२०८१ बैशाख ८

जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा




त्यो बेला समुद्र तरेर जानु राम्रो मानिन्थेन। विदेशिँदा समाजले अस्वीकार नै गर्थ्यो। त्यसमाथि बेलायतले भारतमाथि शासन गरिरहेकै बेला थियो।

त्यस्तो परिवेशमा मद्रासका ब्राह्मण श्रीनिवास रामनुजनले यी सबै घेरा नाघ्ने हिम्मत गर्लान्?

यो कथा बीसौं शताब्दीतिरको हो।

रामानुजन एक गरिब परिवारका युवा हुन्, कामको खोजीमा भौंतारिरहेका छन्। कुनै औपचारिक डिग्री नभएका उनी कार्यालयहरूमा काम गर्न चाहन्छन्। आफूले बनाएका केही नोट र टिपोट नै उनको प्रमाणपत्र हो।



Advertisement



ती कागजात हेरेर कतिले उनको तारिफ पनि गर्छन्। तर जागिर कसैले दिँदैनन्। कमाइ नभएकै कारण उनले भर्खरै बिहे गरेकी श्रीमतीलाई आफूसँग राख्न सकेका छैनन्।

दिनरात भौंतारिरहेका बेला एक दिन उनी एक ठाउँमा पुगेर अडिन्छन्। त्यहाँका हाकिमले उनलाई काम दिन्छन्। उनी रामानुजनको काम देखेर प्रभावित हुन्छन्। 

रामानुजन गणितमा एकदमै तीक्ष्ण हुन्छन्। उनको असाधारण क्षमता देखेर ती हाकिमले उनलाई सम्भावनाको बाटो खोज्न भन्छन्। उनका हिसाब र सूत्रहरू भारतबाहिर फैलाउन हौस्याउँछन्। उनैले रामानुजनलाई बेलायतका विभिन्न विश्वविद्यालयका गणितका प्राध्यापकहरूलाई चिठी पठाउन मद्दत गर्छन्।



यस्तै एक पत्र क्याम्ब्रिज विश्वविद्यालयका प्रसिद्ध गणितिज्ञ जिएच हार्डीलाई पनि पठाउँछन्। उनले रामानुजनको खुबीमा रूचि राख्छन्। उनले रामानुजनको योग्यता हेर्न भन्दै क्याम्ब्रिजमै बोलाउँछन्।

आफ्नो क्षमता र सीप फैलाउन आतुर रामानुजन दोधारमा पर्छन्।

एकातिर भर्खर बिहे गरेकी श्रीमती र विदेश जान हुँदैन भन्दै रोक्ने आमा छन्। अर्कातिर समुद्रझैं आफ्नो सपना फैलिन सक्ने सम्भावना छ।

चुनौती यति मात्र कहाँ हो र, भारतीयमाथि शासन गरिरहेको बेलायतमा गएर उनलाई सुरूसुरूमा सम्मानजनक व्यवहार पाउन मुश्किल हुन्छ। त्यसमाथि मद्रासको ग्रामीण क्षेत्रमा गरिबीबीच हुर्केका उनलाई बेलायती संस्कारमा घुलमिल हुन पनि सकस पर्छ।

तर खुबी धेरै दिन कहाँ लुक्छ र! उनको तीक्ष्ण दिमाग र अद्भूत क्षमता देखेर विश्वविद्यालयका प्राध्यापकहरू नै चकित खान्छन्। रामानुजनलाई क्याम्ब्रिजसम्म बोलाउने प्राध्यापक हार्डीले पनि सुरूमा त रामानुजनको खुबीमा उत्ति विश्वास गरेका हुँदैनन्। पछि त उनी रामानुजनका मार्गदर्शक नै बन्छन्, उनीप्रति गर्व गर्छन्।

हार्डी उनलाई ‘कोइला खानीभित्र लुकेको हिरा’ का रूपमा व्याख्या गर्छन्।

फिल्म ‘द म्यान हु न्यु इन्फिनिटी’ रामानुजनको यही यात्राको कथा हो। अग्रणी गणितिज्ञहरूको सूचीमा पर्ने श्रीनिवास रामानुजनको बायोपिक फिल्म हो यो। यसले गाउँको एक साधारण मानिसमा पनि कति क्षमता हुन सक्छ भन्ने बलियो उदाहरण देखाउँछ। 

अंग्रेजीमा भाषामा बनेको यो बेलायती फिल्म रोबर्ट कनिगेलद्वारा यही नाममा सन् १९९१ प्रकाशित किताबमा आधारित छ।

हेर्नुहोस् फिल्मः

Copy link
Powered by Social Snap