विश्वविद्यालयमा एकीकृत क्यालेन्डर : परीक्षाको दुई महिनाभित्र नतिजा !
काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगले परीक्षा सकिएको ६० दिनभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्थासहितको एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरक/फरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले एकीकृत शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको हो ।
आयोगका अध्यक्ष देवराज अधिकारी नेतृत्वको कार्यदलले तयार गरेको प्रस्तावित क्यालेन्डर वार्षिक र सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुने सबै विश्वविद्यालय र उच्च शिक्षण संस्थाका लागि हो । विद्यालय तहको छुट्टै क्यालेन्डर लागू गरिसकेको राष्ट्रिय परीक्षा बोर्डले साउन अन्त्यसम्म कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ । कक्षा १२ को नतिजा साउनमा प्रकाशन भएपछि क्याम्पसहरूले असोजभित्र विद्यार्थीको प्रवेश परीक्षा र भर्ना सक्नुपर्ने विश्वविद्यालयको प्रस्तावि...









