जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।
राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।
२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।
Advertisement
पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उन...









