२०७९ मंसिर २२
Advertisement

Advertisement

तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी




भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ।

अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ।

विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा गरेकै बेला पनि विराटनगरको ‘जोशी भुजिया’ एउटा यस्तो स्थानीय उत्पादन बनेको छ, जसले ४६ वर्षदेखि आफूलाई बजारमा टिकाइरहेको छ।

यसले आफूलाई टिकाएको मात्रै छैन, उत्पादक जोशी परिवारलाई कहिल्यै निराश पनि बनाएको छैन। बरू परिवारको चौथो पुस्ताका सदस्यसम्मलाई यो पुस्तैनी व्यापारले आकर्षित गरेको छ।


Advertisement


२९ वर्षे प्रशान्त शर्मा जोशी यसैका उदाहरण हुन्। उनले बैंगलोरमा पढे। एमबिए सकिएपछि उनी कुनै स्थापित र ठूलो कम्पनीमा आफ्नो शैक्षिक योग्यताको व्यावहारिक परीक्षण गर्न चाहन्थे।

विराटनगरमा रहेको आफ्नो पुस्तैनी व्यापारलाई करिअर बनाउने योजना बनाइसकेका उनलाई स्थापित कम्पनीहरूको बजार योजना र तौरतरिका सिक्नु थियो। त्यहाँको अनुभव ल्याएर उनी विराटनगरमा खन्याउन चाहन्थे, जहाँ उनका जिजुबाजेले ४६ वर्षअघि सुरू गरेको जोशी भुजियाको व्यापार थियो।

उनले प्रसिद्ध भारतीय व्यापारिक कम्पनी महिन्द्रा एन्ड महिन्द्रामा कामका लागि प्रयास थाले। सफल पनि भए। उनले उक्त कम्पनीको मार्केटिङ विभागमा कामको अवसर पाए। त्यहाँ आवेदन दिँदादिँदै आफ्नै मनसँग दह्रो सर्तनामा गरेका थिए, जतिसुकै राम्रो अवसर भए पनि यहाँ म लामो समय बिताउने छैन।

‘घर फर्केर पुस्तैनी व्यापार सम्हाल्ने कुरामा म प्रष्ट थिएँ,’ विराटनगरका यी तन्नेरी करिब ७ वर्षअघिको कथा सुनाउँदै थिए, ‘तर, पनि हातमा प्रमाणपत्र थियो, कुनै ठूलो कम्पनीमा केही समय काम गर्दा त्यसको अनुभवले पारिवारिक व्यापारलाई फाइदा होला भन्ने लाग्यो।’

महिन्द्रा ग्रुपमा काम गर्दा त्यसको चुस्त शैली र बजारमा आक्रामक ढंगले प्रवेश गर्ने कम्पनीको योजनाका एउटा हिस्सा बने उनी। तुलनात्मक रुपमा ‘राम्रै आम्दानी’ भइरहेको त्यो जागिरबाट चार वर्षपछि स्वेच्छिक बिदा लिए। त्यसपछि विराटनगर फर्केर उनी पूर्ण रूपमा जोशी भुजियामै भिड्न थाले।

‘दुई वर्ष भयो म यसको बजार हेरिरहेको छु,’ विराटनगर मेनरोडमै रहेको जोशी भण्डारमा सेतोपाटीसँग उनले भने, ‘पारिवारिक विरासतको पुरानो व्यापारलाई नयाँ आकार दिने योजनामा लागेको छु।’ 

प्रशान्तका बुबा शिवरत्न शर्मा जोशीका अनुसार उनका हजुरबुवा किशोरीचन्दले भारतीय सहर बिकानेरमा देखे–भोगेको अनुभवमा आधारित भएर जोशी भुजियाको थालनी गरेका थिए।

‘विकानेर भुजियाको उद्गम थलो भनिन्छ,’ इलाहावादबाट वाणिज्यशास्त्रमा स्नातक शिवरत्नले भने, ‘त्यतैबाट सिकेको ज्ञानले हजुरबुबाले यहाँ उत्पादन थाल्नुभयो।’

५२ वर्षीय  शिवरत्नका अनुसार हजुरबुवाले थालेको भुजिया उत्पादन र बिक्रीको कामलाई बुवा छगनलालले निरन्तरता दिए। त्यहीक्रममा शिवरत्न पनि जोडिए। अहिले उनका छोरा प्रशान्त पनि यसैको व्यापार विस्तारमा लागेका छन्।

‘हाम्रो परिवारको चौथो पुस्ता पनि पुस्तैनी व्यापारमै रमाउनुको कारण यसैले हामीलाई टिकाएकैले हो,’ शिवरत्न भन्छन्, ‘उपभोक्ताहरूले हाम्रो उत्पादनलाई विश्वास गरेका कारण यो सम्भव भएको हो।’



जोशी परिवारसँग भुजिया उत्पादन र बिक्रीको पहिलो मितिको अभिलेख छैन। तर, २०३०-३१ सालतिरबाट सानो आकारमा यसको उत्पादन सुरू भएको शिवरत्न बताउँछन्।

‘सुरूमा भुजिया मात्रै थियो,’ उनले भने, ‘केही वर्षपछि दालमोठ पनि उत्पादन सुरू भयो।’

लामो समय यही दुइटा उत्पादनको भरमा जोशी भण्डार अघि बढ्यो।

‘अहिले हामीसँग भुजियाका १५ थरी उत्पादन छन्,’ उनले भने।

लामो समय हातैले सबै काम हुने जोशी भुजियाले पछिल्लो १५ वर्षयता मेसिनबाट उत्पादन गरिरहेको छ। वीरगन्जमा रहेको फ्याक्ट्रीमा उत्पादन हुने जोशी भुजियाका विभिन्न ब्राण्डहरू अहिले पूर्वको झापादेखि राजधानी काठमाडौंसम्मै फैलिएको छ।

‘विराटनगर हाम्रो मुख्य बजार हो,’ प्रशान्त भन्छन्, ‘यसबाहेक, झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी र काठमाडौंसम्म हाम्रो बजार छ। यसलाई अझै फैलाउने योजनामा छौं।’ 

महँगो बिजुली, उत्तिकै महँगोमा भारतबाट ल्याउनुपर्ने कच्चा पदार्थ, ढुवानी खर्च र जनशक्तिदेखि वितरण व्यवस्थापनसम्मको प्रक्रियामा भारतीय उत्पादनको दाँजोमा स्थानीय उत्पादन यसै महंगो हुन्छ। विभिन्न थरीका दाल, मसला, मैदा आवश्यक पर्ने भुजियाका लागि मैदाबाहेक सबै कुरामा भारतकै भर गर्नुपर्छ।

‘यसले पनि हाम्रो उत्पादन लागत भारतीय भुजियाको दाँजोमा महँगो पर्न जान्छ,’ प्रशान्तले भने, ‘यो हाम्रा लागि मुख्य चुनौती हो।’

तर विदेशीको तुलनामा स्थानीयको स्वादबारे स्थानीय उत्पादक नै बढी जानकार हुन्छन्।

‘हाम्रा उत्पादनहरू अहिलेसम्म टिकिरहनुको मुख्य कारण पनि हामीलाई यहाँका मान्छेको स्वादबारे थाहा हुनु हो। त्यसबारे धेरैपटक बजारमा सर्भे पनि गरेका छौं,’ उनले थपे, ‘स्वाद र गुणस्तर कायम गरेकै कारण हामीलाई टिक्न र बिक्न सजिलो भएको हो।’

विराटनगरका पुराना बासिन्दासमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार जोशी भुजिया यहाँको पुरानो मध्येको एउटा स्थानीय उत्पादन हो। उपभोक्ताको विश्वास र जोशी परिवारको लगनले यसको झन्डै आधा शताब्दी लामो यात्रा सम्भव भएको उनले बताए।

Copy link
Powered by Social Snap