२०८१ बैशाख ७

बसाइँ सरेर आउने परिवारलाई सम्मान, निःशुल्क स्वास्थ्य




बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । आज वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उहाँहरुलाई फूलमालासहित सम्मान गर्नुभयो ।


Advertisement


पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताउनुभयो । उहाँहरूको आम्दानीका लागि कृषिजन्य औजार, कृषि बीउबिजन आवश्यक वस्तुसमेत वितरण गरिँदै आइएको वडाध्यक्ष दुलालले बताउनुभयो ।



साथै नयाँ परिवारको निःशुल्क स्वास्थ्य बीमासमेत गरिएको छ । वडाकै रकमबाट बसाइँ सरेर आउने परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिजन्य काम र पशुपालनमा घाँस उत्पादनका हिसाबले अगाडि रहेको उहाँको भनाइ छ ।

वडामा इलाम जिल्लाकै विभिन्न ठाउँबाट ११ परिवार भित्रिएको छ । घट्दो जनसङ्ख्या तथा बसाइँसराइले पहाड रित्तिने क्रम बढेपछि उहाँहरूलाई यहीँ बस्न उत्साह थप्नसमेत यस्तो काम गरिएको वडाध्यक्ष दुलालले बताउनुभयो ।

किसानको आर्थिकस्तर माथि उकास्न नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख थापाले बताउनुभयो । उहाँले पहिलादेखि नै कृषि र पशुपालनमा इलाम–४ अब्बल रहेकाले अझै पनि यस्ता काममा अगाडि बढ्न वडावासीलाई आग्रह गर्नुभयो । सोही अवसरमा किसानलाई टनेल, कुटे, पाइप तथा १२ प्रकारका कृषि बीउबिजनसमेत वितरण गरिएको थियो ।

Copy link
Powered by Social Snap