२०७९ भाद्र २
Advertisement

Advertisement

जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ ‘बोसा’।

बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्।

उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्।

भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्।


Advertisement


‘गमला र फूल अत्यधिक रूचाइएका छन्,’ उनले भने, ‘विशेषगरी घरभित्र राख्न मिल्ने साना बिरूवा धेरै जान्छ। प्रायः फूलसहितका साना गमला उपहार दिन लैजान्छन्। केहीले आफैं सजाउन पनि किन्छन्।’

पहिले मानिसहरू कोठाभित्र राख्न प्लास्टिकका गमला लैजान्थे। अचेल आकर्षक देखिने सेरामिक्स र माटोका गमला बढी रूचाएको पाइन्छ। पछिल्लो समय बिरूवाको महत्व र मोह बढ्दै गएको अनिललाई लाग्छ।

उनका अनुसार आफ्नो घर वरपर बिरूवा राख्दा मानसिक रूपमा ताजा हुने र उर्जा मिल्ने भन्दै लैजानेहरू धेरै छन्। सहरी क्षेत्रमा खास गरी ‘एयर प्युरिफायर’ (हावा शुद्धीकरण) बिरूवा रूचाइएको छ। कोभिड महामारीपछि त झन् अक्सिजनका लागि भनेरसमेत बिरूवा किन्ने बढेका उनले बताए।

‘पाटनकै एक जना दिदी हाम्रो नियमित ग्राहक हुनुहुन्छ। उहाँले घर-कोठाभरि बिरूवा राख्नुभएको छ। तर माइत बस्दा बिरूवा नभएकैले निसास्सिएजस्तो भएर अस्पताल नै पुग्नुपरेछ। त्यसपछि माइतका लागि भनेर फेरि बिरूवा लैजानुभयो। बिरूवासँग पनि मान्छेलाई बानी पर्ने रहेछ,’ उनले सुनाए।

बोसाका सबैजसो ग्राहक महिला नै हुन्। तर अचेल पुरुषहरूले पनि फूल, गमला र सजावट सामग्रीमा चासो दिन थालेका अनिलको अनुभव छ। सुरूसुरूमा बोसामा सँगै आएका छन् भने पनि पुरुषहरू बाहिरै बस्थे। महिला मात्रै भित्र छिरेर सामान किन्थे। आजभोलि पुरुषहरू पनि भित्र छिरेर ‘यो राम्रो छ, यो लिऊँ’ भनेर रूचि देखाउन थालेका उनी बताउँछन्।

अनिलले यो पसल सुरू गरेको तीन वर्ष भयो। यहाँबाट खासगरी माटोका भाँडा तथा गमलाको थोक बिक्री गरिन्छ। गमला मात्रै दैनिक तीनदेखि ५० वटासम्म बिक्री हुन्छ। यीसँगै टेराकोटा र सेरामिक्सकै वाटर फाउन्टेन, लाइट होल्डर, मूर्ति, चरा तथा जनावरका आकृति जस्ता हस्तकला सामग्री पनि यहाँ छन्।

उनीसँग दुईदेखि १२ इन्चका गमला छन्। जरा छोटो हुने बिरूवाका लागि सानो, लामो हुनेलाई ठूलो गमला प्रयोग गरिन्छ। उल्लू, सिलिन्डर, हात्ती, चराजस्ता विभिन्न जनावर आकृति तथा डिजाइनका गमला ४५ देखि चार हजार रूपैयाँसम्म पर्छ। मूर्तिहरू दुई सय पचासदेखि नौ हजारसम्मका छन्। गमलासहितका बिरूवा भने डेढ सयदेखि छ हजार पाँच सय रूपैयाँसम्मका पाइन्छ।

चिनियाँ र भारतीयका सामानको तुलनामा नेपाली सेरामिक्स केही महँगो छ।

यसबारे अनिल भन्छन्, ‘सुरूमा त मूल्य सुनेर ग्राहकले अनुहारै बिगार्नु हुन्थ्यो। अहिले गुणस्तर बुझ्न थालेपछि सामान्य रूपमा लिन थाल्नुभएको छ,’ अनिल भन्छन्, ‘यहाँको सामान एकपटक प्रयोग गरेपछि दाग बस्ने, कोरिने हुँदैन। पैसाअनुसार सन्तुष्टि पाउनुहुन्छ।’

पछिल्लो समय अनलाइन बजार फस्टाएसँगै अनिल फेसबुक र इन्स्टाग्राममा पनि सक्रिय छन्।

‘कोरोनाअगाडि खासै प्रभावकारी नभए पनि लकडाउनपछि सामाजिक सञ्जालबाटै हेरेर अर्डर गर्नेहरू बढे। तर हामी डेलिभरी गर्दैनौं, पसलमै आउन भन्छौं। फोटोअनुसार सामान हुन सकेन भने ग्राहकलाई चित्त बुझ्दैन। त्यसैले आफैं हेरेर, रोजेर लैजानुहोस् भन्ने धारणा हो।’

बोसा सुरू गर्नुअघि अनिल सूचना-प्रविधि क्षेत्रमा काम गर्थे। उनलाई यो क्षेत्रमा निकै रूचि थियो। सुरूमा तालिम लिएर कम्प्युटर सिकाउन थालेका उनी पछि वेबसाइट डिजाइन गर्न थालेका थिए। बानेश्वरमा उनको कार्यालय थियो, महिनाभर काम गर्दा २० हजार कमाउँथे। आठ वर्ष यही क्षेत्रमा बिताए।

विस्तारै आफन्तजनले पुर्ख्यौली पेसामै नयाँ तरिकाले काम गर्न सके आम्दानी राम्रो हुने भन्दै सुझाउन थाले। उनलाई पनि जागिरभन्दा बाबुबाजेले गरेको पेसामा फर्किने रहर जाग्यो।

‘म आइटी पढेको होइन, कमर्समा स्नातक पढ्दै थिएँ। बाजेबुबाले माटोमै जीवन सक्काउनुभयो। ह्या यो माटोको काम म त गर्दिनँ भन्ने लाग्थ्यो। तर पछि बुझ्दै जाँदा आफ्नै पेसा ठीक लाग्यो,’ उनी भन्छन्, ‘अनि यसलाई नयाँ तरिकाले अगाडि बढाउँछु भनेर फर्किएँ।’

सानामा उनी आमाबुवाले एक सुका दिन्छु भनेपछि मात्र माटो मुछ्न जान्थे। शनिबार र बिदाका दिन खुब हौसिएर काम गर्थे तर सजिलो कहाँ हुनु! पहिले माटो पातलो बनाउने, माड्ने र डल्लो बनाउने अनि फिँजाउने। यति सकेपछि बल्ल एक सुका पाउँथे। मिठाइ किनेर खान पाउने भएकाले गाह्रो भए पनि उनी तम्सिन्थे।

सानामा पैसा पाउनेबाहेक यो काममा उनलाई मोह थिएन। तर जागिरे जीवनको अनुभव लिइसकेपछि उनले बाबुबाजेले गरेकै काममा फर्किने निधो गरे। त काम छाडेको दुई वर्षसम्म के-कसरी गर्ने भनेर मेसो पाएनन्। विस्तारै बाहिरी देशमा माटाका भाँडा कसरी बन्छन्, कसरी आकर्षक बनाइन्छन् भन्नेबारे खोजबिन गर्न थाले।

यसपछि अनिलले सेरामिक्सबाट सामान बनाउने तालिम लिए। रङ भरेर आकर्षक कसरी बनाउने भनेर घोत्लिए पनि। त्यही सोचको नतिजा हो बोसा।

‘म आफैंले धेरै सामान त बनाउँदिनँ, आफ्नो परिवार र समुदायले बनाएका उत्पादन नेपाली बजारमा पुर्‍याऊँ भनेर पसल सुरू गरेको हुँ,’ उनले भने।

उनका बाजेबुबाले जीवनभर यही काम गरे। दाजुहरूदेखि काका, ठूलाबाका सन्तान यही कामबाट गुजारा चलाइरहेका छन्। परिवार र छिमेकमा बनेका माटोका सामान ठूलो बजारमा पुर्‍याउन सके आम्दानी राम्रो हुनुका साथै रोजगारी पनि सिर्जना हुने उनको विश्वास छ।

सेरामिक्सको माग नेपालभरबाट आउँछ। तर अनिलले भनेजति परिमाण र ठाउँमा पठाउन सकेका छैनन्। टुटफुटको जोखिम र पठाउने शुल्क बाधा बनेको छ। स्थानीय मध्यस्थकर्ता व्यवसायीमार्फत् बोसाका सामान, विशेषगरी भान्सामा प्रयोग हुने सेरामिक्स भने विदेश पनि पुगेको उनी बताउँछन्। 

बोसाबाट मासिक कति आम्दानी भएको छ भन्ने ठ्याक्कै हिसाबकिताब भने उनले राखेका छैनन्। तर पहिलेको जागिरको तुलनामा धेरै राम्रो भइरहेको उनको भनाइ छ।

‘मलाई काम छाडेर बेकार फर्किएछु भन्ने पछुतो छैन,’ अनिलले भने, ‘जे गरेँ, ठिक गरेँ। यो त आफूले बच्चादेखि देख्दै र गर्दै आएको काम हो। भविष्यसम्म यही गर्छु भन्ने ढुक्क पनि छ।’

उनले पसलको मासिक भाडा २५ हजार बुझाउनुपर्छ। कच्चापदार्थको खर्च बेग्लै। बिहानदेखि बेलुकासम्मै खट्नुपर्‍यो। खर्च र मेहनतअनुसार घर धान्नेगरी कमाइ भइरहेको उनी बताउँछन्।

यो पेसा हेर्दा सामान्य लागे पनि चुनौतीरहित छैन। अनिलका अनुसार सेरामिक्स भाँडा बनाउने प्रक्रिया निकै लामो हुन्छ। माटो पनि अचेल काठमाडौं उपत्यकामा पाइँदैन। दाङबाट र भारतबाट समेत ल्याउनुपर्ने उनले बताए।

समस्याका बाबजुद यो पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउने हो भने धेरैले रोजगारी पाउने उनी बताउँछन्।

‘तर माटोको काम गर्नुभन्दा मासिक दस हजारकै जागिर खाने सोच अझै बढेको छ,’ उनले भने, ‘बाबुबाजेको कामले आर्थिक सुधार नभएको देखेर वाक्क भएर धेरै पलायन भइसके। काम गर्न पनि गाह्रो छ। धुँवाधूलो, धेरै खटाइ।’

पछिल्लो समय पुरानोठिमी नगरपालिकाले माटोका काम गर्नेका घरमा सुधारिएको भट्टी बनाइदिएको छ। यसपछि धुवाँको समस्या केही कम भएको उनले बताए।

‘यो पेसामा युवालाई आकर्षित गर्न बेलाबेला तालिम दिने र आवश्यक उपकरण ल्याउन सके विश्वभरिका बजारसम्म नेपाली उत्पादन पुर्‍याउन सकिन्थ्यो। आम्दानी पनि राम्रो हुन्थ्यो,’ अनिलले भने।

Copy link
Powered by Social Snap