२०८१ बैशाख ८

बुद्धमूर्तिले सजाइँदै भैरहवा-लुम्बिनी सडक

गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ । 

यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो। 


Advertisement


लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक कार्यालयले उपलब्ध गराएको ७५ लाख रूपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको छ। कार्यालयले बुद्धमूर्ति राख्नकै लागि उपभोक्ता समिति गठन गरि सोही समितिमार्फत काम अगाडि बढाएको जनाएको छ। 

अहिले पहिलो चरणमा बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्न शुरू गरिएको हो। मेटलबाट निर्मित बुद्धमूर्तिलाई पहेँलो धातुले लेपन गरि आकर्षक बनाईएको छ। यसअघि अन्यन्त्र राखिएका ढलोटबाट निर्मित मूर्तिहरु उच्छृङखल समूहले तोडफोड गर्न थालेपछि मेटलबाट निर्मित बुद्धमूर्ति राखिएको हो। 

उपभोक्ता समितिका अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । ‘चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेट फ्रिज नहोस् भनी कोरोनाको कारण जारी निषेधाज्ञाको बीचमै पनि मूर्ति राख्ने काम भईरहेको छ’, उनले भने, ‘सडक डिभाईडरमा मूर्ति राखिएपछि भैरहवा लुम्बिनी सडक आकर्षक र बुद्धमय बन्ने छ ।’

सफा र फराकिलो ६ लेन सडकमा बुद्धमूर्ति राखिएपछि बजार क्षेत्र नै सुन्दर देखिएको छ। यहाँ जडान गरिने मूर्तिहरु काठमाडौंको पाटनमा निर्माण भईरहेकोले निषेधाज्ञाको कारण ल्याउन अप्ठ्यारो हुँदा जडानमा केही ढिलाई भएको पोखरेलले बताए। 

‘भैरहवालाई शान्ति र सुन्दर नगरी बनाउनुको साथै सिद्धार्थनगर बुद्धनगरी भएकोले यहाँ प्रवेश गर्ने वाह्य पर्यटकहरुले समेत यहाँबाट बुद्धको ज्ञान, उपदेश र शान्तिको सन्देश लिएर जाउन् भन्ने हाम्रो उद्देश्य हो,’ पोखरेलले भने। 

अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अञ्चलपुरदेखि बेलहीया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो। पोखरेलकै अध्यक्षतामा गठन गरिएको उक्त समितिले पनि ७१ लाख रुपैयामा १९ वटा मूर्ति स्थापना गरेको थियो। नगरपालिकाको ४६ लाख रूपैया र उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग २५ लाख रुपैया सहयोग संकलन गरि मूर्ति स्थापना गरेको थियो ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मुख्य सडकको डिभाईडरमा मूर्ति राख्ने काम भइरहेको बताए। ‘सिद्धार्थनगर पर्यटकीय मात्र नभई शान्तिभूमि हो, यहाँ जति सौन्दर्यकरण गर्न सकियो नगरको सुन्दरता बढ्छ नै त्यो भन्दा धेरै यहाँको सन्देश देशविदेश फैलिन्छ,’ उनले भने।

भारतबाट सडकमार्गहुँदै लुम्बिनी आउने पर्यटक यही सडक भएर लुम्बिनी पुग्ने गर्छन्। सहज अवस्थामा बेलहीया नाकाहुँदै वर्षेनी लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन्। तर नेपाली सिमा प्रवेश गरेपछि नै नेपालको सन्देश दिने कुनै वस्तु सिमाक्षेत्रमा र सडकमा नराखिँदा पर्यटकले नेपाली भूमि प्रवेश गरेको पत्तो समेत पाउन सकेका छैनन्। 

भारतबाट बेलहीया नाका हुँदै लुम्बिनी आउने विदेशी पर्यटकलाई बुद्धभूमि प्रवेश गरेको आभास दिलाउने भन्दै सिद्धार्थनगर नगरपालिकाले डण्डामा आकर्षक प्रवेशद्वार निर्माण गरिरहेको छ भने बुद्धचोक अगाडि यसअघि नै लुम्बिनी गेट निर्माण भईसकेको छ। अहिले सडक डिभाईडरमा राखिएका बुद्धमूर्तिले बर्षेनी लुम्बिनीमा आउने बौद्ध अनुयायीमार्फत लुम्बिनीबाट शान्तिको सन्देश दिन खोजिएको नगरप्रमुख अधिकारीले बताए । 

Copy link
Powered by Social Snap