२०७९ आश्विन १०
Advertisement

Advertisement

आफ्नै शर्तमा जीवन र राजनीति भोगेका प्रदीप गिरि : प्रशन्न पोखरेल

नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार निधन भएको छ।

उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गहिरो दु:ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताले मात्र होइन, अरू विभिन्न दल नेता/कार्यकर्तासहित राजनीतिमा रूचि नभएकाहरूले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

७५ वर्ष बाँचेका गिरिले आफ्नो राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाएका थिए। त्यसैले उनी एक हिसाबले सर्वस्वीकार्य थिए। उनीमात्र कांग्रेसका यस्ता नेता थिए, जसले कम्युनिष्टहरूलाई मार्क्स र लेनिनबारे पढाउँथे।

गिरिले जे पढे र सार्वजनिक रूपमा जे बोले व्यावहारिक जीवनमा पनि त्यही लागू गर्न प्रयत्न गरे।


Advertisement


२००४ मा सिरहाको बस्तीपुरमा जन्मेका गिरिका बुवा पनि राजनीतिमा थिए।  उनका बुवा मित्रलाल र काका रूद्रप्रसाद कांग्रेसका जिल्लास्तरका नेता थिए। राजनीतिक परिवार भएकाले प्रदीप सानैदेखि राजनीतिमा सक्रिय रहेका थिए।

गिरिले एसएलसीसम्म गाउँकै विद्यालय पढेका थिए। त्यसबेलासम्म गाउँको पुस्तकालयमा रहेका भारतीय साहित्यकारका पुस्तक उनले पढिसकेका थिए। शरत चन्दका झन्डै सबै कृति, रवीन्द्रनाथ ठाकुरका उल्लेखनीय पुस्तक र प्रेम चन्दका आधाजसो कृति पढेका थिए।

यसबाहेक गिरि सानैदेखि स्वस्थानी व्रत कथाका पुस्तक पढ्थे। रामायण, मुनामदन, बसन्तीलगायत पुस्तक आफूले गाउँमै पढेको उनी बताउँथे।

साहित्यिक कृति पढ्न बानी परेका र साहित्यकार बन्ने सोच बनाएका गिरिलाई एसएलसीपछि विज्ञान पढ्न काठमाडौं पठाइयो। चिकित्सकसमेत रहेका काका जयनारायण गिरिसँगै बस्ने गरी उनी काठमाडौं आए। त्यो बेलाको पब्लिक साइन्स कलेज (अस्कल) मा गिरिलाई विज्ञान पढ्न भर्ना गरिए पनि उनी नियमित क्याम्पस गएनन्।

१० महिनामा मुस्किलले गिरि दुई/तीन दिनमात्रै क्याम्पसमा पाइला टेके। अरूबेला बसन्तपुरमा रहेको नेपाल-भारत मैत्री पुस्तकालयमा गएर भारतीय साहित्यका पुस्तक पढ्थे। यो कुरा गिरिले केही वर्षअघि दिएको एउटा प्रवचनमा खुलाएका थिए।

‘एसएलसी पास गरेपछि मेरो सोचाइ बेग्लै हुन थाल्यो। चेतनामा बिस्फोट भयो,’ गिरिले भनेका थिए, ‘म १० बजे कलेज जान भनेर खुरूखुरू त्यही पुस्तकालय जान्थें। तत्कालीन जुद्धशमशेरको शालिक छेउमा रहेको थोत्रो पुस्तकालयले साहित्यबारे थप जान्ने मेरो इच्छा पूरा गरिदियो।’

उनीसँगै बस्ने काका जयनारायण गिरिले प्रदीप क्याम्पस जाँदैनन्, हिन्दी साहित्यका पुस्तक पढ्न पुस्तकालय जान्छन् भन्ने १० महिनापछि मात्रै थाहा पाए। विज्ञान नपढेको भन्दै काकाले उनलाई  काठमाडौं छाड्न बाध्य पारेका थिए। त्यसपछि प्रदीप पढ्न भन्दै भारतको बनारस गए।

बनारस पुगेपछि उनी झन् स्वतन्त्र भए। काठमाडौंमा पुस्तकालय जान उनलाई काकाले देख्ने र थाहा पाउने डर थियो। बनारसमा त्यो डर थिएन। उनी खुलमखुला पुस्तकालय गए, मन लागेका किताब पढे। विज्ञान नपढेर हरेश खाएको उनको परिवारले ‘जे पढे पनि पढ्’ भनेका थिए। गिरिले आर्टस् पढ्न थाले- काशी विश्वविद्यालयमा।

‘मलाई आर्टस् पढ्न कुनै भगवानको दया चाहिएन! साहित्यका अधिकांश पुस्तक पढिसकेकाले मैले राम्रा नम्बर ल्याएर खुरूखुरू पास गरें। यसबाट मेरा मातापिता प्रशन्न भए,’ गिरिले भनेका थिए, ‘बिए पढेपछि मैले साहित्यिक पत्रिका पनि निकाल्न थालें।’

कांग्रेस नेता चक्र बाँस्तोला सहसम्पादक राखेर गिरिले साहित्यिक पत्रिका रहर निकालेका थिए। उक्त पत्रिकामा गिरिका लेख पढेर एक युवती आकर्षित पनि भइन्।

त्यो प्रसंगबारे गिरिले ‘अध्ययन: गतिशीलताबारे एक प्रवचन’मा भनेका थिए, ‘मेरो लेख पढेर काशी विश्वविद्यालयकी एक युवती नजिकिइन्। मलाई पनि उनीभन्दा राम्रो यो संसारमा अरू कोही छैन भन्ने लाग्यो। एकदिन उनले मलाई के राम्रो कुरा भनिन्- म त प्रेममा परिहालें। उनले साहित्य मात्र लेखेर हुन्न, राजनीति पनि गर्नुपर्छ भनिन्। म आदर्श र क्रान्तिकारी भावनाले राजनीतिमा होमिएको होइन, मैले मन पराएकी युवतीलाई प्रभावित गर्न राजनीतिमा लागेको आज यो दुर्दशा भयो!’  

प्रेम र राजनीतिको त्यो सम्बन्धबारे सायद उनले हाँसीमजाक गरेका थिए। किनभने उनको राजनीतिक यात्रा २०१७ सालमै सुरू भएको देखिन्छ। उनी २०२४ मा बनारसमा छात्र संघको उपाध्यक्ष बनेपछि बिपीसँग नजिकिएका थिए। अर्थशास्त्र र दर्शनशास्त्रमा गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्नातकोत्तर सकेका थिए।

गिरि जीवनमा दुई पटक जेल परे, २०२५ र २०४२ सालमा। उनी जेलमा बस्दा आफूलाई रमाइलै लागेको प्रसंग सुनाउँथे।

‘सबैभन्दा रमाइलो हन्डरी नख्खु जेलमा खाइयो। कांग्रेस भएर हो कि किन हो जेलमा हामीलाई केही गर्दैनथे। बाहिरबाट पैसा आउँथ्यो, पुस्तक किनेर ढुक्कसँग पढ्न पाइन्थ्यो, म नख्खु जेलमा दुई वर्ष जति बसें। त्यसबेला त्यो जेलमा किसुनजी पनि हुनुहुन्थ्यो। जेलमा बस्दाका दिन रमाइला थिए। म कहिलेकाहीँ विरक्त हुन्थे। चार/पाँच दिनमात्रै विरक्त लाग्यो- प्रेमिका र उनीसँग गरेका बाहिरी भ्रमण सम्झेर! तर अरू दिन रमाइला नै लागे,’ गिरिले भनेका थिए।

जेल जानुपहिले साहित्यका किताब पढेको, साहित्यिक पत्रिका पनि निकालेकाले साहित्यबारे धेरै ज्ञान प्राप्त भइसकेको आफूमा घमन्ड आएको गिरि बताउँथे। जेलमा मार्क्स, लेनिनलगायतका पुस्तक पढेपछि अब समाजवादका क्षेत्रमा पनि जान्ने भएको आफूले ठानेको गिरिले बताएका थिए।

जेलबाट निस्केपछि आफू फेरि बनारस पुगेको प्रसंगमा गिरिले भनेका थिए, ‘साहित्यमा लाग्दा प्रेमिकासँग भेट भयो। जेलमा बसेर पुस्तक पढ्दा समाजवादबारे धेरै जान्ने भइसकें भन्ने ठानें। जेलबाट निस्केपछि बिपीसँग भेट भयो। बिपी महान् समाजवादी, म समाजवादको विद्वान! त्यसपछि मेरो जीवनमा अर्को दुर्घटना भयो।’

हरेक मानिसको जीवनमा राजनीति आवश्यक हुने र राजनीति सधैं गरिराख्ने विषय नभएको गिरि बताउँथे।

‘राजनीतिमा पुरै उदासीन रहनु आफ्नो भाग्यसँग खेलबाड गर्नु हो। पाँच वर्षमा एक दिन भोट हालेर अरू दिन वास्तै नगर्नु पनि ठिक होइन,’ उनले भनेका थिए, ‘जीवनमा राजनीति चाहिने रहेछ। तर त्यसैमा डुबेर साहित्य, कला र संगीत बिर्सनु अमानवीय जीवन हुँदो रहेछ।’

बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर गिरिले काम गरेका थिए। चित्त नबुझेका कुरामा उनले बिपी-गणेशमानसँग पनि फरक मत राख्ने गरेका थिए। बिपी र गणेशमानहरू निराश भएका बेला आफूले कविता सुनाउने गरेको गिरि बताउने गर्थे।

‘बिपीदेखि किसुनजीले मसँग सहानुभूति खोजेका क्षण पनि थिए। उहाँहरूलाई प्राय: म भारतीय कवि सूर्यकान्त त्रिपाठीका कविता ‘रामकी शक्ति पूजा’ वाचन गरी सुनाउथेँ’ उनले भनेका थिए।

उनले आफ्नो खुसीका लागि राजनीति गरेको बताउने गरेका थिए। उनका बुवाले छोरालाई डाक्टर वा इन्जिनियर बनाउन चाहे पनि प्रदीप नेता भए। उनले सत्ताको लालसा देखाएनन्। कांग्रेस केन्द्रीय सदस्य भए, पटक-पटक सांसद भए तर मन्त्री हुन मानेनन्। २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भनेका थिए। तर गिरि उक्त चुनाव हारे। त्यसपछि गिरिले भनेका थिए, ‘म भगवानलाई धन्यबाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो! जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपर्थ्यो, मन्त्री हुनुपर्थ्यो!’

सरकारका प्रवक्ता र मन्त्री हुन गिरि मान्दैनथे। उनले व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको बताउँथे।

गिरिलाई धेरैले गान्धीवादी नेता भन्थे। काठमाडौंमा बस्दा गिरि प्राय: डेरामै बसे। गिरिको स्वभाव सँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो, उनी सरल थिए।

गिरिले गृह जिल्ला सिरहाबाट २०५१ र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए। उनी २०५६ मा भने पराजित भए। संविधान सभा निर्वाचन २०६४ र २०७० मा गिरि समानुपातिकतर्फ सांसद बनेका थिए।

२०७२ मा आफ्नै सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाका पालामा संविधान जारी भयो। त्यसबेला उनले मतविभाजनमा भाग लिएनन्। पार्टीले ह्वीप लगाए पनि गिरि मान्दैनथे। पार्टीले उनलाई कारबाही गरेन। उनको स्वतन्त्र, फकिर स्वाभाव कांग्रेसलाई पनि ग्राह्य थियो, कारबाही गर्नेबारे कांग्रेसले कुनै विचार, छलफलसम्म गरेन।

गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका छन्।

कांग्रेस नेता नरहरि आचार्य प्रारम्भमा गिरिको राजनीतिक जीवन संघर्षपूर्ण रहे पनि पछि आकर्षक रहेको बताउँछन्।

‘उहाँको राजनीतिक जीवन सुरूमा संघर्षपूर्ण र केही समयपछि एक प्रकारले आकर्षकपूर्ण रह्यो,’ उनले भने, ‘उहाँमा अत्यन्त तीव्र वाक क्षमता रहेको, लेखन क्षमता पनि उत्तिकै हुँदा मान्छेलाई आकर्षित र प्रभावित पार्न उहाँ सक्षम हुनुभयो। राजनीतिमा प्रभावित पार्न र आकर्षित हुनु नै एक महत्वपूर्ण गुण हो।’

गिरि अध्ययनशील नेता भएको उनले बताए।

‘गिरिजत्तिकै हुन नसके पनि अध्ययनका लागि सबैले पर्यत्न गर्नुपर्छ,’ उनले भने, ‘उहाँले अपनाएका बाटोबाट हिँड्न सकिन्छ। उहाँ अध्ययनको भण्डार हुनुहुन्छ।’

गिरि पार्टी नेतृत्वमा जान र सरकारमा सहभागी हुन चाहेनन्।

‘उहाँ माथि त पुग्नुभएकै हो। तर पद प्राप्त गर्नु भएन। उहाँले पदको इच्छा कति गर्नुभयो? पदका लागि गर्नुपर्ने सबै तारतम्य उहाँले मिलाउन सक्नुभएन होला,’ उनले भने, ‘पदका लागि तारतम्य मिलाउन सक्नुभएन र चाहनुभएन यो दुबै कुरा हुन्छ।’

कांग्रेसकी सचेतक चित्रलेखा यादव गिरिको निधनले स्तब्ध बनाएको बताउँछिन्।

यादव र गिरि एकै जिल्ला सिरहाका हुन्।

‘उहाँले हामीलाई अभिभावकत्व पनि प्रदान गर्नुभयो। राजनीतिमा उहाँ मार्गदर्शक बन्नुभयो। उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा विवेकशील राजनीति गर्नुभयो,’ उनले भनिन्।

गिरिले उच्च विचार राख्दै साधारण जीन्दगी बिताएको उनले बताइन्।

‘राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहनुहुन्थ्यो। हामी किसुनजीका अनुयायी हौं, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैं आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो।’

सत्तामा नजाने भनेर गिरिले खुलेरै सार्वजनिक रूपमा भन्ने गरेको यादव बताउँछिन्।

‘मैले गर्छु भनेको राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो। जे बोल्नुभयो त्यो उहाँले निर्वाह गर्नुभयो। पदीय र राजकीय पदमा जान्न भन्नुहुन्थ्यो। सांसद ठीक छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘नेताहरू बोलेपछि पनि विचलित हुन्छन्। समय र परिस्थितिले मानिसलाई आकर्षित गर्छ। तर उहाँ आफ्नो बोलीमा अडिग रहनुभयो।’

गिरिको निधनले राष्ट्रका लागि ठूलो क्षति भएको उनले बताइन्। गिरि विरूवा, रूखलाई माया गर्दथे। उनको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन्। घरभन्दा करिब पाँच किमी पर उनले आश्रम पनि बनाएका थिए।

आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने  भएकोले विरूवा हुर्काएको गिरि बताउँथे।

यसबारे यादव भन्छिन्, ‘उहाँले त्यहाँ आश्रम बनाउनुभएको छ। २०७४ को चुनावमा उहाँ आश्रममै बस्नुभयो। म पनि थिएँ, त्यसबेला धेरै कुराकानी भयो। मैले खोलाछेउ कस्तो आनन्दको आश्रम बनाएको दाजु भनेँ, उहाँले अब आश्रममै बस्ने हो भन्नुभयो।’

गिरि बेलाबखत तपोवन पनि जाने गर्दथे। आफ्नो जग्गामा रहेको आश्रमलाई तपोवनजस्तै बनाउन खोजेजस्तो देखिन्थ्यो!

‘खोला छेउमा आफ्नै जग्गामा उहाँले बोट-विरूवा लगाउनुभएको थियो। त्यो आश्रममै उहाँ बस्न रूचाउनुहुन्थ्यो। मलाई आश्रममा आनन्द लाग्छ भन्नुहुन्थ्यो। शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्नुहुन्थ्यो। काठमाडौं हुँदा पनि उहाँ तपोवन गइरहनुहुन्थ्यो,’ यादवले भनिन्।

गिरि काठमाडौंमा डेरामा बस्ने गर्दथे। ‘उहाँ प्राय: डेरा सरिरहनुहुन्थ्यो,’ उनले भनिन्, ‘एकै ठाउँमा नबस्ने!’

गिरि पार्टीमा युवाहरू नेतृत्वमा आऊन् भन्ने चाहन्थे।

गत मंसिरमा कांग्रेसले १४ औं महाधिवेशन गरेको थियो। त्यसबेला गिरि उपचारका लागि भारतमा थिए, महाधिवेशनमा आउन सकेनन्।

आफू निकटसँग उनले युवाहरू पार्टी राजनीतिमा पार्टी राम्रो हुन्थ्यो भनेका थिए। उनले ‘महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा आउनुपर्छ’ भनेको उनी निकटहरू बताउँछन्।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि विचार र व्यवहारलाई एकअर्कासँग जोड्न सक्ने नेता गिरि भएको बताउँछन्।

‘विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो। राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो। राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो,’ उनले भने।

गिरि बिरामी भई मुम्बईका अस्पतालमा हुँदा पनि निधिले भेटेका थिए। गिरि र निधिमा वैचारिक सामिप्यता पनि थियो।

‘तपाईंले राजनीतिमा जुन बाटो अपनाउनुभएको छ, त्यसमा निरन्तर लागिरहनुस् भन्नुभएको थियो। खासगरी समाजवादी सोचमा हाम्रो कुरा मिल्दथ्यो। आदिवासी, दलित, जनजाति, महिला, पिछडिएका क्षेत्र, मधेशीका राजनीतिक अधिकार, शासन प्रणालीमा प्रतिनिधित्व हुने विषयमा उहाँ र मेरा बीचमा बढी कुराकानी हुन्थ्यो,’ निधिले भने।

आफूसँग पछिल्लो समय भएको भेटमा गिरिले नेपालमात्र नभई भारत राजनीतिबारे पनि चिन्ता व्यक्त गरेको निधि बताउँछन्। ‘नेपाल र अन्तर्राष्ट्रिय राजनीति लोकप्रियतावादी कुरामा गएको छ, विचार र सिद्धान्त ओझेलमा पर्दै गएको छ भन्नुहुन्थ्यो,’ उनले भने।

गिरि बिरामी भएकोले कांग्रेस महाधिवेशनमा सहभागी हुन सकेनन्। निधि सभापति पदमा उठेका थिए।

‘मेरो उम्मेदवारी बारेमा उहाँ ठूलो समर्थक हुनुहुन्थ्यो। महाधिवेशनका बेला आउन पाइनँ, मैले तपाईंलाई सहयोग गर्न पाइनँ भन्नुहुन्थ्यो,’ उनले भने, ‘तैपनि जो-जो भेट्नुहुन्थ्यो, निधिलाई साथ दिनु है भन्नुहुन्थ्यो। मलाई तपाईं निराश नहुनु, धैर्य राख्नु र नेतृत्व दिई राख्नुपर्छ भन्नुहुन्थ्यो।’

कांग्रेसका बैठकहरूमा धारणा राख्दा गिरि युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्थे।

‘विचारसँग गहिरो सम्बन्ध र व्याख्या पनि गर्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो। समकालीन राजनीतिमा गहिराइमा पुगेर विचारको व्याख्या गर्न सक्ने अर्को नेता नै नहुने स्थिति छ,’ उनले भने, ‘आफ्ना कुरा खरो ढंगले उहाँ वकालत गर्न सक्नुहुन्थो। समाजवादबारे गहिरो अध्ययन र व्याख्या गर्ने नेता उहाँ हुनुहुन्थ्यो।’

नयाँ पुस्ताले गिरिबाट धेरै कुरा सिक्न सक्ने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्।

‘उहाँजस्तै अर्को नेता हामीसँग छैन। सिद्धान्त र विचारसँग राजनीति जोड्ने कुरामा उहाँ राम्रो नेता हो,’ पौडेलले भने, ‘उहाँले  केन्द्रीय समितिमा बोल्दा हामीहरू सात/आठ जनाको नाम हरेकचोटी लिनुहुन्थ्यो, युवालाई अघि बढाऔं भन्ने थियो।’

आफ्ना थप भनाइ र पाण्डुलिपि सार्वजनिक गर्न नपाउँदै गिरि बिरामी परेको र निधन भएको पौडेल बताउँछन्।

‘केही भनाइ र पाण्डुलिपि हामीलाई भनेर जान चाहनुहुन्थ्यो त्यो अधुरै रह्यो,’ उनले भने, ‘पछिल्लो पुस्तासँग उहाँको बढी आशा थियो। परिवर्तन गर्नुपर्छ, यथास्थितिलाई लम्ब्याउन हुन्न भन्ने कुरा उहाँ राख्नुहुन्थ्यो।’

कांग्रेस नेता मीनेन्द्र रिजाल गिरिलाई स्वतन्त्र चिन्तकका रूपमा लिन्छन्।

‘मार्क्सवाद, समाजवाद प्रति उहाँको गहिरो अध्ययन थियो। त्योभन्दा पनि गहिरो प्रभाव गान्धीको अहिंसाको देखेको छु,’ रिजालले भने, ‘बिपीसँग फरक मत राखेर पनि बस्नुभयो। बिपीसँग कुरा नमिल्दा पनि लोकतान्त्रिक आन्दोलनमै रहिराख्नुभयो। जसले गर्दा पछि किसुनजीको विषेश सामिप्यका कारण कांग्रेसको राजनीतिमा फेरि सक्रिय भएर आउने बाटो खुल्यो।’

गिरि कांग्रेसको राजनीतिक भूमिकामा देखिँदा नवउदारवादी आर्थिक व्यवस्थाको बेला सुरू भएको थियो।

‘कांग्रेसमा नवउदारवादको चिन्तनको विषय उठेका बेला उहाँ ठिक विपरीतमा उभिनुभएको थियो,’ उनले भने, ‘नेपालगञ्जमा भएको महासमिति बैठकमा उहाँ (गिरि) ले पार्टी नीति नै तपाईंहरू (किसुनजीसहितले) बनाउनुभएको छैन। रामशरण महत र महेश आचार्यले जे लेख्नुहुन्छ त्यही हो? नीति नै नभएको कस्तो नेता तपाईंहरू? भनेर पनि चुनौती दिनुभएको थियो।’

राजनीतिको लिबरल धारका रूपमा गिरिलाई सम्झनुपर्ने उनले बताए।

‘स्वतन्त्रतालाई वकालत गर्नुपर्छ भन्ने मानिसका रूपमा उहाँलाई सम्झनुपर्छ। त्यसले गिरिलाई कांग्रेसको लोकतान्त्रिक चिन्तनसँग जोड्छ, यो पाटो ध्यान दिनुपर्छ,’ उनले भने।

विश्वमा राज्यको भूमिका बढी हुँदा असमानता र उग्रवाद बढेका बेला त्यसलाई नेपालमा बढ्न नदिन पनि समाजवादतर्फ चिन्तन र मौलिक स्वतन्त्रताहरू जोडेर लिएर जाने कुरा महत्वपूर्ण छ, यसमा गिरिका योगदानलाई सम्झनुपर्ने रिजाल बताउँछन्।

कांग्रेस महामन्त्री गगन थापा नयाँ पुस्तालाई विचारसँग जोड्ने प्रयास गिरिले गरेको बताउँछन्।

‘उहाँ (गिरि) कै अगुवाईमा कांग्रेस पाठशाला खोलेर त्यहाँ ज्ञानगुनका कुरा हुन थाल्यो। हरेक साता कुनै एक पुस्तक पढ्ने र व्याख्यासमेत गर्ने गरिन्थ्यो,’ थापाले भने। आफूले गणतन्त्रका आवाज उठान गर्न थालेदेखि नै गिरिसँग कुराकानी हुन थालेको थापा बताउँछन्।

गिरिसँग मेडिसिटी अस्पतालमा भएको अन्तिम कुराकानीबारे सम्झँदै थापाले भने, ‘उहाँले दह्रो ढंगले अघि बढ्नु भन्नुभएको थियो। अहिले लिएको धार राम्रो छ यसैलाई अघि बढाउनु, कसैसँग नडराउनु भन्नुभएको थियो। उहाँले मृत्युबारे तिमीहरू डराएको हो भन्ने प्रश्न गर्दै मृत्युसम्बन्धी हिन्दीको एक सायरी पनि सुनाउनुभयो।’

गिरि गत वर्ष साउनदेखि क्यान्सरबाट पीडित थिए। भारतको मुम्बईका अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो। गिरिको घाँटीमा क्यान्सर भएको थियो।

उपचारपछि करिब एक वर्ष गिरि भारतमै बसे। गत साउन पहिलो साता उनी स्वदेश आए। नेपाल ल्याउनेबित्तिकै उनको स्वास्थ्यमा झन् समस्या देखियो।

ललितपुरस्थित मेडिसिटी अस्पताल साउन ८ गते भर्ना गरेर उनको उपचार जारी राखिएको थियो। उनलाई निमोनियाले सताएको थियो भने क्यान्सर शरीरका अन्य भागमा पनि फैलँदै गएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेका गिरिको शनिबार राति साढे ९ बजे निधन भएको हो।

आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च नहोस् भन्नेमा उनी सचेत थिए। सरकारले र नेपाली कांग्रेसका कैंयन् नेताले उनलाई उपचारमा राज्यको सहयोगको ‘अफर’ नगरेका होइनन्, तर उनले लिन मानेनन्।

बरु उनले आफ्ना नजिकका मित्र विमलेन्द्र निधिलाई भनेका थिए, अन्तिमसम्मै आफ्नो उपचारमा राज्यको पैसा खर्च नहोस्।

कति खर्च सथीभाइले जुटाए। उपचार खर्चको ठूलो अंश मेडिसिटी अस्पतालले नै ब्यहोर्‍यो। अस्पतालका सञ्चालक उपेन्द्र महतो सिरहा जिल्लाकै हुन्।

गिरिको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

स्रोत : सेतोपाटी

Copy link
Powered by Social Snap