जसपाको संभावित विभाजनका ८ कारण
यदाकदा शंका लाग्दछ- यो देशको भाग्य नै कतै उल्टो कलमले लेखिएको त छैन ? हुनुपर्ने कैयौं चिज हजार प्रयत्न गर्दा पनि हुँदैनन्, नहुनुपर्ने, नभइदेओस् भनेर हजार कामना गरेका कैयौं कुरा सजिलै बारम्बार भइदिन्छन् । एकातिर हामी भन्छौं- लोकतन्त्र सफल हुन बलिया, सबल र सक्षम राजनीतिक दलहरू चाहिन्छन्, अर्कोतिर हामी दलहरूको टुट, फुट, गुट, विग्रह र विभाजनको अनन्त शृङ्खला सामना गर्न बाध्य छौं ।
वितेका पाँच वर्ष यताका मात्रै कुरा गर्दा झण्डै दुईतिहाइ बहुमत पाएको नेकपा (नेकपा) टुटेर धुजाधुजा भयो । आज त्यो पार्टी ४ चिरामा विभक्त मात्रै छैन, एकअर्काप्रतिका आरोप-प्रत्यारोपले राजनीति र लोकतन्त्रको गुणस्तर नै क्षयीकरण भएको छ । आम जनता र मतदातामा दलहरूप्रतिको विश्वास निरन्तर कमजोर हुँदैछ । दलहरूप्रतिको जनविश्वास मात्रै घटेको भए त्यो ठूलो जोखिमको कुरा हुने थिएन, साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्र समेत बद...









