यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय
काठमाडौं । मनकारी पनि छ यो सहर । यस सहरले हुनेखाने मात्र होइन, गरिखानेलाई पनि आश्रय दिएको छ । महंगी र खर्चिलो बजारले यहाँ ढाड थिचेको मात्र छैन, सस्तो मूल्यमा पाइने भरपेट खानाले पेट उकासिदिएको पनि छ ।
सहरमा दैनिक ज्यालादारी गर्नेहरु हुन् वा न्यून आय आर्जन भएकाहरु, उनीहरुले भोकै बस्नुपर्ने बाध्यता भने छैन । यहाँ कतिपय यस्ता भोजनालय छन्, जसले सस्तो मूल्यमा थालभरि खाना पस्किने गरेका छन् ।
दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालय, महाबौद्ध
काठमाडौंको महाबौद्धमा रहेको दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालयमा सोमबार बिहान ११ बज्दा पुग्दा होटलका सबै टेबुल भरिभराउ थिए । होटलमा खाना खाने आउने जाने सर्वसाधारणको भीड थियो ।
होटलमा साहुनीले खाना पस्किरहेकी थिइन् भने सहयोगीले खाना टेबुलसम्म पुर्याउने काम गरिरहेका थिए । र, सञ्चालक इन्द्र श्रेष्ठ ढोका बाहिर उभिएर खानाको पैस...









