२०८१ बैशाख १३

कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन् । झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन् । तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा बेडसिट, गाउन, पीपीई धुने काममा दैनिक खटिएका जनशक्ति भने धेरैको नजरबाट ओझेलमा परेका देखिन्छन् ।


Advertisement


जबकि चिकित्सक, स्वास्थ्यकर्मीले प्रयोग गरेका त्यस्ता सामान धुने, संक्रमित बिरामीले प्रयोग गरेका ‘बेड कभर’ लगायतका वस्तु सफा गर्ने, अस्पतालमा सरसफाइ गर्ने उनीहरु दैनिक कोरोना संक्रमणको जोखिम मोलेर स्वास्थ्यकर्मीजत्तिकै खटिएका हुन्छन् । तर मानिसका नजरमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी पर्दा अगाडि देखिन्छन् भने यस्ता सफाइकर्मीहरु सधैँ पर्दा पछाडि रहने गरेका छन् ।

कोरोनाभाइरस संक्रमित बिरामीले प्रयोग गरेको गाउन, बेड कभर, सिरानीको खोल, पातला खालका ब्ल्याङ्केट, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई संकलन गरेर धुन लैजाने र पुनः प्रयोगका लागि वार्डमा पु¥याउन त्यस्ता कर्मचारी दैनिक खटिएका हुन्छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कोभिड वार्डमा बिरामीको चाप बढेपछि लुगा सफाइका लागि मेसिन, कर्मचारीसमेत थप गरिएको छ । कोभिड वार्डमा प्रयोग भएका लुगा सफाइका लागि चौबिसैघण्टा कर्मचारी खटिने गरेका छन् ।

यिनै कर्मचारीमध्ये एक हुन् नुवाकोटका सुमन पाण्डे । २१ वर्षीय पाण्डे अस्पतालमा अरुसरह दैनिक ८ घण्टा ड्युटी गर्छन् ।

कोभिड वार्डमा प्रयोग भएका कपडा लगायत धुन मिल्ने सामानहरु धोइपखाली गर्ने काममा उनी खटिएको एक महिनामात्रै भएको छ । तर यो एक महिनाको हरेक पल उनी जोखिम मोलेर काम गरिरहेका छन् ।

सुरुमा त उनलाई यस्तो कामबाट कतै आफू संक्रमित हुने त होइन भन्ने डर पनि निकै लाग्थ्यो । तर अचेल उनमा आत्मविश्वास बढिसकेको छ ।

‘कोभिड वार्डका प्रयोग भएका लुगा सफाइमा लाग्नु गाह्रो काम रहेछ,’ उनले भने, ‘ड्युटी अवधि ८ घण्टासम्म पीपीई सेट लगाएर सकेसम्म सुरक्षित भएर काम गरिन्छ तर पीपीई लगाएर सुरक्षित तवरले काम गर्नुपर्दा तिर्खा लाग्दा पानी, भोक लाग्दा खाजा खान पाइँदैन ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा यस्तै सरसफाइको काम गर्दै आएकी कमला खतिवडा पनि आफ्नो कामप्रति सन्तुष्ट छिन् । तर जोखिम मोलेर आफूहरुले गरेको कामले महत्त्व नपाएको उनको गुनासो छ । ‘हामीले यसरी ज्यान जोखिममा राखेर गरेको कामलाई कतिपयले त काम नै ठान्दैनन्,’ उनले भनिन् ।

कोभिड बिरामी र उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई, गाउन लगायतको सफाइमा दिनरात नभनी आफुहरु लागे पनि यस्तो कामलाई धेरैले राम्रो दृष्टिले नहेर्ने उनको गुनासो छ ।

तालिकाअनुसार सबैले ड्युटी गर्नुपर्ने भएकाले कहिले बिहान, कहिले दिउँसो, कहिले राति आफ्नो पालोपर्ने उनले बताइन् । निषेधाज्ञाका कारण टोल, छरछिमेकमा सबैजसो मानिस घरमै रहने गरेको अवस्थामा आफूहरु आफ्नो पालोअनुसार विभिन्न समयमा ड्युटीका लागि घरबाट निस्कनुपर्ने उनले सुनाइन् ।

उनले भनिन्, ‘छिमेकीहरुले कता हिँडेकी भनेर सोध्छन्, अस्पतालमा ड्युटी छ भनेर जवाफ दिँदा उनीहरुले डाक्टर हो कि नर्स हो भनेर सोध्छन् ।’ अस्पतालमा काम गर्ने भनेकै डाक्टर र नर्समात्र हो भन्नेजस्तो मान्यता समाजमा रहेको उनको भनाइ छ ।

आफूले उनीहरुलाई ‘कोभिड वार्डको लुगा धुने काम गर्छु’ भनेर नढाँटी जवाफ दिने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘मेरो कुरा सुनेपछि उनीहरु जिब्रो टोक्छन् ।’

घरमा ७० वर्ष काटीसकेकी आमा भएकाले कोरोना महामारीको सुरुवाती समयमा उनी निकै त्रसित थिइन् । दैनिक कोरोना संक्रमितले प्रयोग गरेका लुगाकै सफाइमा जुट्नुपर्ने भएकाले कतै आफूलाई पनि संक्रमण त हुने होइन, आफ्नो कारण परिवारका सदस्यहरु असुरक्षित हुने त होइनन् भन्ने चिन्ताले सुरुसुरुमा निकै सताएको उनले सुनाइन् ।

तर, कोभिड वार्ड भरिएर बेड अभावमा पेटीमा पल्टेका बिरामीलाई बचाउन डाक्टर, नर्सहरु दिनरात खटिएको देख्दा आफूमा पनि जोखिम मोलेरै काम गर्ने प्रेरणा जागेको उनले बताइन् ।

जोखिम भत्तामा भेदभाव

यसरी कोरोना महामारीका बीच अस्पतालमा दिनरात खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले समान जोखिम मोलेर, उत्तिकै मेहनत र जिम्मेवारीका साथ काम गरे पनि जोखिम भत्ता दिने सवालमा भने भेदभाव देखिएको छ । अझ, एउटै काम गर्ने कर्मचारीबीच पनि जोखिम भत्तामा भेदभाव रहेको सम्बन्धित कर्मचारीहरु बताउँछन् ।

उनीहरु भन्छन्, ‘पद तथा तहअनुसार भत्तामा असमानता हुनुसम्म त ठिकै होला, तर सुरुदेखि काम गर्नेलाई कम भत्ता दिने त्यही लेबलको काम गर्ने तर पछि नियुक्ति पाएकालाई धेरै भत्ता दिएको पाइएको छ ।’

जोखिम भत्ता दिने सवालमा अस्पतालले असमान व्यवहार गरेको उनीहरुको भनाइ छ ।

अस्पतालले यस्ता कर्मचारीको कोरोना बिमा गरिदिए पनि संक्रमित भएपछि बिमाबापत पाउनुपर्ने रकम १ लाखमध्ये ८० हजारमात्रै पाएको रमेश रम्तेल बताउँछन् । ‘हामीले बिमा कम्पनीलाई किन ८० हजारमात्रै हाम्रो खातामा आयो भनेर सोध्यौँ,’ उनी भन्छन्, ‘बिमा कम्पनीले एक लाख नै पठाएको दाबी गर्दै कम पैसा पाएको भए कार्यालयमा निवेदन दिन भनेको छ ।’

सफाइकर्मी संक्रमणको उच्च जोखिममा

महामारीमा ज्यान जोखिममा राखेर अस्पतालमा चिकित्सक, नर्सझैं दिनरात खटिने सफाइ कर्मचारीहरु जोखिम मोलेर काम गरिरहेका छन् । तर संक्रमितको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, संक्रमित बिरामीले प्रयोग गरेका बेड कभर, सिरानीको खोल लगायतका लुगाफाटो धुने ‘फ्रन्टलाइनर’ स्वाभाविक रुपमा संक्रमणको जोखिममा हुन्छन् । कतिपयले सुरक्षा सामग्री प्रयोगबिना नै काम गर्दै आएको गुनासो गरेका छन् ।

टिचिङ अस्पतालको कोभिड वार्डमा बिरामी, डाक्टर, नर्स र स्वास्थ्यकर्मीले उपचारको क्रममा पहिरिने पीपीई, गाउन, बेडका कबर आदि लुगा सफाइको लागि छुट्टै लाउन्ड्री स्थापना गरे पनि त्यहाँ कार्यरत कतिपय कर्मचारीले सुरक्षा सामग्री प्रयोग नगर्दा जोखिम बढेको हो ।

‘दिनरात यही कोभिड वार्डमा प्रयोग गरिएका लुगा छुने हुँदा कोरोनाभाइरस सामान्य हो जस्तो लाग्न थालिसकेको छ हामीलाई,’ कर्मचारी रमेश रम्तेल भन्छन्, ‘लुगा धुने मेसिनमा भाइरस मार्ने औषधि, सरफ लगायतका सामग्री राख्छौं तर लुगा ल्याउँदा र पु¥याउन जाँदा संक्रमण सर्ने सम्भावना उच्च हुन्छ ।’

कोभिड वार्डको लुगा सफाइ गर्ने प्रायः सबै कर्मचारी एक पटक संक्रमित भइसकेको उनीहरुले सुनाए । कोरोनाविरुद्धको खोप लगाएकाले पुनः संक्रमणको त्रास अलि कम भएको उनीहरुको भनाइ छ ।

विगतमा एक वर्षदेखि कोभिड वार्डमा प्रयोग भएका लुगा सफाइ गर्ने क्रममा सावधानी अपनाउँदा अपनाउँदै पनि धेरैजना संक्रमित भएको कर्मचारी अनिस मगर बताउँछन् ।

विशेष गरेर कोभिड वार्डमा कार्यरत सफाइकर्मी, लाउन्ड्रीमा कार्यरत कर्मचारीले कार्यक्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको उच्च जोखिम रहेको उनी स्वीकार गर्छन् ।

Copy link
Powered by Social Snap