२०७९ भाद्र २
Advertisement

Advertisement

‘तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो’

फूलुकुमारी (बायाँ) र विमलाकुमारी महतो

परिवारमा छ जना छन्, दुई आमाबाबु र चार छोराछोरी। अहिलेको खर्चालु जमानामा यतिको परिवार पालिन, छोराछोरी पढाउन ठूलै खर्च लाग्छ। एक जनाले मजदुरी गरेको भरमा के पार लाग्नु!

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरकी ३६ वर्षीया विमलाकुमारी महतो यस्तै सोच्थिन्। घरभित्रकै सानोतिनो काममा दिन बित्थ्यो। कमाइको काम केही पनि थिएन। 

‘दिनभर श्रीमानले गरेको मजदुरीबाट जसोतसो परिवार चलेको थियो,’ विमलाले भनिन्, ‘सबै खर्च एक जनाको मजदुरीको कमाइमा निर्भर थियो।’


Advertisement


विमला आफूले पनि केही कमाइ गर्न सके परिवार चलाउन सजिलो हुन्थ्यो भन्ने सोच्थिन्। केही न केही काम गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन चाहन्थिन् तर कुनै उपाय फेला परेको थिएन। टोलका केही किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको पनि विमलाले देखेकी थिइन्। आफूले चाहिँ आँट गर्न सकेकी थिइनन्। 

एक दिनको कुरा हो। समृद्धि परियोजना नामको एक संस्थाकी सहजकर्ता स्थानीयवासी फूलकुमारीले विमलालाई उनकै घरमा गएर भेटिन् र विमलाको सपनाबारे सोधिन्। 

विमलाको ठूलो चाहना नै के थियो र! चाहना भने पनि सपना भने पनि छोराछोरी पाल्न र पढाउन सजिलो हुने गरी केही कमाइ गर्न पाए हुन्थ्यो।

विमलाले आफ्नो यही सानो सपना फूलकुमारीलाई सुनाइन्।

फूलकुमारीले ‘लैंगिक सिकाइ पद्धति’ मा चित्रमार्फत टोलका महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउने कुरा विस्तारमा विमलालाई बताइन्। विमला हर्षित भइन्। कमाइको केही उपाय हुन्छ कि भन्ने आशा पलायो। विमला समृद्धि परियोजनाको ‘लैंगिक सिकाइ पद्धति’ तालिममा सहभागी भइन्। उनले तरकारी खेतीको तालिम पाइन्। 

थोरै खेती त गरेकै थिइन्, व्यावसायिक थिएन। तरकारी खेतीबाट आम्दानी गर्ने तरिका पनि थाहा थिएन। विमलाले तालिममा यी सबै कुरा बुझ्ने र सिक्ने मौका पाइन्।

‘अलिअलि खेती पहिले पनि गरेकै थिएँ तर आत्मनिर्भर कसरी बन्ने थाहा थिएन,’ उनले भनिन्, ‘फूलकुमारीले योजना बनाउने, खेतीपाती गर्ने, पैसा बचत गर्ने, बालबच्चा पढाउने र परिवारलाई खुसी राख्ने सबै कुरा सिकाउनुभयो।’

तालिम सकिएपछि विमलाले तरकारी खेतीको तीन वर्षीय योजना बनाइन्। आफूसँग पैसा नभएका कारणले तालिममा सिकेअनुसार राम्ररी काम गर्न सक्दिनँ कि भन्ने शंका पनि मनको एक कुनामा थियो।

उनले हिम्मत हारिनन्। तालिममा सिकेअनुसार आफ्नो दुई कट्ठा जग्गामा खेतीको काम सुरू गरिन्। काम अघि बढ्दै थियो, समृद्धि परियोजनाबाट सिँचाइका लागि एउटा मोटर र ४० किलो पाइप पाइन्। 

सोही परियोजनाबाट मलखाद र उन्नत जातको बिउमा ३० प्रतिशत अनुदान पाइन्। विमलाको हिम्मत बढ्यो। अब चाहिँ केही कमाइ गर्छु भन्नेमा ढुक्क भइन्। उनले थप दुई कट्ठा जमिन ठेक्कामा लिइन्। तालिम लिएकै थिइन्। सिँचाइको व्यवस्था भइहाल्यो। मलखाद र बिउमा पनि सहुलियत भयो।

उनले घिरौंला, भिन्डी, बोडी, बैगुन, खुर्सानी, काउली लगायतका मौसमी तरकारी लगाइन्। पहिलो पटकमै निकै राम्रो उत्पादन भयो। आम्दानी पनि भयो। 

विमलाले पशुपालन पनि थालिन्। सुरूमा दुई वटा साना पाडा किनेर ल्याइन्। झन्डै दुई वर्ष पालेपछि १३ हजारमा किनेको एउटा पाडो ५० हजार रूपैयाँमा बेचिन्। त्यसमा थप १५ हजार थपेर एउटा दुधालु भैंसी किनिन्।

अहिले उनीसँग दुई वटा भैंसी छन्। दूध उत्पादनबाट भएको आम्दानीले विमला निकै खुसी छिन्। राम्रो आम्दानी भइरहेको उनले बताइन्। तालिम लिएर तरकारी खेती र भैंसी पालन सुरू गरेपछि विमलाको परिवारमा खुसी छाएको छ। घर खर्च चलाउन सजिलो भएको छ। पैसा नहुँदा श्रीमान–श्रीमतीमा खटपट पनि हुन्थ्यो। आजकाल घरमा शान्ति छ।

‘खेतीपातीबाट आम्दानी भएकै छ। परिवार राम्ररी चलेको छ। सुखशान्तिका लागि कसरी बोल्ने, कोसँग कस्तो व्यवहार गर्ने जस्ता कुरा पनि सिक्यौं,’ विमला भन्छिन्, ‘मेरो कमाइले परिवार चल्छ। श्रीमानको कमाइ पूरै बचत हुन्छ। तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो।’

लैंगिक सिकाइ पद्धतिमा चित्रमार्फत तालिम दिने गरेकी फूलकुमारीले गाउँका महिलालाई आत्मनिर्भर बनाउने अभियान चलाएकी छन्। उनी आफू पनि तरकारी खेतीमा संलग्न छिन्। फूलकुमारीको पनि आफ्नो जमिन दुई कट्ठा मात्रै छ। उनले १० कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती गरेकी छन्। भैंसी पनि पालेकी छन्। खेतीकै आम्दानीबाट एउटा ट्र्याक्टर किनेकी छन्। यसैले अरू किसानको पनि खेतबारी जोत्छ। 

समृद्धि परियोजनाको सहयोगले आफूहरू खेतीपातीबाट आत्मनिर्भर बनिरहेको स्थानीय महिलाहरूको भनाइ छ। 

यस्तै एक किसान हुन् सीमा सिंह। उनले पनि ठेक्कामा जमिन लिएर तरकारी खेतीबाट परिवार चलाएकी छन्। चार जना छोराछोरी छन्। उनका श्रीमान भारतको दिल्लीमा काम गर्छन्। 

‘छिमेकीले गरेको देखेर मैले पनि सुरूमा दुई कट्ठा जग्गा भाडामा लिएँ। अहिले पाँच कट्ठा खेत लिएर तरकारी खेती गर्दैछु,’ सीमाले भनिन्, ‘छोराछोरीको पढाइ खर्च र घरखर्च सबै पुगेको छ।’

स्थानीय चन्देश्वरप्रसाद सिंहका अनुसार महिलाहरूले आफैं कमाइ गर्न थालेपछि पुरुषमाथिको आर्थिक भार केही कम भएको छ। कृषक महिलाहरू सामाजिक रूपमा समेत सशक्त बनेका छन्। 

‘दुवै (श्रीमान–श्रीमती) ले कमाउँदा परिवारको आर्थिक उन्नति भएको छ। पुरुषमाथिको निर्भरता घट्दा महिलाले केही स्वतन्त्रता पनि पाएका छन्,’ चन्द्रेश्वर भन्छन्, ‘आर्थिक उन्नतिले समाजमा महिलालाई हेर्ने नजरिया पनि बदलिँदो रहेछ।’

विमला र सीमा जस्ता अन्य महिला पनि तरकारी खेती र पशुपालन व्यवसायबाट आत्मनिर्भरताको बाटोमा अग्रसर हुँदैछन्। उनीहरू ग्रामीण क्षेत्रमा आफ्नो जमिन नभए पनि अठोट, सानो लगानी र ससानो सहयोगले आर्थिक उन्नति गर्न सकिन्छ भन्ने प्रेरणाका स्रोत भएका छन्। 

Copy link
Powered by Social Snap