२०८१ बैशाख १२

नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने




१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ ।

आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको हो । नवौं खेलकुदमा सात प्रदेश, गैरआवासीय नेपाली संघसहित चारवटा विभागीय टिमको सहभागिता हुनेछ । संघले पनि विभागीय टिमको मान्यता पाएको छ ।

बैठकले एउटा टिममा अधिकतम ३३९ महिला र ३६९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने गरी कोटा निर्धारण गरेको छ । नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेलका कुल ४ सय ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सम्बन्धित जिल्ला र प्रदेशका खेलाडीलाई मात्र सहभागी गराउन पनि निर्णय गरेको छ । खेलाडी छनोटका लागि प्रदेशलाई आवश्यक बजेट उपलब्ध गराउने निर्णय पनि बैठकको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी र अफिसियलले दैनिक २ हजार भत्ता पाउनेछन् ।



Advertisement



स्वर्ण विजेतालाई २५ हजार, राष्ट्रिय कीर्तिमानको ५० हजार

नवौं खेलकुदमा स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने कार्यकारी समितिको निर्णयलाई बोर्ड बैठकले अनुमोदन गरेको छ ।
निर्णयअनुसार एकल खेलतर्फको स्वर्ण विजेताले २५ हजार रुपैयाँ र सामुहिक खेलका विजेताले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । रजत र कांस्य विजेतालाई भने पुरस्कारको व्यवस्था छैन ।

प्रतियोगिताका क्रममा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले प्रति कीर्तिमान ५० हजारका दरले प्रोत्साहन पुरस्कार पाउनेछन् ।

राखेपले यस संस्करणदेखि प्रतियोगिताको मूल ट्रफी निर्माण गर्ने घोषणा यसअघि नै गरेको छ । १० लाख मूल्यको सो रनिङ ट्रफी निर्माण प्रक्रियामा गइसकेको छ । ट्रफीलाई प्रधानमन्त्रीबाट सार्वजनिक गर्ने र सातै प्रदेश र तीन विभागीय टिमको मुख्यालयमा प्रदर्शन गरिने निर्णय भएको छ ।

राखेपका कर्मचारी प्रदेश मातहत लगिने

संघीयता कार्यान्वयन र खेलकुद ऐन लागू भएपछि कर्मचारी समायोजनको गाँठोलाई आइतबारको राखेप बोर्ड बैठकले तत्कालका लागि फुकाउने निर्णय गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि राखेपअन्तर्गत जिल्लामा कार्यरत कर्मचारीलाई प्रदेशप्रति उत्तरदायी बनाउने निर्णय भएको हो । जिल्लाका कर्मचारीले अब प्रदेश खेलकुद संरचनामातहत रहेर काम गर्नेछन् ।

राखेप कर्मचारीको सेवा र शर्तसम्बन्धी विनियम तयार गर्न बोर्ड सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन भएको छ । राखेपको भौतिक संरचना र सम्पत्ति यकिन गर्न र प्रदेशलाई हस्तान्तरणको प्रक्रियाका लागि बोर्ड सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति गठन भएको छ ।

खेल संघ विवाद र सहजीकरणका लागि राखेप उपाध्यक्ष शिव कोइरालामा बनेको समितिलाई निरन्तरता दिने निर्णय भएको छ । यसअघि मन्त्रीस्तरीय निर्णयबाट उनले जिम्मेबारी पाएका थिए ।

खेलाडीका लागि छात्राबास निर्माण गर्ने, राखेपको फिटनेस सेन्टर स्थापना गर्ने र आसन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक बजेट व्यवस्था र तयारी गर्ने निर्णय आइतबारको बैठकले गरेको छ ।

Copy link
Powered by Social Snap