देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना
कर्णाली, २९ फागुन (रासस) : देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो । मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ ।
नागरिकको समग्र पक्षका विषयमा व्यक्त हुने भावना र अभिव्यक्तिले देउडामा कर्णाली र सुदूरपश्चिमको जीवन गवाही हुन्छ । गीत र नाचबाटै नागरिकको जीवनका बारेमा यथार्थ चित्रण गर्ने यसले सङ्गीत भने बोकेको पाइँदैन । यसमा सङ्गीतको भूमिका गौण नै रहन्छ । सङ्गीतविना नै देउडा मस्कीमस्की (शरीर दायाँबायाँ ढल्काउँदै) पाइला (गोडा) मिलाएर खेलिन्छ ।
मूलतः शुभकार्य जस्तो, जन्मोत्सव, विवाह, व्रतबन्ध, मेलापर्व, पैठ, महोत्सवका अवसरमा देउडा गाइने गरिन्छ । यसमा मायाप्रीति, सुखदुःख, हाँसो, आँसु, पीडा वेदनाका गीत बढी गाइन्छन् । त्यसका साथै आर्थिक, राज...









