मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो
बेनी, ८ जेठ (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।
नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो ।
अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नामबाट पहिचान गरिएको आधार शिविर पुग्ने पदमार्गको प्रचारप्रसार र प्रर्वद्धनका लागि यही जेठ ४ गतेदेखि ७ गतेसम्म सरोकारवालाको सहभागितामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको छ । जिल्लास्थित पत्रकार, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, स्थानीयवासी, लगायतका सरोकारवालासमेतको ३६ जनाको टोलीले पदमार्ग हुँदै आधार श...









