२०८० चैत्र १६

प्रतिनिधि सभाको अर्को बैठक ११ दिनपछि

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक ११ दिन सारेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले ल्याएका अध्यादेश स्वीकृत भएपछि बैठक ११ दिन सारेका हुन्।

दलहरूले पार्टीको कामका लागि समय माग गरेकाले सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेका लागि डाकेका हुन्। 


Advertisement


नेकपा एमालेले पुस ८, ९ र १० गते पार्टी कामका लागि समय मागेको लगत्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र ल्होसार पर्ने भएका कारण बैठक १८ गतेका लागि डाकेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

आजको प्रतिनिधि सभाको बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठकमा अर्को बैठकको मितिबारे छलफल गरेका थिए। उनले संसद अवरोध खुलाउने विषयमा आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने बैठकमा बताएका थिए। 

त्यसो त संसदको चालु अधिवेशनमा अमेरिकी सहयोग एमसिसी पेश गर्न सत्तारूढ नेपाली कांग्रेसले सभामुखमाथि दबाब बढाएको छ। तर माओवादी केन्द्रले आफ्नो सम्मेलन अघि एमसिसीबारे कुनै निर्णयमा नपुग्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गते देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ। 

कार्यव्यवस्था परामर्श समितिमा कानुन मन्त्री दिलेन्द्र बडुले संसदको अवरोध खुलाउने विषयमा दलहरूबीच घनिभूत छलफल आवश्यक रहेको बताएका थिए। उनले पनि त्यसका लागि केही समय मागेका थिए। 

राष्ट्रिय सभाको बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगित भइसकेको छ।

Copy link
Powered by Social Snap