२०८१ बैशाख १३

बक्यौता नतिर्ने वायुसेवा कम्पनी प्राधिकरणको सम्पर्कमा, करिब ९ करोड उठ्न बाँकी




लामो समयदेखि सञ्चालनमा नरहेका र बक्यौता रकम नबुझाएका विभिन्न एयरलाइन्स कम्पनीहरू नागरिक उड्डयन प्राधिकरणको सम्पर्कमा आएका छन्। यस्ता कम्पनीमध्ये निकोन, शिवानी र कस्मिक एयरलाइन्स सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। यी कम्पनीहरूसँग प्राधिकरणले सेवा शुल्कवापत आठ करोड ७४ लाख रूपैयाँ उठाउँन बाँकी छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सेवा शुल्कवापतको बक्यौता रकम नतिर्नेको बैंक खाता रोक्कादेखि सञ्चालकहरूको राहदानीसम्म जफत गर्ने सूचना निकालेपछि यी एयरलाइन्स कम्पनीहरू सम्पर्कमा आएका हुन्।

‘निकोन एयरलाइन्सका सञ्चालकहरूको बैंक खाता र सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको छ,’ उनले भने।



Advertisement



उनका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोन एयरलाइन्सले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रूपैयाँ छ। २०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा थिएनन्।

‘कम्पनी रजिष्ट्रार कार्यालयबाट सबै एयरलाइन्सको तथ्यांक ल्यायौं। त्यसका आधारमा सम्पूर्ण एयरलाइन्स कम्पनीलाई सम्पर्क गरिरहेका छौं,’ प्रवक्ता निरौलाले भने, ‘तर निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यसकम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन राष्ट्र बैंक र मालपोतमा पत्राचार गरेका छौं।’

सम्पर्कमा आएको शिवानी एयरलाइन्ससँग प्राधिकरणको कुराकानी भइरहेको छ। शिवानी एयरले ५५ लाख ५१ हजार रूपैयाँ बक्यौता बुझाउन बाँकी छ। प्राधिकरणका अनुसार हाल शिवानी एयर सम्पर्कमा आएको र फ्लाइङ स्कुल पुनः सञ्चालन गर्ने चासो देखाइरहेको छ। यसका लागि एयरलाइन्सले थप समय मागेको छ।

‘यदि बुझाउन सकेन भने शिवानी एयरसँग अल्ट्रा एयरक्राफ्टहरू छन्, त्यसको लिलामी प्रक्रिया अगाडि बढाउने छौं,’ उनले सेतोपाटीसँग भने, ‘तत्कालका लागि केही समय दिएका छौं। फ्लाइङ स्कुल सञ्चालनपछि पनि बक्यौता बुझाएनन् भने लिलामी बिक्री गरेर पनि बक्यौता असुली हुन्छ।’

प्राधिकरणका अनुसार शिवानी एयर २०६७ सालबाट सञ्चालनमा छैन।

त्यस्तै कस्मिक एयरलाइन्सको बक्यौता तीन करोड ४७ लाख रूपैयाँ छ। यस एयरलाइन्सको करिब ६३ लाख ६२ हजारको हिसाब मिलान भएको छ भने तीन करोड ४७ लाख रूपैयाँ उठ्न बाँकी छ। एयरलाइन्स र प्राधिकरणबीचको द्विपक्षीय हिसाबकिताब जाँच भइरहेको प्रवक्ता निरौलाले बताए। कस्मिक एयर २०६१ सालबाट सञ्चालनमा छैन।

हाल सञ्चालनमा नरहेका अल्पाइन एयर, गोर्खा एयर, कर्णाली एयर, माउन्टेन एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डपको गरी करिब ६३ लाख रूपैयाँ प्राधिकरणले उठाउन सकेको छ। यिनीहरूबाट उठाउन बाँकी सबै रकम उठेको प्राधिकरणले उल्लेख गरेको छ।

प्रवक्ता निरौलाका अनुसार हाल सञ्चालनमा रहेका एयरलाइन्सले भने एयर अपरेटिङ सर्टिफिकेट (एओसी) नवीकरण गर्दा बक्यौता रकम बुझाउने गरेका छन्। विगतमा सञ्चालनमै रहेका थुप्रै एयरलाइन्सको पनि ठूलो रकम बक्यौता हुन्थ्यो। बक्यौता फर्छ्यौटका लागि प्राधिकरणले एओसी नवीकरण गर्दा बक्यौता रकम सबै बुझाउनुपर्ने नीति अवलम्बन गरेको प्रवक्ता निरौला बताउँछन्।

‘एओसी नवीकरण दुई वर्षमा गर्नु पर्छ। नवीकरण गर्दा अनिवार्य बक्यौता बुझाउनुपर्छ,’ उनले भने, ‘नत्र प्राधिकरणबाट उडान अनुमति नै रोकिन्छ।’

यसरी प्राधिकरणले सञ्चालनमा रहेका एयरलाइन्स कम्पनीहरूले बक्यौता तिरिरहेको र सञ्चालनमा नरहेकाको खोजी गरिरहेको छ। अब विदेशी एयरलाइन्सहरूको बक्यौता असुली प्रक्रिया पनि सुरू गरिने प्रवक्ता निरौलाले जानकारी दिए।

Copy link
Powered by Social Snap