खेलबिनाका स्कुल! : विजयमणि पौडेल
करिब डेढ दशकअगाडि त्रिचन्द्र कलेजमा बिएससी पहिलो वर्षको विद्यार्थी थिएँ। बिहान साढे ६ बजे फिजिक्स (भौतिक विज्ञान) को कक्षा सुरू हुन्थ्यो। कलेजको गेट सवा ६ मा मात्र खुल्थ्यो। सार्वजनिक यातायातमा खाँदिएर यात्रा गर्दै कलेजको गेटमा पुग्दा सहपाठीहरूको भीड हुन्थ्यो।
जब गेट खुल्थ्यो, सरस्वती सदनको छेउबाट हामी दौडेर फिजिक्स क्लासतिर लाग्थ्यौं। कक्षाकोठामा सिट पाउने आशामा अन्धाधुन्ध दौडिने क्रममा कति साथीहरू बाटोमा लडेर घाइते हुन्थ्यौं। एउटा कोठामा डेढ सयभन्दा बढी विद्यार्थी हुन्थे। दौडिन अब्बलहरूले अगाडिको सिट पाउँथे। दौडिन नसक्नेहरू पछाडि पुग्थे। कि त उनीहरू उभिनु पर्थ्यो।
कक्षामा प्राध्यापकले बोलेको सुन्न मुश्किल हुन्थ्यो। पछाडिबाट बोर्डमा लेखिएको अक्षर राम्रोसँग देखिँदैन थियो। एउटा कक्षामा खाँदिएर यति धेरै विद्यार्थी हुँदा बेलाबेला निस्सासिएको अनुभव हुन्...









