जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्।
गुफा राख्नु अघि 'नौंनी' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्।
चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्। उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो।
'अलः लगाएको मलाई निकै मनपर्यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,' आयुषाले भनिन्, 'घर लगेको अलः फेरिफेरि लगाएँ।'
अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर...









