देउवाले शशांकलाई सभापतिमा अघि बढाउन खोजेपछि एक ढिक्का हुँदै इतर पक्ष
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिमा शशांक कोइरालालाई अघि सार्न खोजेपछि इतर पक्ष एक ढिक्का बन्न थालेको छ।
१४ औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लडेका शेखर कोइराला, गगन थापासँगै अर्कै प्यानलबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा र देउवाकै प्यानलबाट महामन्त्री उठेर पराजित भएका प्रदीप पौडेल अहिले एकै ठाउँमा उभिएका हुन्।
उनीहरूले आइतबार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको निवास बुढानिलकण्ठ इटालीटारमा पहिलो चरणको छलफल गरेका छन्।
छलफलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। आइतबारको छलफलमा अनुपस्थित शेखर भने अर्को चरणको छलफलमा सहभागी हुनेछन्।
संस्थापनइतरका अरू नेता २०७८ मंसिरको १४ औं महाधिवेशनमा पनि सँगैसँगै थिए। महामन्त्री शर्मा र केन्द्रीय सदस्य...








