२०८१ बैशाख ७

यो कुकुरले पत्ता लगाउन सक्छ कोरोना संक्रमण, अध्ययन भन्छ- पिसिआरभन्दा छिटो र प्रभावकारी

थाइल्यान्डमा कोरोना परीक्षण गर्न प्रयोग गरिने कुकुरहरू। तस्बिर: न्यूयोर्क टाइम्स

एक खास नश्लको कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ।

ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ।

अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ। यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने अनुसन्धाता बताउँछन्।

पछिल्लोचोटि थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले छवटा कुकुरबाट कोरोना परीक्षण गराएको थियो। यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको विश्वविद्यालयले जनाएको छ।

बैंककमा कोरोना परीक्षण गर्न बबी, ब्राभो, एन्जेल, एपोलो, टाइगर र नासा नामका छवटा ल्याब्रडोर कुकुरलाई तालिम दिइँदैछ। यी छवटै कुकुरले एउटै समूहमा रहेर काम गर्दैछन्।


Advertisement


यी कुकुरलाई छ जना प्रशिक्षकले छुट्टाछुट्टै तालिम दिएका थिए। यसका लागि संक्रमित व्यक्तिको काखी वा उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ। त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ। कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ। त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ। 

एकमहिने तालिम क्रममा ती कुकुरलाई दिनको झन्डै ६ सय जना व्यक्तिको पसिना सुँघाइन्थ्यो। यसरी सुँघेपछि कोभिड भाइरसको गन्ध भेटिएको संकेत दिन कुकुर चुप्प लागेर बस्थ्यो। अरू बेला विशेष तरिकाले संकेत दिन्थ्यो।

कुकुरहरूले गरेको परीक्षण ९६.२ प्रतिशत मिलेको विश्वविद्यालयका अनुसन्धाताहरूले बताएका छन्। यसअघि जर्मनी र संयुक्त अरब इमिरेट्समा पनि उत्साहजनक नतिजा आएको थियो।

पछिल्लो समय विभिन्न देशका विमानस्थलले कोरोना परीक्षण गर्न ज्वरो नाप्ने, स्वाब जाँच्ने, र्‍याल परीक्षण गर्ने लगायत विधि अपनाउँदै आएका छन्। यस्ता विधिबाट नतिजा आउन समय लाग्छ। कुनै व्यक्ति कोरोना संक्रमित हो कि होइन तुरुन्तै थाहा पाउन सकिँदैन। लक्षण देखिएको छैन भने पत्ता लगाउन झनै गाह्रो हुन्छ। 

उदाहरणका लागि, भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै सबैलाई ज्वरो आउँदैन। कसै–कसैलाई त ज्वरो आउँदै नआउन सक्छ। यस्तो अवस्थामा तापक्रम मात्र जाँचेर कोरोना लागेको छ कि छैन थाहा हुन्न।

थाइल्यान्डमा कोरोना परीक्षण गर्न कुकुरलाई तालिम दिइँदै। तस्बिर: न्यूयोर्क टाइम्स

कुकुरको प्रयोग अन्य विधिभन्दा सजिलो, सस्तो र प्रभावकारी भएको अनुसन्धाता बताउँछन्। उनीहरूका अनुसार भाइरस छिर्नेबित्तिकै फोक्सो र श्वासनलीमा असर पार्छ। यस्तो बेला एउटा विशेष खालको गन्ध निस्किन्छ, जुन तालिमप्राप्त कुकुरले पत्ता लगाउन सक्छ।

अहिलेसम्म त्यस्ता कुकुरलाई कोरोना परीक्षण गर्न सिकाइएको छ, जसले विष्फोटक पदार्थ, गैरकानुनी लागुऔषध, पैसा, रगत लगायत वस्तु सुँघेर पत्ता लगाउने तालिम लिएका छन्। त्यस्ता कुकुरबाट कोरोना जाँच्दा पिसिआर वा एन्टिजेन परीक्षणभन्दा छिटो नतिजा आउने अनुसन्धाताको भनाइ छ। यो पिसिआर वा एन्टिजेनभन्दा सस्तो पनि पर्छ।

कुकुरले शंकास्पद व्यक्तिको पसिना वा उसले प्रयोग गरेको कुनै चिज सुँघेर त्यसबाट आउने गन्धका आधारमा कोरोना संक्रमण भए–नभएको छुट्टयाउँछ।

‘पिसिआर परीक्षणले तुरुन्तै नतिजा दिँदैन। भर्खरै संक्रमण भएको व्यक्तिमा त यस्तो परीक्षणले गलत नतिजा दिने सम्भावना उत्तिकै हुन्छ,’ अस्ट्रेलियाको एडलेड विश्वविद्यालयका भेटेरिनरी विशेषज्ञ डा. एने–लिसे चेबरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘कुकुरहरूले भने संक्रमण भएको सुरूआती दिनमै भाइरसको गन्ध पत्ता लगाउँछन्।’

डा. चेबर छ महिनादेखि कुकुरबाट कोरोना परीक्षण गर्ने अनुसन्धानमा संलग्न छन्।

कुकुर, बिरालोजस्ता घरपालुवा जनावरमा कोरोना संक्रमण भएका घटना विरलै पाइएका छन्। कोभिड बिरामीसँगै उठबस गर्दा पनि धेरैजसो अवस्थामा यी जनावरमा भाइरस सरेको छैन। घरपालुवा जनावरले मान्छेमा भाइरस सारेको प्रमाणित घटना पनि फेला परेको छैन। यसले कुकुरबाट कोरोना परीक्षणको अनुसन्धान गर्न सहज भएको वैज्ञानिकहरू बताउँछन्।

यसअघि जर्मनीको विमानस्थलमा यात्रुहरूको कोरोना परीक्षण गर्न कुकुर प्रयोग गरिएको थियो। यात्रुहरू विमानस्थल प्रवेश गरेसँगै उनीहरूलाई मुख र घाँटी पुछ्न लगाइन्थ्यो। यसरी पुछ्दा पसिनाको गन्ध टिस्यू पेपरमा सर्छ। यात्रुले त्यो पेपर डब्बामा राखेपछि कुकुरको काम सुरू हुन्थ्यो।

अध्ययनकर्ताका अनुसार तालिमप्राप्त कुकुरले त्यो टिस्यू पेपर सुँघेर दस सेकेन्डमै संक्रमित व्यक्ति पत्ता लगाएको थियो। कुकुरले सुँघेर पत्ता लगाएको संक्रमित यात्रुलाई तुरुन्तै विमानस्थलको स्वास्थ्य केन्द्रमा पिसिआर परीक्षण गर्न पठाइन्थ्यो।

कुकुरको सुँघ्ने क्षमता तीखो हुन्छ। त्यही भएर लामो समयदेखि विमानस्थलमा बम, लागुपदार्थ र अन्य वस्तु जाँच्न कुकुर प्रयोग गरिँदै आएको छ। कतिपय नश्लका कुकुरमा क्यान्सर, मधुमेह, पार्किन्सन, मलेरिया लगायत रोग पत्ता लगाउने क्षमता रहेको अनुसन्धानबाट पुष्टि भएको छ। ल्याब्रडोर जातका कुकुर यस्तो काममा चलाख मानिएको छ।

यो जातको कुकुर निकै महँगो हुन्छ। थाइल्यान्डमा एउटाको मूल्य करिब दुई हजार डलर पर्छ। यसबाहेक कुकुरबाट कोरोना परीक्षण गराउन अरू जे–जे चिज चाहिन्छ, त्यसको दाम भने निकै सस्तो हुन्छ। थाइल्यान्डको सन्दर्भमा भन्दा यसमा प्रयोग हुने कपास र अन्य उपकरणको लागत जोड्दा एउटा परीक्षणको खर्च एक डलर पनि पर्दैन।

थाइल्यान्डमा अहिले तीनवटा तालिमप्राप्त कुकुरलाई मलेसियासँग जोडिएको दक्षिणी सीमावर्ति क्षेत्रमा परिचालन गरिएको छ। यही सीमाबाट पछिल्लो समय कोभिड–१९ को नयाँ प्रकार थाइल्यान्ड प्रवेश गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, यी तालिमप्राप्त कुकुरलाई कोरोना परीक्षण केन्द्रसम्म सजिलै जान नसक्ने वृद्धवृद्धा र शारीरिक रूपले अशक्त व्यक्तिको कोभिड परीक्षणमा समेत खटाइएका छन्। सहरका कारागारमा पनि कुकुरबाट कोराना परीक्षण गराउने कार्यक्रम छ। पछिल्लो समय कारागारमा ठूलो संख्या कोभिड संक्रमण पुष्टि भएको छ।

थाइल्यान्डमा केही समययता कोरोना महामारीको नयाँ लहर फैलिएको छ। यहाँ कोरोना खोप पनि पर्याप्त उपलब्ध छैन। अहिलेसम्म कुल जनसंख्याको दुई प्रतिशतभन्दा कमले खोप लगाएका छन्।

अमेरिकामा पनि निजी रूपले सञ्चालन गरिएका समारोहहरूमा कोभिड–१९ परीक्षण गर्न कुकुर प्रयोग गर्न थालिएको छ। अमेरिकामा कुकुरबाट कोरोना परीक्षण गराउने सरकारी कार्यक्रम भने छैन।

विभिन्न देशले कोरोना परीक्षणमा कुकुर प्रयोग गर्न थाले पनि यसमा धेरै प्रश्न अनुत्तरित छन्। खोप लगाइसकेका व्यक्तिबाट आउने गन्ध कस्तो हुन्छ? कोभिडको गन्ध पहिचान गर्न सक्ने कुकुरलाई संसारभरि तालिम दिन कत्तिको सजिलो छ? कुकुर आफैं कोरोना संक्रमित भएर मान्छेको जस्तै सुँघ्ने शक्ति हरायो भने के होला?

यस्ता प्रश्नको जवाफ खोज्न थप अनुसन्धान बाँकी छ। तै पनि कुकुरको शक्ति कोरोना परीक्षणलाई तीव्रता दिन सहायक हुनसक्ने अनुसन्धाता बताउँछन्। खासगरी महँगो परीक्षण धान्न नसक्ने गरिब देशका लागि यो लाभदायक हुने उनीहरूको भनाइ छ।

कोभिड महामारी तत्काल अन्त्य हुने अवस्था छैन। आगामी दिनमा यसका नयाँ–नयाँ प्रकार देखिँदै जानेछन्। त्यो अवस्थामा बढीभन्दा बढी कुकुरलाई तालिम दिएर कोरोना परीक्षणमा प्रयोग गर्न सकियो भने महामारीसँग जुध्न सहज हुने अनुसन्धाताहरू बताउँछन्।

Copy link
Powered by Social Snap