२०७९ माघ २५

Advertisement

जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’




नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्।

गुफा राख्नु अघि ‘नौंनी’ ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्।

चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्।  उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो। 

‘अलः लगाएको मलाई निकै मनपर्‍यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,’ आयुषाले भनिन्, ‘घर लगेको अलः फेरिफेरि लगाएँ।’ 

अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर्म, पूजाआजा इत्यादिमा अलः लगाइन्छ। अलः शृंगार सामग्री हो। यो लगाइसकेपछि महिला र केटी ‘चोखिने’ मानिने नेवारी विश्वास छ।



Advertisement



आयुषालाई अलः मात्रै होइन, क्वं प्रयोग गर्न पनि खुबै मन पर्छ। क्वं स्थानीय रूपमा उपलब्ध चामल, चिउरा, फलफूलको बोक्रा र अन्य केही अन्न पेलेर बनाइएको मिश्रण हो। क्वं नेपाल भाषाको शब्द हो। यसको अर्थ छाला सफा गर्न प्रयोग गरिने ‘स्क्रब’ हो। 

नेवारी संस्कृतिमा क्वं विशेष गरी इही गर्दा, गुफा राख्दा वा बिहेका समयमा लगाउने चलन छ। यसले छालालाई नरम र चम्किलो बनाउँछ। आयुषाले आफू गुफा बस्दा मात्रै क्वं प्रयोग गर्न पाइन्। त्यस बेला उनी ११ वर्षकी थिइन्। यसपछि आयुषालाई यी सामग्री नियमित प्रयोग गर्न मन हुन्थ्यो। 

दुई दशकपछि उनले आफ्नो इच्छा पूरा गरेकी छन्। अचेल आयुषा स्क्रबका रूपमा क्वं प्रयोग गर्छिन्। कुनै चाडपर्व विशेषमा अलः लगाउँछिन्। उनी आफैं अलः र क्वं बनाउँछिन् र बजार पुर्‍याउँछिन्।  

आयुषा ‘क्वं’ ब्रान्डमार्फत यो काम गर्दैछिन्। दुई वर्षअघि स्थापित क्वं नेपाली ब्रान्ड हो जहाँ नेवार समुदायमा प्रयोग हुने नेवारी सौन्दर्य सामग्री अलः, क्वं, अजः (गाजल) र भुटेको तोरीको तेल पाइन्छ। 

यसबाहेक पछिल्लो समय क्वं मा नेवारी गहना माकासीः (झुम्का) र प्याखा अंगुः (औंठी) उपलब्ध छन्। यी सबै स्थानीय कालिगढले बनाउने आयुषा बताउँछिन्। क्वंमा उपलब्ध अलः सबै उमेरकाले प्रयोग गर्न मिल्छ।

‘खास समुदाय विशेषले मात्रै प्रयोग गर्ने भन्ने पनि होइन,’ आयुषाले भनिन्, ‘यसले छालालाई कुनै असर गर्दैन। अजः पनि सानै उमेरदेखि प्रयोग गर्न मिल्छ।’

अजः घरेलु गाजल हो। यो आठ वटा प्राकृतिक गुणयुक्त जडीबुटीको मिश्रणबाट बनाइन्छ। यसले आँखालाई शीतल पार्ने र हलुका महसुस हुने आयुषाको भनाइ छ। 

‘क्वं छ–सात वर्षको उमेरदेखि प्रयोग गर्न मिल्छ। सक्रिय डन्डिफोर भएको छालामा भने प्रयोग गर्नु हुँदैन,’ उनको सुझाव छ, ‘डन्डिफोर हुँदा कुनै पनि खालको स्क्रब प्रयोग नगर्नु राम्रो हुन्छ।’

आयुषालाई क्वंको व्यावसायिक अवधारणा २०७६ सालको अन्त्यतिर फुरेको हो। त्यस बेला कोरोना महामारीका कारण लकडाउन भएको थियो। आयुषा सूचना प्रविधिसम्बन्धी एक कम्पनीमा जागिरे थिइन्। सन्तुष्टि भने थिएन।

‘मलाई जागिरे जीवन नीरस लागेको थियो। अलिअलि कुरा बुझ्ने हुँदादेखि नै जागिरभन्दा व्यवसायमा मेरो रूचि थियो,’ उनले भनिन्, ‘पढाइसँगै सुरू गरेको जागिर झट्ट छाड्न सकेकी पनि थिइनँ।’ 

आयुषाले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक पूरा गरेकी छन्। हाल समाजशास्त्रमा स्नातकोत्तर तह पढ्दै छिन्। उनले लकडाउन सुरू भएसँगै जागिर छाडिन्। अनि आफूलाई सानैदेखि लोभ्याएको नेवारी सौन्दर्य सामग्रीको व्यवसाय गर्ने योजनातिर लागिन्। यही समयमा उनले आफैं सामग्री उत्पादन गरेर बजार पुर्‍याउने आँट बटुलिन्।

‘लकडाउनमा जागिर छाडेर पूरै समय आफ्नै व्यवसाय गर्ने सोचेँ,’ २९ वर्षीया आयुषाले भनिन्, ‘परिवारका सदस्यले त जागिर नछाड्न सल्लाह दिनुभएको थियो। तर मैले व्यवसायमै आँट गरेँ।’



परिवारमा अहिले हजुरआमा, हजुरबुवा, आमा, बुवा र आयुषा छन्। दुई दाजुभाइ पढाइको सिलसिलामा विदेशमा।

व्यवसाय सुरू गर्न आयुषाले क्वं बनाउनुपर्थ्यो। हजुरआमालाई बनाउन सिकाइ मागिन्।

हजुरआमाले भनिन्- आजकाल कसैले पनि क्वं लगाउँदैन, सिकेर के गर्छेस्!

‘हजुरआमाले अचेल कसैले क्वं लगाउँदैन, सिक्न पर्दैन भन्नुभयो,’ आयुषाले भनिन्, ‘पछि कुरा बुझाएर हजुरआमासँगै सिकेँ।’

क्वं बनाउने कच्चा पदार्थ, तिनको मात्रा, प्रयोगको नेवारी परम्परा इत्यादि उनले सिकिन्। तरिकाबारे पढिन्। बनाउँदै, बिगार्दै आखिरमा गुणस्तरीय क्वं बनाउन सिकेको उनी बताउँछिन्।

क्वंको व्यवसाय सुरू गर्नुअघि उनले बजार अध्ययन पनि गरिन्। अध्ययनको पहिलो स्रोतव्यक्ति पनि हजुरआमा नै बनिन्। पारिवारिक समर्थन पनि पाइन्। आफूले बनाएको क्वं गुणस्तरीय छ भन्नेमा विश्वस्त भएपछि बजार पुर्‍याउन थालिन्। क्वं पछि उनले अलः र अजः बिक्री गरिन्।

आयुषाले आफ्नो उत्पादन बजार पुर्‍याउनुअघि प्याकेजिङबारे पनि योजना बनाएकी थिइन्। उनका उत्पादनको प्याकेजिङ आकर्षक छ।

‘सानैदेखि हरेक कुरा चट्ट मिलेको होस् भन्ने चाहन्थेँ। त्यसैले उत्पादनसँगै प्याकेजिङमा विशेष ध्यान दिएँ,’ आयुषा भन्छिन्, ‘राम्रो प्याकेजिङले सामग्रीलाई प्रिमियम पनि देखाउँछ।’

उनका अनुसार हाल प्याकेजिङका लागि प्रयोग भएका केही झोला र बट्टा नेपालमै पाइन्छ। केही भने चीनबाट मगाउँछिन्। प्याकेजिङमा पनि नेवारी संस्कृति झल्किन्छ।

आयुषा बजार मागअनुसार उत्पादन गर्छिन्। क्वंमा उपलब्ध सामग्री उपत्यकाबाहिर पनि पुग्छ। उनका ७० प्रतिशत ग्राहक उपत्यकाका छन्। अरू पोखरा, चितवन, वीरगञ्ज, विराटनगर लगायत दर्जनभन्दा बढी सहरका छन्। डेलिभरीका लागि ‘आयो एक्सप्रेस’ सँग सहकार्य छ।

‘सुरूआती दिनमा आफैं डेलिभरी गर्न जान्थेँ। ग्राहकहरूले प्रतिक्रिया दिनुहुन्थ्यो। निकै खुसी लाग्थ्यो,’ आयुषाले भनिन्, ‘अचेल ग्राहकसँग सामाजिक सञ्जाल र फोनबाट कुरा हुन्छ। सामग्री मनपरेको भन्नुहुन्छ। यसले काम गर्न हौसला दिन्छ।’

क्वं ब्रान्डले नेपाली सीमा पनि पार गरेको छ। एक वर्षअघिदेखि अस्ट्रेलियामा एक बिक्रेता नै छन्। विदेश जाने नेपालीहरूले किनेर लैजाने गरेका छन्। 

नेवारी समुदायमा परम्परागत रूपमा क्वं (स्क्रब) को प्रयोग धेरै हुन्थ्यो। नेवारका प्रत्येक घरमा क्वं बन्थ्यो। बजारमा उद्योगका स्क्रबहरू आउन थालेपछि परम्परागत क्वं को प्रयोग घट्यो। नेवार संस्कृतिमै क्वं को प्रयोग हराउँदै गएपछि आफ्नो संस्कृति जोगाउँदै व्यावसायिक रूपमा अझ ठूलो जमातमा पुर्‍याउने काम थालेको उनी बताउँछिन्।

नेवार समुदायमा प्रयोग हुने सौन्दर्य सामग्री अरू समुदायले पनि प्रयोग गरून् भन्ने उनी चाहन्छिन्। जसरी नेवारी परिकार प्रख्यात छन्, त्यसैगरी सौन्दर्य सामग्री पनि ठूलो बजारमा पुर्‍याउने योजना छ। 

‘नेवार समुदायकै नयाँ पुस्तालाई क्वंबारे थाहा छैन। म आफ्नो समुदायमा क्वं चिनाउन चाहन्छु। क्वं सञ्चालनलाई नेवारी समुदायमा आफ्नो सानो योगदान मान्छु,’ उनी भन्छिन्।

खास गरी क्वं उत्पादन र बिक्री गर्ने हुनाले आफ्नो ब्रान्डको नाम पनि ‘क्वं’ राखेको आयुषाले बताइन्। क्वंमा उपलब्ध हरेक सामग्रीको नाम नेपाल भाषामै राखेकी छन्।

‘यस्तो नामले मानिसहरूमा जिज्ञासा बढाउँछ। के रहेछ भनेर खोजी पनि गर्नुहुन्छ,’ उनले भनिन्, ‘ग्राहकले नेवार संस्कृति र सामग्रीबारे ज्ञान पनि पाउनुहुन्छ।’

आयुषाका अनुसार क्वंका सामग्री परम्परागत हुनाले बजारमा पाइने अन्यको तुलनामा फरक र मौलिक छन्। हालसम्म ग्राहक क्वंका उत्पादनप्रति सकारात्मक रहेको उनले बताइन्। नेवारसँगै अन्य समुदायका मानिसले पनि रूचाएका छन्। सामग्री अर्डर गर्नेमा युवा पुस्तादेखि ५० वर्ष उमेरसम्मका धेरै छन्।

आयुषाले क्वंको बजार विस्तारका लागि डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेकी छन्। उनी क्वं लाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा विस्तार गर्न चाहन्छिन्। 

‘क्वंलाई नेपालको हरेक क्षेत्रमा चिनाउन चाहन्छु। राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छु,’ उनले भनिन्,  ‘अनि अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्ने दीर्घकालीन योजना छ।’

Copy link
Powered by Social Snap