यसपालि ३६६ दिनको वर्ष : ‘लीप यिअर’ गणना गर्ने चलन नभएको भए के हुन्थ्यो
यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर सन् २०२४ मा वर्ष ३६६ दिन हुने छन्।
वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’ अर्थात् 'अधिवर्ष' भनिन्छ।
यो वर्ष थपिएको एक दिन अङ्ग्रेजी पात्रोको सबैभन्दा छोटो महिनामा पर्छ।
फेब्रुअरी २९ लाई 'लीप डे' अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ।
सामान्यतया लीप यिअर हरेक चार वर्षमा आउँछ। यसअघि सन् २०२० मा लीप यिअर थियो भने अब सन् २०२८ मा अर्को लीप यिअर आउँछ।
यद्यपि यससँग सम्बन्धित नियममा केही अपवाद छन्।
त्यसबारे हामी अन्त्यमा विश्वभरि लीप यिअर मनाउने परम्परासँगै चर्चा गर्ने छौँ।
लीप यिअर किन हुन्छ?
एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ। त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न ल...









