२०७९ आश्विन १०
Advertisement

Advertisement

उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट ‘ग्लो-जार’ (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो।

मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा ‘डिआइवाई’ भनेर पनि चिनिन्छ जसको पूरा रूप ‘डु इट योरसेल्फ’ हो।

उपहारमा पाएको ग्लो-जार देखेपछि मितालाई पनि यस्तो आफैं बनाउन सक्छु कि भन्ने भयो। साथीले पनि सहमति जनाउँदै उनलाई हौस्याए।


Advertisement


‘साथीले दिएको उपहार साह्रै राम्रो थियो। म आफैंले पनि त्यस्तै बनाउन सक्छु कि भनेर प्रयास गरेँ,’ अहिले २४ वर्ष लागेकी मिता भन्छिन्, ‘पहिलो जार मेरो जिज्ञासा र कौतुहलतासँगै तयार भयो।’

ग्लो-जार हेर्दा जति सुन्दर र साधारण देखिन्छ, बनाउन उत्तिकै मेहनत पर्छ। यसभित्र केही शब्द लेखिएका वा कुनै चित्र कोरिएको हुन्छ। ती अक्षर र चित्रलाई प्रकाश र छायाको कोण मिलाएर राखिन्छ।

ग्लो-जार बनाउन जार (पारदर्शी बट्टा) सँगै बत्ती, लोक्ता (नेपाली कागज), बटर पेपर (सामान्यतया बेकरी खानेकुरा बनाउँदा नटाँसियोस् भनेर प्रयोग गरिने विशेष प्रकारको कागज), रङ लगायत सामग्री चाहिन्छ।

जारभित्र पहिले भित्रबाट वरिपरि लोक्ता टाँसिन्छ। त्यसमा केही कुरा लेखिन्छ वा चित्र टाँसिन्छ। अनि भित्र रोजाइअनुसार झिलिमिली वा एक रङको बत्ती जोडिन्छ। जब बत्ती बल्छ, जारभित्र लेखिएको वा कोरिएको चित्र झलमल्ल र आकर्षक देखिन्छ। चम्किलो बट्टा सजावटका निम्ति विदेशमा लोकप्रिय मानिन्छ।

मिताका अनुसार ग्लो-जारमा हुने बत्ती ब्याट्रीको सहायताले बल्छ। निरन्तर बाल्दा २५ घन्टासम्म धान्छ। ब्याट्री सकिएपछि फेर्न मिल्छ।

यसरी मिताले बनाएको ग्लो-जार अरू साथीले पनि देखे। तिनै साथीमध्ये एक जनाले आफ्ना लागि दुइटा बनाइदिन आग्रह गरिन्। मिता आफ्नो कामप्रति सन्तुष्ट थिइन्। त्यसैले साथीले भनेजस्तै बनाएर दिइन्।

आवश्यक सामान किन्न त्यस बेला उनले आमासँग एक हजार रूपैयाँ लिएकी थिइन्।

मिता भन्छिन्, ‘सामग्री जुटाएर मैले सक्दो सुन्दर बनाएर दिएँ। साथीले पनि मन पराइन्।’

यति भएपछि मितालाई के चाहियो! आफ्नो मेहनतको प्रशंसा पाउँदा खुसी भइन्।

त्यस बेला उनी स्नातक तेस्रो वर्षमा पढ्दै थिइन्। उनले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट समाज सेवामा चार वर्षे स्नातक सकेकी छन्। सानैदेखि डिआइवाईसँगै चित्रकला, क्राफ्टिङ (हस्तकला), सिलाइबुनाइ लगायतमा रूचि छ उनको। त्यसैले पनि उनलाई ग्लो-जार बनाउने काम रमाइलो लाग्यो।

उनी आफ्नै लागि थप ग्लो-जार बनाउन थालिन्। २०७६ भदौमा ‘फ्लेमिंगो’ नाममा इन्स्टाग्राम खाता खोलिन्। त्यसमा आफूले बनाएका ग्लो-जारका फोटा राखिन्।

फ्लेमिंगो चराको नाम हो जुन मितालाई खुबै सुन्दर लाग्छ। ग्लो-जार चमकसँग सम्बन्धित भएको र अंग्रेजीको ‘फ्लेम’ शब्दले यसलाई सांकेतिक रूपमा बुझाउने भएकाले ‘फ्लेमिंगो’ नाम रोजेको उनी बताउँछिन्।

इन्स्टाग्राममा फोटा राखेको केही समयमै ग्लो-जार बिक्रीमा हो कि भन्दै सोधपुछ आउन थाल्यो। धेरै जनाबाट जिज्ञासा आएपछि मिताले बेच्ने नै सोचिन्। यसरी उनको रूचि व्यावसायिक ढंगमा अघि बढ्यो।

‘त्यस बेला कलेज मात्रै जान्थेँ। खाली समयमा कुनै काममा सक्रिय भइने र आफूलाई खर्च पनि आउँछ भन्ने सोचले ग्लो-जारको अर्डर लिन थालेँ,’ फ्लेमिंगोकी सञ्चालक मिताले भनिन्।

यसरी अनजानै व्यवसायमा होमिएकी मिताले त्यसअघि व्यवसायमा लागूँला भन्ने सोचेकै थिइनन्। उनी अझै पनि आफूलाई व्यवसायीका रूपमा चिनाउन सहज मान्दिनन्।

भन्छिन्, ‘अझै पनि म व्यवसायमा संलग्न छु भन्ने लाग्दैन। यसलाई म रूचिको काम गर्दैछु भनेर लिन्छु।’

मिता अचेल ग्राहकको मागअनुसार ग्लो-जार बनाउन व्यस्त छिन्। प्रायः ग्राहकले कसैको नाम वा कुनै विशेष मिति लेखिदिन आग्रह गर्छन्।

‘यस्ता जारको उपहारकै लागि धेरै अर्डर आउँछ,’ उनी भन्छिन्, ‘ग्राहकले मनपराउनुभएको छ। आफ्नो खुसी मेसेजमार्फत सेयर गर्नुहुन्छ। त्यस बेला उहाँहरूको खुसीको एक हिस्सा म पनि भएँ भन्ने लाग्छ।’

ग्लो-जारभित्र चित्र बनाउने वा लेख्ने काम उनी आफैं गर्छिन्। त्यसैले हरेक जार बनाउँदा उनलाई विशेष अनुभूति हुन्छ। एक शब्द मात्र लेखेर जार बनाउन करिब एक दिन लाग्छ। एउटा जारको पूरा काम सक्न तीन दिनसम्म लाग्छ। 

फ्लेमिंगोका ग्राहक प्रायः १८ देखि ३० वर्ष उमेरका छन्। केही समयअघि महिला ग्राहक धेरै हुन्थे। अहिले महिला-पुरुष दुवैको अनुपात बराबर रहेको मिताले बताइन्।

सुरूका दिनमा ग्लो-जार बनाउन उनी भारतबाट आयातित बट्टा प्रयोग गर्थिन्। कोरोना लकडाउन बेला आयातित सामान अभाव भयो। यसपछि उनले नेपालमै बन्ने बट्टामा बनाउन थालिन्। तुलनात्मक रूपमा नेपाली बट्टा कमजोर भएको उनको अनुभव छ।

‘त्यसैले प्याकेजिङमा विशेष ध्यान दिनुपर्छ,’ उनी भन्छिन्। उनले हाल बबल र्‍यापिङ (टुटफुटबाट जोगाउन प्रयोग गरिने प्लास्टिक) गरिरहेकी छन्। भविष्यमा वातावरणअनुकूल प्याकेजिङ गर्ने योजना छ।

उनी सिसाका बोतल वा पारदर्शी बट्टा पुनः प्रयोग गरेर पनि ग्लो-जार बनाउँछिन्। विशेषगरी वाइनको बोतलमा बनाउँदा सुन्दर देखिन्छ। तर सुरूआती दिनमा वाइन बोतल ग्लो-जार ग्राहकले रूचाएनन्।

‘सुरू-सुरूमा रिसाइकल जारबारे ग्राहकको दृष्टिकोण फरक थियो। राम्रो मान्नु हुन्थेन। त्यस बेला मलाई पनि अप्ठ्यारो लाग्थ्यो,’ उनी भन्छिन्, ‘अहिले त सामान्य भइसक्यो। पुनः प्रयोगबारे धेरै ग्राहकको दृष्टिकोण पनि फेरिएको छ।’

ग्राहकको दृष्टिकोण बदलिएसँगै फ्लेमिंगोको बजार फस्टाएको उनी बताउँछिन्। सकारात्मक प्रतिक्रियाले उनलाई हौसला मिलेको छ।

फ्लेमिंगोमा बिरुवा राख्ने स्ट्यान्ड र टेबल ल्याम्प पनि पाइन्छ। स्ट्यान्ड बनाउन उनले फर्निचर पसलसँग सहकार्य गरेकी छन्। तिनलाई अन्तिम रूप दिने काम भने आफैं गर्छिन्। एउटा प्लान्ट स्ट्यान्डको दुई हजार पाँच सय रूपैयाँसम्म पर्छ। ग्लो-जार भने एक हजार रूपैयाँसम्म पाइन्छ।

‘कतिपयले महँगो भन्नुहुन्छ, कतिले सस्तो। तर यसमा लाग्ने मेहनत र बजारअनुसार किफायती छ,’ मिता भन्छिन्।

हाल यिनै सामानबाट मात्र मिता महिनामा ३० देखि ३५ हजारसम्मको कारोबार गर्छिन्। हप्तामा दस वटासम्म सामान बिक्री भइरहेको छ। उनले बनाएका सामान काठमाडौंसँगै बुटवल, पोखरा, पाल्पा, भैरहवा, धरान, इलाम लगायत ठाउँमा पुगिसकेको छ। कुरिअर पुग्ने सबै ठाउँमा डेलिभरी गरिदिन्छिन् जसका लागि ‘द गरुडा एक्सप्रेस’ कम्पनीसँग सहकार्य गरेकी छन्।

‘पहिले त काठमाडौंमा आफैं डेलिभरी गर्थेँ। आफ्नो साधन थिएन, सार्वजनिक गाडी चढेरै पुग्थेँ। ग्राहकको प्रतिक्रियाले सबै थकान मेटाइदिन्थ्यो,’ उनले अनुभव सुनाइन्।

उनलाई घरबाट पनि समर्थन छ। आमाबुवाले प्याकेजिङमा सघाउँछन्। उनका एक दाइ छन् जो पुर्ख्यौली घर गुल्मीमै केही गर्ने योजना बनाएर उतै बसिरहेका छन्।

मिता अचेल फ्लेमिंगोसँगै ‘अर्ली चाइल्डहुड डेभलपमेन्ट’ सम्बन्धी अनलाइन अध्ययनमा व्यस्त छिन्। केही समयअघि उनी जागिर पनि गर्थिन्। 

‘पूरा समय फ्लेमिंगोलाई दिने सोचसँगै जागिर छाडेँ,’ उनले भनिन्।

फ्लेमिंगोमा थप नयाँ सामग्री उपलब्ध गराउने उनको योजना छ। पसल राख्ने सोच तत्काल छैन। अहिलेको बजार सामाजिक सञ्जालमै भएकाले अनलाइन नै निरन्तरता दिने बताउँछिन्। व्यावसायिक यात्राको सुरूआती पाइला चाल्दै गरेकी मिता मनदेखि चाहे जुनसुकै काम सम्भव हुनेमा विश्वास राख्छिन्।

(फ्लेमिंगोको इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्।)

Copy link
Powered by Social Snap