२०७९ आश्विन १०
Advertisement

Advertisement

ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

काठमाडौंको मैतीदेवी चोकबाट दक्षिणतर्फको भित्रीबाटो हुँदै घट्टेकुलोतिर करिब साढे दुई सय मिटरजतिमा झोला बेच्ने एउटा निकै ठूलो पसल फेला पर्छ।

पसलभित्र खातका खात झोला छन्, थरीथरीका। अग्ला र्‍याकमा महिलाका लागि साना हाते ब्यागदेखि निकै ठूलासम्म सजाएर राखिएका छन्। 

यीमध्ये अधिकांश ब्याग स्वदेशी उद्योगका हुन्– शिवाकोटी ब्याग उद्योग। खुद्रा र होलसेल दुवै व्यापार त्यहीँबाट हुन्छ। बाहिर पसल छ, भित्र उद्योग। यहाँ विदेशी ब्रान्डका सुटकेस पनि पाइन्छ। हवाईजहाजमा लामो यात्रा गर्नेका लागि उपयुक्त।

उद्योग र पसलका सञ्चालक हुन् सुदर्शन शिवाकोटी। उनले यो उद्योग सुरू गरेको करिब २२ वर्ष भयो।

‘हाल वार्षिक सरदर चार करोड रूपैयाँको कारोबार हुन्छ,’ सुदर्शनले भने, ‘उद्योगमा सोह्र जना श्रमिक छन्। मेसिन २६ वटा छन् तर आजकाल १६ वटा मात्र चलिरहेका छन्।’


Advertisement


सुदर्शन ठूलो लगानी गरेर फटाफट उद्योगी भएका होइनन्। यहाँसम्म आइपुग्न उनले थुप्रै कष्ट झेलेका छन्।

दोलखाबाट २०५२ सालमा, एसएलसी दिएर काठमाडौं पसेका सुदर्शनले झोला बेच्न थालेका थिए। काँधभरि, हातभरि झोला बोकेर उनी काठमाडौं उपत्यकाका सडक र गल्ली डुल्थे।

‘ब्याग आयो, ब्याग राख्नुस् हजुर’ भन्दै घाँटी सुक्ने गरी कराउँथे। 

‘मुग्लान जाने सोचले १७ वर्षको उमेरमा काठमाडौं आएको थिएँ,’ अहिले ४४ वर्ष भएका सुदर्शनले भने। काठमाडौंमै उनले आइए पनि पढे।

उनले एक जना साथीको सुझावमा झोला बेच्न थालेका थिए। उनका साथी पनि त्यसैगरी झोला बेच्थे। उनैले सुदर्शनलाई बच्ने तरिका सिकाए। न्युरोडको पसलबाट होलसेलमा किनेर सुदर्शन दुवै काँध र पाखुरामा सकेसम्म धेरै थरी ब्याग बोकेर डुल्दै बेच्न थाले।

‘अनि मुग्लान जाने सपना त्यागेर ब्यागकै व्यापारमा लागेँ,’ सुदर्शनले भने।

काम सजिलो थिएन। कहिले उनी साथीसँग हुन्थे त कहिले एक्लै। बिहान चाँडै खाना खाएर निस्केपछि बेलुका फर्किँदासम्ममा ज्यान फतक्क हुन्थ्यो। तर जाँगर झन् तगडा हुन्थ्यो। त्यही जाँगरले उनलाई खालखालका झोला झुन्ड्याएर काठमाडौंका गल्ली, सडक र चोक डुलाउँथ्यो। 

काठमाडौंका कुन चाहिँ सडक र चोक चहारेनन् र! कहिले साँखुमा हुन्थे त कहिले थानकोटमा। नौबिसे पनि पुगेर फर्किन्थे। झोलाको भारी उचाल्दै र यताबाट उता सार्दै काठमाडौंबाट पोखरा, बुटवल र अन्य सहरमा पनि पुगे। 

‘ज्यानले एक पटकमा ६० वटासम्म झोला धान्थ्यो। दिनभर कराउँदा कहिले सबै बिक्थ्यो। कहिले दुई-चार वटा पनि बिक्दैन थियो,’ सुदर्शनले सम्झिए, ‘पाँच वर्ष यसरी नै ब्याग बेचेँ।’

पाँच वर्ष पैताला खियाएपछि सुदर्शनले व्यापारको भेउ पाए। ब्याग व्यवसायमा कमाइ देखे। अनि लागे उद्योगतिर। 

२२ वर्षअघि, २०५७ सालमा उनले ‘शिवाकोटी ब्याग उद्योग’ घरेलु तथा साना उद्योग विभागमा दर्ता गरे। सडकमा बेचेर कमाएको ५० हजार रूपैयाँ लगानी गरेर बागबजारमा ब्याग बनाउने उद्योग चलाए। यो समय साथमा थिए उनका माइला भाइ खडानन्द।

उनीहरूले सुरूमा दुई वटा मेसिन किनेका थिए। सुदर्शन आफैं पनि ब्याग सिलाउँथे, बुन्थे र तयार पार्थे। 

उनले भने, ‘पहिले होलसेलको कारखाना जाँदा धेरै कुरा बुझेको थिएँ। कच्चा पदार्थ ल्याउने ठाउँ र ब्याग तयार गर्ने तरिका त्यहीँबाट थाहा पाएँ।’

सुरूआतमै दैनिक सरदर ३५ वटा झोला तयार गर्न सके। तर बेच्ने कसरी? आफ्नो पसल छैन। 

त्यसैले उनले ब्याग सिउने दुई जना कर्मचारी राखे। भाइ खडानन्द उद्योगमा कर्मचारीसँगै हुन्थे। सुदर्शन भने उसै गरी ब्याग बोकेर डुल्न थाले। केही महिनापछि उनले एउटा साइकल किने। साइकल छोपिने गरी ब्याग राख्थे, ह्यान्डल समाएर डोर्‍याउन हुने भए भइगयो!

‘भारी पुग्ने गरी ब्याग तयार हुन एक दिन लाग्थ्यो,’ उनले भने, ‘अर्को दिन बिहान उठ्नासाथ साइकलमा हालेर दिनभर डुल्दा सबै बेचिसक्थेँ।’ 

यसरी दाजुभाइ ब्याग उत्पादन गर्दै र बेच्दै अघि बढे। बिस्तारै बजार फैलिँदै गयो। सुरूदेखि नै ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाए। सुदर्शनले ब्यागको गुणस्तरमा जोड दिए, झारा टार्ने काम गरेनन्। उनीहरूले उत्पादन गरेको ब्याग धेरैले रूचाए।

सुदर्शन भन्छन्, ‘हेर्दा चिटिक्क र बलियो हुनुपर्दो रहेछ। ग्राहकले गुणस्तरीय माल खोज्दा रहेछन् भन्ने थाहा पाएपछि हामीले त्यसमै जोड दियौं।’ 

दुई–तीन वर्षमै ब्यागको बजार यसरी फैलियो कि काठमाडौंबाहिरबाट पनि माग आउन थाल्यो।

‘बजारलाई गुणस्तरीय माल चाहिएको रहेछ, हाम्रो उत्पादनले स्थान पाइहाल्यो,’ प्रसन्न हुँदै सुदर्शनले भने।

माग र व्यापार बढ्दै गएपछि दोलखामा रहेका उनका परिवारजन काठमाडौं आए। परिवारका सबै सदस्य उद्योगमै लागे। यो कुरा हो २०६२ सालतिरको।

उनीहरूको व्यापार यसरी अघि बढ्यो, पछाडि फर्किनु परेन। बागबजारमा सुरू भएको शिवाकोटी ब्याग उद्योग भारतको मुम्बईसम्म पुग्यो। 

तीन दाजुभाइमध्ये कान्छा रामजी मुम्बईमा छन्। उनले उतै उद्योग चलाएका छन्। उनी १६ वर्षअघि नै, २०६३ सालमा, मुम्बई गएका हुन्। माइला खडानन्द ललितपुरको बालकोटमा पसल चलाउँछन्। सुदर्शन र खडानन्द एउटै उद्योगको उत्पादन बेच्छन्। 

दाजुभाइ भिन्न भएका छैनन्। आपसमा सहकार्य छ।

‘जेजति सम्पत्ति छ सगोलमै छ। दाजुभाइ भिन्न भएका होइनौं, व्यापार विस्तार गरेका हौं,’ सुदर्शन भन्छन्, ‘शिवाकोटी ब्याग उद्योग फैलाउन पारिवारिक सल्लाहमा भाइ मुम्बई गएको हो। व्यापार यहाँभन्दा उता राम्रो छ।’ 

सुदर्शनका अनुसार रामजी मुम्बईमा मासिक ४० हजार वटाभन्दा बढी ब्याग उत्पादन गर्छन्। धेरैले रोजगारी पाएका छन्। 

सुदर्शनले उद्योग चलाएर ब्याग उत्पादन गर्दा आफ्नो ब्रान्ड थिएन। बजारमा जुन कम्पनीको बढी चल्थ्यो, त्यसकै लोगो टाँसिदिन्थे। उनीहरूको ध्यान व्यापार बढाउनमा थियो। आफ्नै ब्रान्ड र लोगो चाहिन्छ भन्ने त सोचेकै थिएनन्।

काम गर्दै जाँदा सुदर्शनले ब्रान्ड र लोगोको महत्व थाहा पाए। उद्योगको नाम ‘शिवाकोटी ब्याग उद्योग’। उद्योग सुरू गरेको झन्डै पाँच वर्षपछि ‘शिवाकोटी’ नामको लोगो बनाएर टाँस्न थाले। त्यसैलाई ब्रान्ड बनाए। 

यसपछि फेरि आफ्नो ब्रान्ड स्थापित गर्नु पर्ने भयो। आफ्ना ग्राहकलाई कुरा बुझाए। ब्रान्ड भएपछि व्यापार झन् बढ्यो। सुदर्शनले भने, ‘आफ्नै ब्रान्ड हुँदा त उत्साह नै फरक हुँदा रहेछ। छुट्टै खुसी मिल्दो रहेछ।’ 

सुदर्शनका अनुसार गुणस्तरीय ब्यागको माग धेरै थियो तर यस्ता स्वदेशी उत्पादक कम थिए। 

उनले भने, ‘हाम्रो लगानी ठूलो थिएन। प्रतिस्पर्धा र चुनौती पनि ठूलो थिएन। हामी आफ्नै ढंगले अघि बढ्यौं।’ 

‘शिवाकोटी’ ब्रान्ड चलेको १२ वर्ष भयो। यही ब्रान्डमा उद्योगले स्कुल, कलेज, पार्टी, ट्रेकिङ झोला, लगेज ब्याग, रेनकोट आदि उत्पादन गर्छ। सुदर्शनका अनुसार सबभन्दा बढी व्यापार स्कुल ब्यागको छ। ग्राहकको क्रय क्षमतामा त ध्यान दिनै पर्छ, तर गुणस्तरमा कुनै सम्झौता छैन। 

शिवाकोटी ब्याग उद्योगले हाल मासिक नौ हजार वटा ब्याग उत्पादन गर्छ। सुरू लगानी ५० हजार रूपैयाँ र आफ्नो श्रमले स्थापित उद्योग मुम्बईसम्म फैलिनु सुदर्शनका लागि कम्ती सुखद कुरा होइन। 

उनी भन्छन्, ‘ज्यानभरि झोला बोकेर हिँडेका ती दिन सम्झेर म आनन्दित हुन्छु। त्यो मेहनतले नै मलाई व्यवसायी बनायो। मैले आफ्नो धरातल बिर्सेको छैन।’ 

सुदर्शन र खडानन्दको व्यापार मुख्यतया काठमाडौं उपत्यकामा छ। बाहिरका थोरै ठाउँबाट अर्डर आउँछ जसमा स्कुल ब्याग बढी छ। बाहिर पठाउन थालेको सात वर्ष भए पनि कोरोनाले असर पुर्‍याएको उनी बताउँछन्।

अहिले उत्पादनको बजारीकरण इन्टरनेटमार्फत धेरै हुन्छ। शिवाकोटी ब्याग ब्रान्ड पनि प्रविधिसंगत बन्दै छ। शिवाकोटी डटकम मार्फत् बजारीकरण गरिरहेको छ। त्यहीँबाट अर्डर पनि आउँछ। नेपालमा यो पाटो सबै खडानन्दको जिम्मामा छ। 

‘अहिले सबैतिर प्रविधिले सहज बनाइदिएको छ। तर हामी अझै डिजिटल प्लेटफर्ममा बलियो बन्न सकेका छैनौं,’ सुदर्शनले भने, ‘अब पुरानो पाराले व्यवसाय नचल्ने रहेछ।’

सुदर्शनको अनुभवमा धेरै जसो ग्राहक स्वदेशी उत्पादन खोज्छन्। विदेशी खोज्ने साह्रै थोरै छन्। गुणस्तरमा ध्यान दिन सके स्वदेशी उद्योग फस्टाउने उनको विश्वास छ। त्यसैले युवापुस्तालाई उत्पादनका क्षेत्रमा आउन सुझाव दिन्छन् उनी। 

भन्छन्, ‘ठूलो लगानीको मात्र कुरा नगर्नुहोस्। जाँगर भए सानैबाट सुरू गरेर ठूलो उपलब्धि हासिल गर्न सकिन्छ। कामले काम सिकाउँछ।’

Copy link
Powered by Social Snap