एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो
काठमाडौँ — संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् ।
प्रधानमन्त्री देउवा पुस ६ मा बस्ने संसद् बैठकमा एमसीसी प्रवेश गराउन चाहन्छन् तर गठबन्धनको भविष्य, विपक्षीको सर्त, राष्ट्रिय सभा चुनावदेखि सभामुखको भूमिकासम्मका विषय उनका लागि चुनौती बनेर आएका हुन् । संवैधानिक र राजनीतिक संघर्षबाट प्राप्त भएको सरकारको मुख्य जग पाँचदलीय गठबन्धन रहेकाले यसलाई जोखिममा राखेर एकतर्फी अगाडि बढ्नु प्रधानमन्त्री देउवाका लागि ठूलो चुनौती भएको निकट नेताहरूको बुझाइ छ ।
‘प्रधानमन्त्रीज्यूले गठबन्धनको महत्त्व बुझ्नुभएको छ, यो भत्किने गरी एमसीसीमा अगाडि बढ्न उचित ठान्न...









