२०८१ जेष्ठ ३

६ संसदीय समितिका बैठक बस्दै




काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ संसदीय समितिका बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिइनेछ ।


Advertisement


अत्यावश्यक खाद्यपदार्थ (चामल, नुन, चिनी, तरकारी) र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, बिक्री र हालको मौज्दातको अवस्थाका बारेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग छलफल गरिने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा समितिको समसामयिक विषय र भावी कार्ययोजनाका विषयमा छलफल गरिनेछ ।

साथै, बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ । समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिको कार्यप्रगतिका विषयमा पनि छलफल गरिनेछ ।

बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका विषयमा समेत छलफल गरिनेछ ।



आजै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नवनिर्वाचित समिति सभापतिलाई बधाई तथा शुभकामना दिइनेछ ।

प्रतिनिधिसभाअन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने तय छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ ।

यसैगरी, दिउँसो १ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ । बैठकमा उपसमितिबाट पेस भएका प्रस्तावसम्बन्धी, प्रदेशस्तरीय कार्यक्रमसम्बन्धी (सुदूरपश्चिम) र समितिको वार्षिक प्रतिवेदन तयारीसम्बन्धी छलफल गरिनेछ ।

यी सबै बैठक सिंहदबारस्थित ती समितिका सभाकक्षमा बस्नेछ ।

Copy link
Powered by Social Snap