२०८१ बैशाख १३

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै




१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ ।

विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ ।

मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार नेपालबाट पाकिस्तानका साथै चीन, इजिप्ट, थाइल्याण्ड, श्रीलंका र रुसमा विद्यार्थीहरु गएका छन् ।



Advertisement



पाकिस्तानमा ६३ जना नेपाली विद्यार्थी छात्रवृत्तिमा एमबीबीएस पढ्न गएका छन् । २०७४ मा १० जना, २०७५ मा १० जना, २०७६ मा ९ जना, २०७७ मा १० जना र २०७८ मा १० जना पाकिस्तान गएका हुन् ।

बी फार्ममा २०७४ मा ३ जना, २०७८ मा १ जना, इन्जिनियरिङतर्फ २०७४ मा १ जना, २०७५ मा ५ जना र २०७६ मा ३ जना पाकिस्तान गएका छन् । त्यस्तै बीडीएसतर्फ २०७४ मा १ जना, २०७५ मा १ जना छात्रवृत्तिमा पाकिस्तान गएका छन् ।

पाकिस्तानपछि छात्रवृत्तिमा चीन जाने विद्यार्थीको संख्या धेरै छ । इन्जिनियरिङ पढ्न २०७४ सालमा २१ जना, २०७५ सालमा २१ जना चीन गएका छन् ।

२०७६ सालमा १९ जनाले छात्रवृत्तिमा चीन जान सिफारिस लिएका छन् तर कोभिड–१९ महामारीका कारण उनीहरु नेपालमै बसेर अनलाइन कक्षामा सहभागी भएको जानकारी आएको शाखाका उपसचिव हरि खनालले बताए । २०७८ सालमा ३२ जनाले चीनमा छात्रवृत्तिमा पढ्न जाने सिफारिस लिएको तर अहिलेसम्म जाने नजाने निश्चित नभएको शाखाले बताएको छ ।

चीनमा २०७४ मा २ जना, २०७५ सालमा ४ जना अनुसन्धान तहमा अध्ययन गर्न गएका छन् । २०७६ सालमा ५ जनाले र २०७८ मा ३ जनाले सिफारिस लिएपनि गएको वा नभएको जानकारी शाखालाई छैन । २०७७ सालमा ४ जनाले कोभिड–१९ महामारीका कारण नेपालमै बसेर अनलाइन कक्षा लिइरहेका छन् ।

२०७७ सालमा फरेस्ट्री पढ्न १ जनाले सिफारिस पाएपनि चीन गएको वा नभएको शाखालाई जानकारी छैन । मानविकीमा २०७५ सालमा १ जनाले चीनमा छात्रवृत्ति पाए पनि चीन जान नपाएको र २०७६ मा छात्रवृत्ति पाएका १ जनाले अनलाइन कक्षा पढिरहेका छन् । साइन्स एन्ड टेक्नोजोली अध्ययन गर्न २०७५ सालमा ५ जना गएको शाखाले जनाएको छ ।

एग्रिकल्चरतर्फ २०७५ मा ५ जना छात्रवृत्तिमा चीन पढ्न गएका छन् । २०७६ मा २ जना, २०७७ मा २ जनाले कोभिड–१९ को कारण देखाएर चीन जान पाएनन् । उनीहरु नेपालबाटै अनलाइन कक्षा पढिरहेका छन् । २०७८ मा ४ जनाले सिफारिस पाएको तर उनीहरु सेप्टेम्बरभित्र भनिएको छ । एमडी÷एमएसतर्फ ३ जना एमडीएसतर्फ १ जना एमपीएचतर्फ २ जना विद्यार्थीले कोभिडका कारण अनलाइनमार्फत कक्षा लिइरहेको शाखाको भनाइ छ ।

इजिप्टमा इस्लामिक भाषा पढ्नको लागि २०७४ सालमा १६ जना, २०७५ मा २० जनाले छात्रवृत्ति पाएका छन् । इजिप्टमा २०७५ सालमा एमडी÷एमएस पढ्नको लागि १० जनाले, एमबीबीएसका लागि ३ जना, १ जनाले बीडीएसका र २०७६ मा लागि ३ जनाले एग्रिकल्चर (बीएससी एजी) पढ्न गएका छन् ।

थाइल्यान्डमा वातावरण विषयमा स्नातकोत्तर अध्ययन गर्न २०७४ मा २ जनाले, श्रीलंकामा स्नातक तहमा सूचना प्रविधि विषय पढ्न २०७६ मा १ जनाले सिफारिस लिएका छन् । रुसमा एमबीबीएस अध्ययनका लागि २०७४ मा १ जना इन्जिनियरिङका लागि २०७६ मा १ जनाले सिफारिस लिएका छन् ।

सरकारी छात्रवृत्तिमा पढ्न गएका विद्यार्थीहरु नफर्कने अथवा उतै बस्ने सम्भावना भने कम रहेको शाखा उपसचिव हरि खनाल बताउँछन् । उनी भन्छन् ‘सरकारी छात्रवृत्तिमा विदेश पढ्न गएकाहरुको नफर्कने समस्या एकदम न्यून हुन्छ । हाम्रो ऐनले नै उनीहरु फर्केर प्रतिवेदन बुझाएपछि मात्र प्रमाणपत्र दिइने भएकोले फुत्किने सम्भावना हुँदैन ।’

यो पछिल्लो पाँच वर्षमा अध्ययन गर्न गएकाहरुको भर्खर फर्कने बेला भइरहेको खनालले बताए । इजिप्ट पढ्न गएकाहरु फर्कन थालेको र अन्य देशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थी पनि फर्कन थालेको उनले बताए ।

Copy link
Powered by Social Snap