२०८१ असार ११

देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना




कर्णाली, २९ फागुन (रासस) : देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो । मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ ।

नागरिकको समग्र पक्षका विषयमा व्यक्त हुने भावना र अभिव्यक्तिले देउडामा कर्णाली र सुदूरपश्चिमको जीवन गवाही हुन्छ । गीत र नाचबाटै नागरिकको जीवनका बारेमा यथार्थ चित्रण गर्ने यसले सङ्गीत भने बोकेको पाइँदैन । यसमा सङ्गीतको भूमिका गौण नै रहन्छ । सङ्गीतविना नै देउडा मस्कीमस्की (शरीर दायाँबायाँ ढल्काउँदै) पाइला (गोडा) मिलाएर खेलिन्छ ।

मूलतः शुभकार्य जस्तो, जन्मोत्सव, विवाह, व्रतबन्ध, मेलापर्व, पैठ, महोत्सवका अवसरमा देउडा गाइने गरिन्छ । यसमा मायाप्रीति, सुखदुःख, हाँसो, आँसु, पीडा वेदनाका गीत बढी गाइन्छन् । त्यसका साथै आर्थिक, राजनीति, भ्रष्टाचार, सामाजिक विकृति, कुप्रथा, विभेद, सुशासनलगायतका गीत देउडामा गाउने गरिन्छ ।


Advertisement


पछिल्लो समयमा गाउँगाउँसम्म भित्रिएको आधुनिक गीतसङ्गीतका अगाडि परम्परागतरूपमा खेलिने देउडा खतराउन्मुख अवस्थामा पुगेको छ । यद्यपि नयाँपुस्ताले पनि यसलाई पछ्याउन थालेका छन् । लोकदोहोरी जस्तै सवाल र जवाफमा आधारित देउडा खेलमा पनि शीघ्र जवाफ दिनसक्ने तर्कशक्ति आवश्यक हुन्छ ।

यस्ता तर्कशक्ति प्रस्तुत गर्न कला क्षेत्रमा ठूलो सानो व्यक्ति भन्ने हुँदैन । करिब तीन वर्षदेखि जगन्नाथ गाउँपालिका–४ बाजुराकी १९ वर्षीय विपना भण्डारीले किशोरी अवस्थामै देउडा खेलेर आफ्नो क्षमता प्रदर्शन गर्दै आउनुभएको छ । बाजुरा, हुम्ला, मुगु, कालीकोट र जुम्लाका विभिन्न ठाउँमा पुगेर उहाँले आफ्नो कला प्रदर्शन गरिसक्नुभएको छ ।

आमा साउनी र बुबा जयबहादुर भण्डारीको माइली छोरीका रूपमा विपनाको विसं २०६० वैशाख ११ गते बाजुराको नाराकोट गाउँमा जन्म भएको थियो । उहाँसहित परिवारमा पाँच बहिनी छन् । आमा भए पनि पाँच वर्षअघि विपनाको बुबाको देहवासन भएको थियो । बुबा देउडा खेलाडी भएकाले आफू त्यसबाट प्रभावित भएर यो क्षेत्र समातेको भण्डारीले बताउनुभयो ।

“मैले पहिलो पटक नववर्ष २०७७ को विसु (विश्वाँ पर्व)को दिनमा देउडा खेल सुरु गरेँ”, भण्डारीले भन्नुभयो, “त्यसपछि मेरो यात्रा निर्वाध अगाडि बढेको छ । अहिलेसम्म पाँच जिल्लामा गरेर करिब ३५ देउडा खेलमा सहभागी भइसकेँ । सबैभन्दा बढी कालीकोटमा खेल्ने मौका पाइयो ।” बाबुसरहको मान्छेदेखि सबै तहका व्यक्तिसँग देउडा खेल्दै आएको बताउनुभएकी उहाँले यो पेसा अँगालेदेखि आलोचना र प्रशंसा दुवै प्राप्त गरेको राससलाई जनाउनुभयो ।



उहाँले आलोचना गर्ने, कुरा काट्नेहरूसँग धेरै सरोकार नराखेर अगाडि बढेको र देउडाले मध्य तथा सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संरक्षण गर्दै आएकाले पढाइका साथ यसैलाई नै निरन्तरता दिँदै यात्रा अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । भण्डारीले भन्नुभयो, “देउडा खेलेर मैले संस्कृतिको संरक्षण गरेको छु । यो पुस्तान्तरण हुन जरुरी छ । यसमा नयाँ पुस्ता जागरुक हुनुपर्दछ ।”

आधुनिकताका नाम हाम्रो संस्कृति, सभ्यता, भाषा बिर्संदै जाने हो भने यहाँको पहिचान र अस्तित्व गुम्दै जाने उहाँको भनाइ छ । उहाँका अनुसार देउडा मायाप्रीतिमा मात्र सीमित नराखी समाजको वास्तविकता र सत्यतालाई खास शैलीमा मिठासपूर्ण हुने गरी दर्शक स्रोतमाझ पस्किने भएकाले यसको महत्त्व एवं आकर्षण बढ्दै गएको छ ।

विपनाको प्रतिभाले देउडा पारखीलाई लोभ्याउने गरेको छ । उहाँ किशोरी अवस्थामै देउडा गायिका मात्र होइन, नायिकाको भूमिकामा समेत उदाउनुभएको छ । सोह्र वर्षको उमेरदेखि देउडा क्षेत्रमा लाग्नुभएकी उहाँलाई पछिल्ला दिनमा धेरैले देउडा खेलाडीका रूपमा विभिन्न शुभ अवसरमा शुल्क दिएर बोलाउँदै आएका छन् ।

मागअनुसार देउडा नायिकाका रूपमा सहभागी हुँदा उहाँले रु ४० देखि ५० हजारसम्म रकम लिने गर्दै आउनुभएको छ । समय सन्दर्भअनुसार भाषाशैली मिलाएर जस्तोसुकै परिस्थितिमा भिज्नसक्ने क्षमता बनाउनुभएकी उहाँलाई सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लावासीले जन्मोत्सव, विवाह, व्रतबन्धजस्ता शुभकार्यको अवसरमा बोलाउने गर्दछन् ।

अनुकूल परिस्थितिअनुसार बोलाएको ठाउँमा जाने गरेको उहाँले बताउनुभयो । महिलासँग पनि देउडा खेल्दै आएका बताउँदै भण्डारीले अधिकतम पुरुष समूहसँग देउडा खेलमा सहभागी हुने गरेको उहाँको भनाइ छ । यसपटक तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँमा यही फागुन २६–२८ गतेसम्म भएको मानबहादुर सिंहको भाइबुहारीको विवाहमा आफ्नो कलात्मक खेल देखाएर फर्केको देउडा खेलाडी स्थानीय जीतबहादुर सिंहले बताउनुभयो । विपना श्री कैलाश मावि बाजुरामा कक्षा १२ मा अध्ययन गर्दै आउनुभएको छ ।

Copy link
Powered by Social Snap