेरि अचार बनाउने बहानामा बुहारीसँग झन् नजिक हुन पाएकी छु। हाम्रो सम्बन्ध सासूबुहारी भन्दा पनि साथी जस्तो छ।’

यी सासूबुहारीको आत्मीयता देखेर बाहिरी मान्छे पनि छक्क पर्छन् रे। सासूबुहारीको ‘ग्रह नमिल्ने’ धारणा राख्नेहरू त अझ अचम्म मान्छन्। अन्जु र हिमाले यस्ता सोच गलत सावित गरेर देखाएका छन्।

‘घरमा आमा र छोरी मिल्ने अनि बुहारीलाई हेला गर्ने भन्ने हुँदैन। मेरी छोरी छैन, बुहारी नै छोरी हुन्,’ अन्जु भन्छिन्, ‘परिवारका सबै सदस्य मिल्नु पर्छ र एकअर्कालाई माया र साथ दिनु पर्छ।’

अन्जु शर्मा ।

सासूबुहारीको ब्रान्ड नामको अचार भए पनि यो काम परिवारमा यी दुईलाई मात्र भाग लागेको छैन। अन्जुका श्रीमान, छोरा, ११ वर्षीया नातिनीदेखि र घरमा काम सघाउने बहिनीले समेत सघाइरहेका छन्।

बट्टाको बाहिरी डिजाइनको काम छोरा (हिमाका श्रीमान) ले गर्छन्। अन्जुका श्रीमान सरसामान मिलाउन र डेलिभरीमा सँगै गइदिन मद्दत गर्छन्।

‘नातिनीले समेत सघाउँछिन्। एकदिन छोरा व्यस्त भएका बेला नातिनीले बट्टाको ग्राफिक डिजाइन बनाइदिइन्। स्कुल प्रोजेक्टमा ग्राफिक डिजाइन सिकाएका रहेछन्,’ आफ्नो काममा नातिनीले इच्छा देखाउँदा उनलाई साह्रै खुसी लागेको थियो।

यसरी सासू बुहारी टिकल एन्ड पिकलको काममा परिवारै जमेको छ। अन्जुका अनुसार महिनामा करिब एक लाख रूपैयाँको कारोबार भइसक्यो। उनीहरूले अचार बनाउन लाग्ने खर्च बाहेक पैसा खुत्रुकेमा राख्छन् रे। त्यसको सानो हिस्सा असहाय बालबालिका र परिवारलाई पनि दिने गरेको अन्जु बताउँछिन्।

समय अभाव र घरबाटै काम हुने भएकाले अहिले उनीहरूले एकपटकमा ६० बट्टा मात्र बनाउन सक्छन्। केही व्यक्तिले सहकार्यबाट धेरै उत्पादन गर्ने प्रस्ताव पनि ल्याएका थिए। हिमा र अन्जुले मानेनन्।

‘झापादेखि अर्डर आइरहेको छ। कयौंले टन्नै अर्डर गरेर विदेश लान खोजेका थिए। तर हामी त्यति धेरै बनाउन सक्दैनौं,’ उनीहरू भन्छन्, ‘जब उत्पादन एक्कासि बढ्छ, त्यसको गुणस्तर नघट्ने कुरा हुँदैन। त्यसैले हामीले थोरै तर आफ्नो ग्राहकलाई चित्त बुझ्दो अचार बनाउने निर्णय गरेका हौं।’ 

नेपाली समाज र ग्राहकको स्वाद ध्यानमा राख्दै उनीहरूले सबै धर्म मान्ने व्यक्तिलाई हुने हिसाबले अचार बनाएका छन्।

‘हामीले हलाल गरेको खसीको मासुबाट अचार बनाउँछौं। मुसलमान समुदायका व्यक्तिले पनि हाम्रो अचार निर्धक्क खान सकून्,’ अन्जु भन्छिन्, ‘मेरी आफ्नै सासू मुस्लिम हुनुहुन्छ। मेरी बुहारी किँराती अनि म बाहुन। घरमै हरेकको संस्कृतिअनुसार फरक स्वाद हुँदा ग्राहकका लागि पनि ध्यान दिनै पर्छ भन्ने हाम्रो मान्यता हो।’ 

यसरी सबैको रोजाइअनुसार अचार बनाउँदा समय र लगानी बढ्छ। तर, अन्जु र हिमालाई चिन्ता छैन। 

‘हामीले रहरले अचार बनाएका हौं। कुरा पैसाको होइन, हाम्रो मनको सन्तुष्टि ठूलो हो,’ सासूबुहारी भन्छन्, ‘आफ्नो भान्सामा जस्तो अचार बनाएर खान्छौं, त्यही ग्राहकलाई बेच्ने हो। बजारमा पाउने अचार र हाम्रो अचारको फरक यही हो।’

अन्जुको परिवारलाई कमाइकै लागि अचारको सानो व्यवसाय खोल्न जरुरी थिएन। बरू घरायसी काममै व्यवसाय गर्न र बढावा दिने सकिने उद्देश्यले यो काम थालेको बताउँछन्।

‘हामी सबैले अचार बनाएकै हुन्छौं। तर थोरैले मात्र व्यवसायका रूपमा अघि ल्याउन सकेका हुन्छौं,’ अन्जु भन्छिन्, ‘हाम्रा आमाहरूले बनाउने मिठो अचारलाई बजारमा भित्र्याउन सक्यौं भने ग्राहकको स्वाद र स्वास्थ्य माथि खेलवाड हुँदैन।’

यो कामबाट गृहिणी महिलाले पनि कमाउन सक्ने र महिला सशक्तिकरण घरैबाट सुरू हुने उनको विश्वास छ। 

सासूबुहारी अन्जु र हिमाको एउटै भनाइ छ, ‘हाम्रो व्यवसायले समाजमा सकरात्मक प्रभाव पारोस्। हामी ठूलो ब्रान्ड बन्न सक्छौं, सक्दैनौं थाहा छैन। तर सबैले चिन्ने सासूबुहारी अचार ब्रान्डका रूपमा नाम भने पक्कै राख्ने छौं।’

सासू बुहारी टिकल एन्ड पिकलका स्वाद र मूल्य यस्तो छः

१. ट्वाक्क टुक्क अमला, एक बट्टाको २२० रूपैयाँ
२. मूलाको अचार एक बट्टाको २५० रूपैयाँ
३. तोफुलिसिअस ड्राइ एक बट्टाको २५० रूपैयाँ
४. खट्टा मिठा अमला एक बट्टाको २७५ रूपैयाँ
५. बिजुली एक बट्टाको ३०० रूपैयाँ
६. डल्ले तामा एक बट्टाको ३२० रूपैयाँ
७. डल्ले गार्लिक पेस्ट एक बट्टाको ४०० रूपैयाँ
८. चिकेन लाजवाब एक बट्टाको ४५० रूपैयाँ 
९. मसरुम एक बट्टाको ५५० रूपैयाँ
१०. चिकेन भुजुरी एक बट्टाको ५५० रूपैयाँ
११. मटन लाजवाब एक बट्टाको १३५० रूपैयाँ

(अचार अर्डरका लागि अन्जु शर्माको सम्पर्क नम्बरः ९८५१०४०८०१)

Copy link
Powered by Social Snap