२०८१ बैशाख १४

बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC




हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ ।

वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न छोड्ने होइन । यो समस्या उमेर ढल्किंदै गर्दा बिस्तारै बिस्तारै देखा पर्छ । सुरु–सुरुमा आवाज त सुनिन्छ, तर प्रस्ट नबुझिने हुन्छ । त्यसपछि होहल्ला भएको ठाउँमा राम्ररी नसुन्ने र बिस्तारै कम हुँदैै सुन्दै नसुन्ने समस्या पनि हुन्छ ।



Advertisement



वृद्धावस्था भएका शतप्रतिशत मान्छेको नै श्रवणशक्ति कम हुन्छ वा गुम्छ भन्ने हुँदैन । ७५ वर्षको उमेर समूहका व्यक्तिमध्ये आधाको श्रवणशक्ति कम हुन्छ । ८० वर्षसम्ममा धेरैलाई यस्तो समस्या देखा परिसक्छ भने ९० वर्षसम्म लगभग सबैलाई नै यो समस्या देखिन्छ । सबैलाई एकै उमेरमा यो समस्या देखिने हुँदैन, उमेरअनुसार फरक पर्न सक्छ । ४० वर्षको उमेरदेखि कसैमा भने यो समस्या सुरु हुन्छ ।

बच्ने उपाय

वृद्धावस्थामा श्रवणशक्ति कम हुन नदिने वा फिर्ता ल्याउन सकिने कुनै प्रविधि बनिसकेको छैन । तर श्रवणशक्ति कम हुने अन्य कारण उपचार समयमा नै गरियो भने बुढेसकालमा कान कम सुन्ने समस्या कम हुन सक्छ । धेरै ध्वनि प्रदूषण हुने ठाउँमा नबस्ने, कानलाई असर गर्ने औषधिहरूको सेवन नगर्ने र कानमा संक्रमण भएको छ भने समयमा नै उपचार गर्ने गरियो भने चाहिं श्रवणशक्ति कम हुने समस्याको असरलाई कम गर्न सकिन्छ ।

इयरफोनको धेरै प्रयोग र कोलाहलमा बस्ने व्यक्तिमा यो समस्या छिटो देखिन सक्छ । इयरफोनको धेरै प्रयोग गर्ने मान्छेको श्रवणशक्ति बिस्तारै कम हुँदै जान्छ । लामो समयसम्म इयरफोन मार्फत आवाज सुनिरहँदा श्रवण शक्ति कम हुँदै जान्छ  । ध्वनि प्रदूषण हुने र धेरै कोलाहलमा बस्ने व्यक्तिमा पनि कान कम सुन्ने समस्या अन्य व्यक्तिको तुलनामा छिटो देखिन सक्छ ।

उपचार 

श्रवण शक्ति कम भएका व्यक्तिको आवश्यकताअनुसार त्यसको उपचार गरिन्छ । कम उमेरको व्यक्तिमा यस्तो समस्या देखियो भने ‘हेयरिङ एड’ आवाज सुन्न सहायता गर्ने यन्त्र लगाउन दिइन्छ । अर्को उपचार विधि भने ‘रिहाबिटिएटिभ’ सांकेतिक भाषा र ओठ चलेको हिसाबले बुझ्ने भाषा सिकाइन्छ । सुनाइ र यो संकेतिक भाषाको माध्यमबाट कान कम सुन्ने व्यक्तिलाई बुझ्न सजिलो हुन्छ । औषधिको सेवनबाट भने यो समस्याको उपचार हुँदैन ।



ध्यान दिनुपर्ने कुरा

कान कम सुन्ने मान्छेले बिस्तारै बोल्छ, ठूलो स्वरले बोल्छ र नजिक आएर बोल्छ । घरपरिवार तथा आफ्नो वरपरको मान्छेले कान कम सुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । जसले गर्दा उनीहरूलाई असहज महसुस नहोस् ।

टाढाबाट र सानो आवाजले बोल्दा उनीहरूलाई झन् तनाव हुन्छ । त्यसैले उनीहरूलाई सहज महसुस गराउन उनीहरूको नजिक गएर बोल्ने, अलि ठूलो स्वरले बोल्ने गर्नुपर्छ । उमेरका कारण वृद्धवृद्धाको सुनाइ कम भएको छ भन्ने कुरा नजिकको व्यक्तिले थाहा पाउनु जरुरी छ ।

(डा. अरुण केसी वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनी वीर अस्पतालमा कार्यरत् छन् ।)

Copy link
Powered by Social Snap