२०७९ आश्विन १०
Advertisement

Advertisement

दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

महोत्तरीका विकल झा ओमनमा ‘एभिएसन’ अर्थात ‘उड्डयन’ पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्। 

सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको ‘मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स’ मा ‘एभिएसन म्यानेजमेन्ट’ पढाउँछन्।

‘सौर्यमा काम थालेको एक वर्ष भएको थियो, ओमनबाट अवसर आयो,’ ओमन यात्राबारे उनले भने, ‘त्यहाँ एभिएसनको ठूलो हब छ। हामीसँग एभिएसनका तीन सयदेखि चार सय जनासम्म विद्यार्थी हुन्छन्।’ 


Advertisement


विकलका अनुसार उनले सात वर्षमा पाइलट र एभिएसनका विद्यार्थी गरेर पाँच सय जनाभन्दा बढीलाई पढाएका र सिकाएका छन्। पाइलटले गर्नै पर्ने एउटा कोर्स हुन्छ, त्यो पनि पढाउँछन्। अनि नर्मल फ्रेस ग्राजुएट ब्याचलर इन एभिएसन म्यानेजमेन्टका साथै पाइलट र इञ्जिनियरहरूका लागि क्रु रिसोर्स म्यानेजमेन्ट (सिआरएम) र हरेक वर्ष लाइसेन्स नवीकरण गर्दा गर्नु पर्ने कोर्सहरू पढाउँछन्।

एभिएसनमा करिअर बनाउँछु र हवाई सुरक्षा अफिसर बन्छु भन्नेहरू अध्ययनका लागि ओमन पुग्ने उनी बताउँछन्। एअरलाइन्स कम्पनीमा काम गरिरहेकाहरू पनि थप कोर्सका लागि पुग्छन्।

उनी भन्छन्, ‘हवाई सुरक्षाभित्र धेरै कुरा पर्छ। विमानस्थलमा काम गर्ने कर्मचारीदेखि एयरलाइन्स व्यवस्थापनमा काम गर्नेसम्म सबैलाई हवाई सुरक्षा शिक्षा आवश्यक पर्छ।’

विकल ककपिट (हवाइ जहाजमा पाइलट बस्ने ठाउँ) बाहिरै रमाएका छन्।

उनलाई नेपाली आकाशमा जहाज उडाउने इच्छा थियो। त्यसो गरेनन् तर उनलाई पछुतो छैन। 

‘जहाज उडाइरहेको नभए पनि त्यही क्षेत्रमा छु। उडान त उद्योगको सानो पाटो रहेछ। यो उद्योगको सुरक्षा व्यवस्था उडानभन्दा ठूलो हो भन्ने बुझेको छु,’ विकल भन्छन्, ‘रहरको पनि उमेर हुने रहेछ। जे निर्णय लिएँ, एकदमै राम्रो गरेछु भन्ने लाग्छ। आम्दानी पनि राम्रो छ।’ 

विकलको विमान मोहले पखेटा हालेको भने दाङ बस्दा हो। महोत्तरीमा जन्मेका उनले प्राथमिक शिक्षा जनकपुरधाममा प्राथमिक पढे। उनका एक जना भिनाजु दाङको घोराहीमा निजी विद्यालय चलाउँथे। बुबाले ६ कक्षामा पढ्न उनलाई पनि दाङ पठाए।

विकल कृषक आमाबुबाका छोरा हुन्। कृषिबाट आम्दानी राम्रै थियो। छोराको पढाइ राम्रो बनाउन भिनाजुको साथ लगाएर दाङ पठाएका थिए। 

समय थियो राज्यपक्ष र तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको। घोराहीको आकाशमा हेलिकप्टर बाक्लै ओहोरदोहोर गर्थे। विकल उड्दै गरेको हेलिकप्टर बडो चाख मानेर हेर्थे र आकाशमा अलप नभइन्जेल आँखा झिमिक्क पनि पार्दैनथे।

जनकपुर बस्दा पनि जहाज उडेको हेरिरहने उनलाई दाङ पुगेपछि हेलिकप्टरमा चासो बढ्यो। हेलिकप्टर कतै बस्यो भने दौडेर नजिकै पुग्थे। नियालेर हेर्थे। उनको बाल मस्तिष्क त्यसैभित्र पस्थ्यो। 

‘यसमा बसेर उड्न पाए, यो उडाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,’ उनले सुनाए, ‘आकाशमा उडेको देखिने जहाज आँखाको नजिकै आएपछि त म हेलिकप्टर उडाउने सपना देख्न थालेँ। मनले यसैसँग उड्न पाए हुन्थ्यो भन्न थाल्यो।’

पाइलट बन्ने विकलको सपना गाढा हुँदै गयो। उनले आमाबुबालाई पनि भने। स्कुलका साथीहरूलाई पनि पाइलट बन्छु भन्न थाले। तर कसैले पत्याए पो!

उनले भने, ‘म पाइलट बन्छु भन्थेँ, अरूले हाँसोमा उडाइदिन्थे।’

उनका आमाबुबा छोरो डाक्टर वा इञ्जिनियर भएको हेर्न चाहन्थे। खासमा आमाबुबालाई आकाशमा हुने दुर्घटनाको पिर लागेको थियो। विकललाई भने आकाशमा उड्ने हुटहुटीले छाडेन। 

एसएलसीपछि उनी पढाइका लागि काठमाडौं आए। विज्ञान विषय लिएर बाह्र कक्षा उत्तीर्ण गरे। पाइलट नै बन्ने हो भने सोहीअनुसारको पढाइमा अघि बढ्नु पर्ने समय आयो। आमाबुबासँग ढिपी कसे।

‘जहाज उडाउनु पर्दैन, दुर्घटनामा परिस् भने हामीले के गर्नु भन्नुभयो,’ उनले भने, ‘बुबाले त मान्दै मान्नुभएको थिएन। केही दिनपछि आमाले चाहिँ जे मन लाग्छ त्यही बन भन्नुभयो।’ 

छोराको ढिपीसामु केही सिप नलागेपछि बुबा पनि सहमत भए। भारत गएर पाइलट बन्न सैदान्तिक शिक्षा लिए। उडानका लागि लामो समय कुर्नुपर्ने भयो अनि नेपाल फर्किए।

उनका अनुसार त्यस बेला भर्खरै सिवानी एयर सञ्चालनमा आएको थियो। उनले त्यसमै उडान सिके। चितवनको आकाशमा तालिम क्षेत्र थियो। दुई सिटको सानो जहाज उडाउनुपर्थ्यो। उनले सिवानीमा उडान गर्न ‘प्राइभेट पाइलट’ लाइसेन्स पनि पाए।

सिवानीमा विकलले १९० घन्टा उडान गरे। यसपछि सन् २००९ मा व्यावसायिक लाइसेन्सका लागि फिलिपिन्स गए। मापदण्ड पूरा गरेर उनले व्यावसायिक लाइसेन्स पाए। काम पनि त्यहीँ सुरू गरे।  केही समय त्यहीँ काम गरे। फिलिपिन्समा करिब एक वर्ष बसेर विकल नेपाल फर्किए।

उनलाई नेपाली आकाशमा जहाज उडाउनु थियो। व्यावसायिक लाइसेन्स भइसकेपछि काम पाउनेमा ढुक्क थिए।

सोचेजस्तो भएन।  

‘त्यो समय कम्पनी पनि थोरै थिए। काम पाउन चिनजान र सोर्सफोर्स पनि हुनुपर्थ्यो। आफूसँग केही थिएन,’ उनले भने, ‘मैले जागिर खुलेको सबै ठाउँमा आवेदन दिएँ तर पावर पुगेन।’ 

जागिर खोज्ने क्रममा विकलले तीतो अनुभव गरे। निजीदेखि नेपाली सेनाले मागेको जहाज चालक पदसम्म आवेदन भरे। छनौटमा परेनन्। 

जागिर नपाएपछि उनी विरक्तिए, ‘घुस बुझाउने पैसाले बरू थप अध्ययन गर्छु भनेर म लन्डन गएँ।’

सन् २०११ को अन्तिमतिर उनी एभिएसनमा मास्टर्स गर्न लन्डन पुगे। दुई वर्षमा पढाइ पूरा भयो, मास्टर्स इन एभिएसन म्यानेज्मन्टमा।

विकल फेरि स्वदेश फर्के। नेपाली आकाशमा जहाज उडाउने हुटहुटीले छाडेको थिएन।

उनले भने, ‘म त विदेशमा काम गर्दिनँ भन्ने सोच्थेँ। नेपालमै काम गर्छु भन्ने थियो।’

विकललाई एभिएसनमा सरकारी जागिरको अवसर पनि आयो। तर तलब एकदमै कम, चित्त बुझेन। पछि निजी क्षेत्रको सिम्रिक एयरमा ‘सेफ्टी अफिसर’ भएर काम गर्ने अवसर आयो। त्यहाँ उनले एक वर्ष काम गरे, पाइलटहरूलाई तालिम दिए। 

‘त्यति बेला म एभिएसन म्यानेजमेन्टमा मास्टर्स गरेर आएको पहिलो मान्छे थिएँ,’ उनी भन्छन्, ‘व्यावसायिक लाइसेन्स लिएको पाइलट, एभिएसनमै मास्टर्स गरेको भएर थोरै स्पेस पाएँ।’ 

उनलाई जहाज नै उडाउन मन थियो। सुरूमा अवसर भएन। पछि सेफ्टी अफिसर हुँदा उडाउन चाहेको भए पाउँथे पनि। तर उडान भरेनन्। 

‘जीवनको दौडानमा धेरै घटना भए। बेलाबेलामा जहाज खसेका घटना सुनिन्थे। आमाबुबा आत्तिनुहुन्थ्यो,’ विकलले भने, ‘आमबुबाका हामी दुई छोरा थियौं। भाइको मृत्युपछि सहारा म मात्रै भएँ। मलाई आमाबुबाले जहाज नउडाउनू भनिरहनु भयो।’

उनले आमाबुबाको मन राख्नकै लागि पनि जहाज नउडाउने विचार गरे। आफूलाई एभिएसन सेफ्टी अर्थात उड्डयन सुरक्षातिरै आबद्ध गराए। धेरै तालिमहरू पनि लिए। त्यसैमा अध्ययन बढाए।

सिम्रिकमा एक वर्ष काम गरेपछि सौर्य एयरलाइन्सबाट अझ राम्रो अवसर पाए। अनि सौर्यमा वर्ष दिन हुँदाहुँदै उनी ओमन गएका हुन्। 

अहिले विकल आफ्नो परिवारसहित ओमनमै बस्छन्। छोराछोरी त्यहीँ पढ्छन्। आमाबुबा जनकपुरमा छन्। उनीहरू पनि बेलाबेला ओमन पुग्छन्। 

‘विदेशको ठाउँमा तीन बच्चा र श्रीमतीसहित पालिएको छु। आमाबुबा आउजाउ गर्नुहुन्छ,’ उनी भन्छन्, ‘बचत पनि गरेको छु। राम्रो जीवन बाँचेको छु।’

सैंतीस वर्षीय विकल एभिएसनमै विद्यावारिधि पनि गर्दैछन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए), ओमनको अध्यक्ष पदमा छन्। कामसँगै समाजसेवामा पनि आफ्नो रूचि भएकाले एनआरएनएमा आबद्ध भएको उनले बताए। 

विकलका लागि उड्डयन सुरक्षाको जनशक्ति उत्पादन गर्न पाउनु चानचुने कुरा होइन। जुन देशमा बसेर गरे पनि सेवा एकै हो। 

उनी भन्छन्, ‘काम गर्दै जाने हो। ओमनबाट कहाँ पुगिन्छ भन्ने टुंगो छैन। नेपालमै फर्केर काम गर्छु भन्ने अडान पनि मैले राखेको छैन।’ 

विकलका अनुसार पाइलट बन्न भित्रैदेखि इच्छा हुनुपर्छ। आकाशमा उड्ने आकांक्षा र आँट हुनुपर्छ। आमाबाबु वा अरू कसैले भनेर कोही पनि पाइलट बन्न सक्दैन। 

‘जबरजस्ती पाइलट बन्न कोही पनि जाँदैन। भित्रैदेखि इच्छा जागेका व्यक्ति मात्र ककपिटमा बस्न चाहन्छन्,’ विकलले भने।

Copy link
Powered by Social Snap