आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर
१६ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा राजस्व र अन्य प्राप्तिबाट ११ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म संकलन भने ११ खर्ब १६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको भएको छ । सो वर्ष सरकारले प्राप्त हुने भनि अनुमान गरेको आयको मात्र ९४.५६ प्रतिशत उपलब्धि हो ।
लक्ष्य अनुसार सरकारले आय गर्न नसक्नुमा आर्थिक वर्षको अन्तिम चौमासमा विलासिताका वस्तुको आयातमा गरिएको कडिकडाउको प्रभाव हो । त्यसो त आन्तरिक राजस्व समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर समेत कमजोर हुँदा समग्रमा सरकारको आय प्रभावित बनेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।
सरकारले गत आवमा २ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन हुने अनुमान गरेको थियो । आर्थिक वर्षको अन्त्यमा २ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र संकलन भएको छ...









