२०८१ बैशाख १४

कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर




कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्।

कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ।

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो।

उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ। यसले सबैलाई खुसी तुल्याएको छ।

बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए।



Advertisement



रिमबहादुर सानोमा विद्यालय जान पाएका थिएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्।

‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्‍यो। बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु,’ उनले भने।

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुरले बताए। ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले भने।

रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भए। त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन्। उनले बिहान र बेलुकाको समयमा घरको काम गर्छन्।

‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु। दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु,’ उनले भने।

आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो। भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनले बताए।

रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ।

‘उमेरले पढ्न छेक्दो रहेनछ। त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ,’ उनले भने।

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन्।

श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, उनले भनिन्।

श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनले बताइन्। रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन्।

प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो। ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने।

शिक्षकहरूलाई सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्रीले बताए। अहिले विस्तारै बानी परेका छन्।

‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो। अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ,’ प्रअ खत्रीले भने।

(रासस)

Copy link
Powered by Social Snap