२०८१ बैशाख ११

राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

पोखरा — नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए ।


Advertisement


‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे ।

उनले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए । एमालेलाई आफ्‍नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्वन्द्वी मानेको उनले बताए ।

‘ओलीले हाम्रो अनुहार देख्दिनँ भन्ने, अन्यत्र छुवाछुतको व्यवहार गर्ने, संसद् अवरुद्ध गर्दै आएका छन्,’ उनले भने,‘तर कस्तो संयोग, कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए । रमाइलो भयो ।’ कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र हामीलाई छुवाछुतको व्यवहार गर्ने यो कस्तो राजनीति हो भन्ने उनले प्रश्न गरे ।

उनले संविधानको सम्मान पनि ओलीले नगरेको बताए । आफूहरुलाई कारबाही गर्ने अधिकार ओलीलाई नभएको भन्दै संसद्‌मा आफ्नो उपस्थितिले पनि केपीको सातो जाने गरेको बताए । सभामुख एक्लो नभएकाले आफ्नो काममा अघि बढ्न भन्दै उनले आफूहरुको सधैं साथ रहने बताए ।

Copy link
Powered by Social Snap