२०८० फाल्गुन १३

कुनै शिक्षकले किन राम्रो पढाउँछन्, के हो रहस्य? : प्रविज्ञ रेग्मी




Credit from Publisher : First published on Setopati Mangsir 13th 2080

यो लेख सुरू गर्नुअघि आदरणीय टुकबहादुर विश्वकर्मा सरलाई स्मरण गर्छु।

उहाँ ग्रामीण विद्यालयको एक विज्ञ गणित शिक्षक हुनु हुन्थ्यो। त्यो बेला एसएलसी परीक्षामा थोरै विद्यार्थीहरू उत्तीर्ण हुन्थे। एउटा कुराले हामीलाई अचम्मित गर्थ्यो। धेरै विषयमा एसएलसी अनुत्तीर्ण हुने विद्यार्थीले पनि कठिन मानिने गणितमा असीभन्दा माथि वा त्यसको हाराहारी अंक ल्याउँथे। त्यस विद्यालयमा गणित सबै विद्यार्थीका लागि सहज विषय थियो।


Advertisement


विद्यार्थीहरू टुक सरसँग पढ्न उत्साहित हुन्थे। नजान्नेले पनि एक महिनाभित्रै आत्मविश्वास प्राप्त गर्थे, सफल बन्थे।

के थियो यसको रहस्य?

यही रहस्यको विवेचना यस लेखमा गरेको छु। ती उच्च श्रेणीका शिक्षकका अन्तरनिहीत पक्षहरूमा प्रकाश पार्नेछु।

शिक्षकको बाह्य स्वरूप र कक्षामा गरिने क्रियाकलाप मात्रले प्रभावकारी शिक्षण हुँदैन। प्रक्रिया पूरा गर्दैमा मात्र विद्यार्थीमा ज्ञान स्थापित नहुने रहेछ। शिक्षकले शक्ति र हठ जमाएर अथवा बलपूर्वक उत्प्रेरणा जगाएर पनि शिक्षण प्रभावकारी नहुने अध्ययनले देखाउँछ।

शिक्षकले कक्षामा एकतर्फी मेहनत गरेर मात्र विद्यार्थी उपलब्धि हात लाग्ने रहेनछ। वर्षाैंको शिक्षण अनुभव हुँदा पनि शिक्षकमा के पुगेन भन्ने प्रश्न ज्युँकात्युँ रहेको अवस्था धेरैमा छ।

विज्ञ शिक्षकका दुइटा आयाम छन्।
पहिलो आयाम, शिक्षकको विषयगतवृत्ति वा गुण हो।

दोस्रो, शिक्षणको विधि हो।

सफल शिक्षकमा यी दुवै पक्षका अनिवार्य संयोजन हुन्छन्।

शिक्षकको सफलतालाई जीवन दिने पक्ष शिक्षकको आफ्नै विषयगतवृत्ति हो। विषयगतवृत्ति भन्नाले उक्त शिक्षकका स्वभावका समग्रताहरूबाट निर्मित गुणका कार्यात्मक समूह हुन्, ती अमूर्त हुन्छन्।

व्यक्ति विशेषका यिनै आत्मगत गुणहरूले शिक्षण प्रभावकारितालाई मार्गनिर्देशन गर्छन्।

शिक्षणप्रतिको अनुराग (प्यासन) लाई शिक्षाविदहरूले प्राथमिक विषयगतवृत्तिका रूपमा प्रस्ट्याउँछन्। अनुसन्धानले यसलाई शिक्षक सफलताको आधारभूत कारक तत्वका रूपमा देखाएको छ।

शिक्षण अनुराग अति संक्रामक हुन्छ। यसले विद्यार्थीहरूको भित्री मनस्थितिमा सिक्नुपर्छ भन्ने ऊर्जा प्रज्वलन गर्छ। वास्तविक इच्छा पैदा गर्छ। विद्यार्थी प्रेरित हुन्छन् र सिकाइको वास्तविक आधार तयार गर्छन्।



शिक्षण अनुरागले विद्यार्थीहरूलाई ज्ञानको प्रक्रियामा संरेखित गर्छ। मानसिक तयारीलाई प्रवर्तन गर्छ। शिक्षकको विचारसँग विद्यार्थीले अनुनाद पैदा गर्छन्।

यही अनुरागले नै विद्यार्थीमा शिक्षकप्रति एक किसिमको रचनात्मक सम्मोहनको विकास गर्छ। शिक्षक विद्यार्थीका प्रिय बन्छन्। सिकाइको वातावरण प्रवाहित हुन्छ। दहकसले स्थान पाउँदैन र शिक्षणमा सूचनाको आदानप्रदानले तीव्रता पाउँछ।

यो अवस्था विद्यार्थी शिक्षा प्राप्त गर्न तत्पर भएको चरणका रूपमा स्थापित हुन्छ। यहाँबाट शिक्षकको प्रभावशाली अध्यापनको सफल सुरूआत हुन्छ।

यस्तै, शिक्षकको विषय विज्ञता शिक्षणको आधार रेखा हो। शिक्षक आफूले पढाउने विषयमा कति पारंगत छ भन्ने कुराले उसको ज्ञानको गहनता परिभाषित गर्छ। शिक्षकको विषय दक्षताले विद्यार्थीमा शिक्षकप्रति उसलाई सिकाउन सक्छ भन्ने विश्वास विकास गर्छ।

शिक्षकको विषय विज्ञतालाई अलि फरक ढंगले बुझौं।

विषय दक्षता शिक्षकको त्यस विषयमा भएको कोरा ज्ञान मात्र होइन, शिक्षकले त्यो ज्ञानलाई दिएको विशिष्ठ र सार्थक महत्व हो। उसमा हुने त्यस ज्ञानको अनुभव हो। शिक्षण गरिने ज्ञानको गहिराइसँगको शिक्षकको भावनात्मक समबन्ध हो। शिक्षकको यो अनुभूति पनि अनुरागजस्तै संक्रामक हुन्छ। भावनाबाटै विद्यार्थीमा विस्तार हुन्छ।

विषय विज्ञ शिक्षक फरक प्रवृत्तिका हुन्छन्। शिक्षणका सबै यान्त्रिक कार्यहरूलाई उनीहरूले ज्ञान प्रक्रियामा आवेशित गर्छन् र जीवन्त बनाउँछन्।

अन्यले ज्ञानको जटिलतालाई आधार मानेर विद्यार्थीले सिक्न सक्दैनन् कि भन्ने अवधारणा विकास गर्छन्। यसकारण उनीहरूमा विद्यार्थी उपलब्धिको अपेक्षा न्यून रहन्छ। यस अवस्थामा सक्षम विद्यार्थीले पनि औसतभन्दा कम उपलब्धि हासिल गरेको अध्ययनले देखाउँछन्।

विज्ञ शिक्षकहरूले उनका कस्ता अनुभवले विद्यार्थीमा अपेक्षाकृत परिवर्तन ल्यायो र ल्याउन सक्छ भन्ने तथ्य केन्द्रमा राख्छन्। यसरी उनीहरू अनुभवले क्रमशः खारिँदै आफ्नो शिक्षण खुबीलाई तिखार्छन्।

शिक्षकको विषय दक्षताले विद्यार्थीमा बौद्धिक उत्तेजना (स्टिमुलेसन) सिर्जना गर्दै सिकाइप्रति आन्तरिक उत्प्रेरणा (इन्ट्रिन्सिक मोटिभेसन) पैदा गर्ने अनुसन्धानले देखाउँछ। शिक्षकले पढाउने विषयलाई त्यस ज्ञानको प्रशंसा सहितको सरल र उत्सुकतापूर्ण प्रस्तुतिले मात्र पनि त्यो विषय विद्यार्थीलाई रूचिकर बनाइदिन्छ।

शिक्षकले जगाइदिने आन्तरिक उत्प्रेरणाका कारण विद्यार्थीहरूले कठिन मानेको विषयमा पनि आत्मविश्वास हासिल गर्छन्। सिकाइ प्रतिरोध शून्य बन्छ। निर्देशनबिनै विद्यार्थीहरू हौसलाका साथ बौद्धिक परिश्रममा उद्यत हुन्छन्।

उदाहरण गणित नै लिऔं।

विद्यार्थीहरूले कठिन मानेको उक्त क्षेत्रमा जब शिक्षकले विद्यार्थीमा आन्तरिक अभिप्रेरणा जगाउँछन्, उनीहरू त्यही विषयमा विशिष्ट रूपमा आकर्षित हुन्छन्। यो हुनासाथ विद्यार्थी स्वस्फूर्त भएर गणितका अभ्यास सुरू गर्छन्। अभ्यासबाट उपलब्धि हासिल गर्छन्। हौसला अझै बढ्छ। कसैले नभनी नै उनीहरू कार्य उन्मुख हुन्छन्। यो आन्तरिक रूपमा प्रेरित भएको अवस्था हो।

यसरी शिक्षकले कुनै विषय विशेषमा आन्तरिक उत्प्रेरणा जगाइदिँदा त्यही विषय नै विद्यार्थीको पछिसम्मको इष्ट, अभिरूचिपूर्ण र सरल विषय बन्छ। यसरी शिक्षकको विषय गहनताले परोक्ष रूपमा विद्यार्थीमा त्यो विषय सिक्ने प्रेरणा प्रस्फुटित गरिदिन्छ र त्यसमा सिकाइको प्रेम बसालिदिन्छ।

शिक्षकका अन्य व्यक्तिगत गुणहरूले पनि शिक्षणमा प्रभावकारी भूमिका खेल्छन्। त्यसमा विद्यार्थीप्रतिको समानुभूति, लचिलोपन र धैर्य मुख्य छन्।

यीमध्ये समानुभूति प्रमुख हो। समानुभूति अभ्यासमा शिक्षकले आफूलाई विद्यार्थीको स्थानमा राखेर उसका अप्ठ्याराहरूलाई नियाल्ने गर्छन् र त्यसअनुरूप धैर्यसाथ लचिलो बनिदिन्छन्। विद्यार्थी यस अवस्थामा आफ्ना शिक्षकले आफूलाई बुझेको अनुभव गर्छन् र शिक्षकसँग न्यानो सम्बन्ध स्थापित गर्छन्। यसले सिकाइलाई झनै सहज बनाउँछ।

उच्च अपेक्षा प्रभावकारी शिक्षकको अचुक अस्त्र हो। यसमा शिक्षकले विद्यार्थीलाई उनीहरूको बौद्धिक स्तरले सहजै समाधान गर्नेभन्दा थप चुनौती दिन्छन् र यो चुनौती विद्यार्थीले थेग्न सक्छन् र परिणाम ल्याउँछन् भन्ने विश्वास स्थापित गरिदिन्छन्। यसले विद्यार्थीलाई बौद्धिक सफलता हासिल गर्न उत्प्रेरित गर्छ।

उच्च अपेक्षालाई हार्वर्ड विश्वविद्यालयका प्रोफेसर रोजेन्थाल र प्राचार्य जेकोबसनको एक अनुसन्धानले पुष्टि गर्छ। यो ‘पिग्मालियोन प्रभाव’ भनेर प्रसिद्ध छ।

यस अनुसन्धानमा हचुवामा एकै योग्यता भएका विद्यार्थीहरूलाई सक्षम र असक्षम भनी दुई समूहमा छुट्टयाइयो। एकै शिक्षण अवस्थामा उनीहरूलाई राखियो। परिणाम हेर्दा सक्षम मानिएकाको उपलब्धि उच्च देखियो।

यही प्रयोग धेरै ठाउँमा गरियो, परिणाम उही आयो।

ती औसत विद्यार्थीमध्ये जान्ने भनिएका विद्यार्थीमा आफू तीक्ष्ण छु र सहजै सिक्न सक्छु भन्ने आँटले उनीहरूको उपलब्धिमा फरक पारेको अनुसन्धानले देखाउँछ। यही आँट वा विश्वास नै विज्ञ शिक्षकहरूले विद्यार्थीमा कायम गरिदिन्छन्। परिणाम नसोचेको विद्यार्थीले पनि उच्च ल्याउँछ।

यहाँ उल्लेख्य कुरा के छ भने यस्ता शिक्षकले ती विद्यार्थीहरूलाई उच्च उपलब्धिको विश्वास जगाउँदा शिक्षक स्वयं पनि तिनले उच्च उपलब्धि हासिल गर्न सक्छन् भन्ने विश्वास राख्छन्। यसरी विश्वास र कार्यलाई चक्रीय रूपमा सन्तुलन गर्दै शिक्षकले विद्यार्थीसँगको उच्च अपेक्षा स्थापित गर्छन्।

उच्च अपेक्षा राख्ने शिक्षकले आफ्ना अपेक्षाहरू विद्यार्थीलाई स्पष्ट गरिदिन्छन्। विद्यार्थीहरू त्यो परिभाषित विन्दुमा पुग्नुको विकल्प नरहेको छर्लंग पारिदिन्छन्। यसले विद्यार्थीहरूलाई गन्तव्यबोध हुन्छ।

यी शिक्षकहरू संघर्षरत र औसत विद्यार्थीमा भेदभाव गर्दैनन्। औसत तर संघर्षरतलाई असक्षम मानेर उपेक्षा गर्दैनन्। समताका आधारमा शिक्षण विभेदीकरणका अभ्यास गर्दै अध्यापन गर्छन्। उच्च श्रेणीका शिक्षकमा भएको यस्तो स्थिर दृढताले संघर्षरतलाई मूलधारमा ल्याउँछ।

यस अलावा प्रभावशाली शिक्षकहरूले आफू र विद्यार्थीबीच शक्तिको अभ्यास गर्दैनन्। यी शिक्षकहरू पारस्परिकतालाई आधार बनाएर कक्षामा निर्भयको वातावरण सिर्जना गर्दै पठनपाठन मैत्रीपूर्ण बनाउँछन्। कठोरताले स्थान पाउँदैन। तर विद्यार्थी र शिक्षकबीचको लक्ष्मण रेखालाई दुवै पक्षले सम्मान गर्ने वातावरण निर्माण गरी सहज ढंगले अनुशासन स्थापित गर्छन्।

अब दोस्रो पाटोमा, विधि शास्त्रको ज्ञानमा प्रवेश गरौं।

धेरै शिक्षकले ज्ञानलाई केन्द्रविन्दुमा राख्छन्। यसो गर्दा शिक्षण जटिल बन्छ। यसलाई उल्टयाएर शिक्षण विधिलाई केन्द्रमा राख्नुपर्छ। ज्ञान साध्य हो र प्रक्रिया वा विधि साधन हो। यसर्थ सही प्रक्रिया अपनाएमा ज्ञान स्वतः प्राप्त हुन्छ। यही विधि शास्त्रको वास्तविक प्रयोग हो।

लक्ष्यसहितको अध्यापन क्रियाकलाप वा शिक्षण विधिले विद्यार्थीलाई सिकाइको मूलधारमा ल्याउँछ। विद्यार्थी केन्द्रित शिक्षण बन्छ। विद्यार्थीले ज्ञान आर्जनको स्वयं नियमन गर्न सक्षम हुन्छन् र यसको मौका पाउँछन्। शिक्षकले अन्य चिन्ता लिनु पर्दैन।

विद्यार्थीले गर्ने अन्वेषण र मौलिक चिन्तनलाई केन्द्रमा राखेर पाठ्यपुस्तक र शिक्षण सामग्रीलाई औजारका रूपमा लिनुपर्छ। तिनलाई प्रक्रियामा प्रयोग गर्नुपर्छ। यसले शिक्षणलाई गहिरो र विस्तृत बनाउँछ।

विधि शास्त्रमा पाइने सयौं तरिकाबाट विषय विशेष सिकाइ प्रक्रियालाई उचित प्रयोग गरे शिक्षण प्रभावकारी हुने अध्ययनले देखाउँछ। तसर्थ विज्ञ शिक्षकहरू पाठ योजनामा धेरै समय दिने र कक्षामा विद्यार्थीलाई त्यसअनुरूप काममा तल्लीन गराउँछन्।

शिक्षण वास्तवमा संगीतजस्तै कला हो। के लय सिकाउनेभन्दा कसरी सिकाउने भन्ने खुबीले शिक्षक प्रभावकारी बन्छन्। ताल र सुर मिल्नासाथ सुमधुर धून पैदा भएजस्तै शिक्षा शिक्षण सजिलै लयबद्ध बन्छ। सफल शिक्षक यस्तै कलाकार हो।

यही हो टुकबहादुर सरजस्तै शिक्षकको खुबी जसले परिवर्तन ल्याउँछ। व्यक्ति र समाजलाई प्रत्यक्ष योगदान दिन्छ।

Copy link
Powered by Social Snap