२०८१ बैशाख २२

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

२६ वर्षीया मनस्वी अस्ट्रेलिया आएको एक वर्षमै म्याकवारी विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भइन् । अस्ट्रेलियाको कुनै पनि विश्वविद्यालयको बोर्ड सदस्य हुने उनी सम्भवतः पहिलो नेपाली हुन् ।




अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ ।

त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर त्यसैको उदाहरण बनेकी छन्, २६ वर्षीया मनस्वी पौडेल ।


Advertisement


एक वर्षमात्र भयो मनस्वी अस्ट्रेलिया आइपुगेको । उनी यहाँ आएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित मात्र भइनन् कि उक्त पदमा चयन हुने पहिलो नेपाली विद्यार्थीसमेत बनिन् । वास्तवमा उनी पनि अन्य विद्यार्थीसरह नै उच्चशिक्षा र उज्ज्वल भविष्यको खोजीमा अस्ट्रेलिया छिरेकी हुन् । सामान्य विद्यार्थीको तुलनामा सपना फरक भए पनि उनी अस्ट्रेलियाको उत्कृष्टमध्येको विश्वविद्यालय म्याकवारी युनिभर्सिटीमा बिजनेस एनालिटिक्समा स्नातकोत्तर गर्न आएकी हुन् । अन्तर्राष्ट्रिय विद्यार्थीले सुरुवाती दिनमा झेल्ने कठिनाइबाट उनी पनि अछुतो रहिनन् । तर उनले ती कठिनाइलाई सिकाइका रूपमा परिवर्तन मात्र गरिन् र आफ्नो उद्देश्य कसरी साकार बनाउनेतर्फ केन्द्रित भइन् । त्यसैले पनि हुन सक्छ, झन्डै ४० हजार विद्यार्थी अध्ययनरत अस्ट्रेलियाको एक उत्कृष्ट शिक्षण संस्थाको बोर्डमा प्रतिनिधित्व गर्न सफल भइन् ।

‘अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया आउँदा मेरो फोकस नै सर्ट टर्म मनीभन्दा लङ टर्म गोलमा केन्द्रित थियो,’ उनले भनिन् । झापाको काँकडभिट्टामा जन्मिइन्, एसएलसी सकिन् र उच्चशिक्षाका लागि काठमाडौं पुगिन् मनस्वी । बाबु सरकारी बैंकका जागिरे र आमा स्थानीय राजनीति र समाज सेवामा सक्रिय रहेकाले पनि उनले सबैका सामु बोल्ने कला र महिला सशक्तीकरणबारे जानकार भइन् । ६ कक्षामा अध्ययनरत रहँदा नै उनले झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा हजारौं दर्शकसामु करिब २० मिनेट बोल्ने अवसर पाएकी थिइन् । उनका अनुसार त्यो नै उनलाई जीवनमा आत्मविश्वास दिलाउने पहिलो खुड्किलो थियो । ‘म त्यसपछि हरेक क्षेत्रमा र व्यक्तिसँग आफ्ना कुरा निर्धक्क र निःसंकोच राख्न सक्ने भएँ,’ उनी भन्छिन् ।



मनस्वीको अस्ट्रेलिया यात्रा अहिले जुन अवस्थामा आइपुगेको छ, सायदै कुनै पनि नेपाली विद्यार्थीले त्यो सफलता पाएका होलान् । यता आएको करिब दुई महिनामै आफ्नै बलबुतामा ‘मिलेनियम वुमन लिडरसिप एक्सेन्स प्रोगाम’ अन्तर्गतको ग्रुपमा छानिएकी उनले उक्त कार्यक्रमअन्तर्गत आफ्नो ‘नेटवर्किङ’ विस्तार गरिरहेकी छन् । त्यसका साथै उनले विश्वका ठूलामध्येका कम्पनीका महिला नेतृत्वलाई विभिन्न माध्यमबाट भेट्ने अवसर पनि पाइसकेकी छन् । हुन त यो कार्यक्रमको मुख्य उद्देश्य महिला नेतृत्व निर्माण गर्ने मात्र नभई उच्च तह तथा पदमा पुगिसकेका महिलाहरू मार्फत मेन्टोरिङ गर्ने हो । मार्चदेखि डिसेम्बरसम्म चल्ने कार्यक्रममा छनोट भएपछि उनले माइक्रोसफ्ट, डेल, अमेजन, अर्नेस्ट एन्ड योङलगायतका कम्पनीका उच्च तहका अधिकारीसँग भेट्ने अवसर पाइसकेकी छन् । ‘वास्तवमा यो कार्यक्रमले मलाई भित्रैबाट अझ सशक्त र परिपक्व मात्र बनाएन कि मेरो सम्बन्ध विस्तारमा समेत ठूलो भूमिका खेल्यो ।’ कार्यक्रम अझै ४ महिना बाँकी रहेकाले आफूले अझै धेरै सिक्न पाउने उनको विश्वास छ ।

खासमा अस्ट्रेलिया आएको एक महिनामै उनी सम्मिलित समूह अन्तर्राष्ट्रिय कम्पनी आईबीएमले गरेको साइबर सेक्युरिटी फेस्टमा तेस्रो भएपछि उनी सबैको नजरमा परेकी थिइन् । १५ टिम सहभागी प्रतियोगितामा तेस्रो हुनु महत्त्वपूर्ण त थियो नै तर अस्ट्रेलिया आएको एक महिनामै त्यो सफलता पाउनु उनका लागि भविष्यको सुनौलो ढोका खुल्नुसरह थियो । मनस्वीले नेपालमा रहँदा नै बिजनेस कन्सल्टिङको काम सुरु गरेकी थिइन् । ‘खासमा त्यो मेरो प्यासन नै हो,’ उनले भनिन् । त्यसका साथै उनी नेपालमा रहँदा नै महिला सशक्तीकरण, नेतृत्व विकासलगायतका विषयमा विभिन्न तालिम लिएर कामसमेत गरेकी थिइन् । अझ ‘गर्ल्स इम्पावरड वाई ट्राभल’ नामक संस्थाको बोर्डमा रहेर काम गरेको अनुभवले समेत अस्ट्रेलियामा सफलता पाउन मद्दत पुगेको उनी बताउँछिन् । ‘मलाई लाग्छ, हामी जहाँ भए पनि र जस्तो भए पनि आफ्नो क्षमतालाई विश्वास गर्ने र योजना बनाउने हो भने असम्भव केही हुन्न रहेछ,’ उनले भनिन् ।

काठमाडौंको एस इन्स्टिच्युटबाट बीबीए सकेपछि उनी मास्टर्स गर्न पाटन कलेज पुगिन् । तर अध्ययन गर्दागर्दै अस्ट्रेलिया हानिने भए पनि उनलाई देश छाडेर नजान सल्लाह दिने पनि निकै थिए । किनकि उनलाई न जागिरको समस्या थियो न उनी केही कुरामा नै कमजोर । ‘तर म आफ्नो क्षमता अझ जाँच्न र त्यसलाई तिखार्न चाहन्थें,’ उनले भनिन् । उनलाई अहिले भने आफूले राम्रै निर्णय गरें भन्ने लाग्छ ।

मनस्वी बोर्ड सदस्य भएको म्याकवारी अस्ट्रेलियाको चौधौं उत्कृष्ट विश्वविद्यालय हो । विश्वको १ सय ९५ औं उत्कृष्ट । वास्तवमा के हुन्छ त बोर्ड सदस्य भएपछि ? मनस्वीका अनुसार बोर्डमा विभिन्न क्षेत्रबाट प्रतिनिधि छानिएका हुन्छन् जसले विश्वविद्यालय सञ्चालनका लागि विभिन्न योजना तर्जुमा गर्ने गर्छ । विश्वविद्यालय सञ्चालनका लागि विभिन्न विषयमा सल्लाह सुझाव दिनुका साथै आवश्यकताअनुसार निर्णय गर्ने काम पनि हो बोर्डको । त्यसको अर्थ उनले बोर्डमा रहेर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको नेतृत्व मात्र गर्दिनन् कि विश्वविद्यालयको शिक्षा, नियम, आर्थिकलगायतका विभिन्न विषयमा सल्लाह सुझाव दिने गर्छिन् । ‘वास्तवमा हामी विगतमा भएका कामको समीक्षा, वर्तमान नियम कानुन, शिक्षालगायतको अवस्था र भविष्यको योजनाका बारेमा छलफल गर्छौं ।’

सन् २०२५ सम्मका लागि बोर्डमा छानिएकी उनी सहजै त्यहाँ पुगेकी भने होइनन् । अन्य ६ जना प्रतिस्पर्धीसँग विश्वविद्यालयले गरेको निर्वाचनमा अत्यधिक मतसहित विजयी भएकी हुन् उनी । निर्वाचनअघि मत आफ्नो पक्षमा पार्नका लागि निर्वाचन अभियानमा निकै सक्रिय भइन् । तर आफूले गरेको ‘इलेक्सन क्याम्पेनिङ’ फरक रहेको उनको दाबी छ । ‘मैले अन्य विद्यार्थीलाई मलाई भोट दिनुहोला भनेर भन्नुभन्दा पनि उनीहरूको साथी बन्ने प्रयास गरें,’ उनी थप्छिन्, ‘आफूले धेरै बोल्ने वा भोट माग्नेभन्दा पनि अन्य विद्यार्थीको कुरा सुन्ने, प्रत्यक्ष भेट्ने र समय दिएर कुरा गर्ने गरें ।’ त्यसैले हुन सक्छ उनी निकटतम प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतले विजयी भइन् । विद्यार्थीले बोर्ड सदस्यमा निर्वाचित गरेका भए पनि उनी कुनै पनि विषयमा अनुत्तीर्ण भइन् भने उनी बोर्डबाट हट्न सक्छिन् ।

अस्ट्रेलिया आएपछि एक पसलबाट काम सुरु गरेकी उनले एक एनजीओमा माध्यमिक विद्यालयका विद्यार्थीको ट्रेनरका रूपमा समेत अनुभव हासिल गरिन् । हाल भने उनी क्वीन्सल्यान्डस्थित थिंकट्यांक कम्पनी ‘अस्ट्रेलियन इन्स्टिच्युट अफ प्रोगेस’ मा रिसर्च इन्टर्न छिन् । ‘काम भनेको आफ्नो भविष्यको योजनालाई मध्यनजर गरेर गर्ने हो र अहिले पाएको अवसरका लागि म अहिलेलाई सन्तुष्ट नै छु ।’ अस्ट्रेलिया आउने अन्य आफूजस्तै युवालाई कहाँ जाने, के गर्ने र भविष्यको योजना बनाएर अघि बढ्न सुझाव दिन्छिन् उनी । ‘जबसम्म आफ्नो भविष्य र योजनाबारे हामी आफैं जानकार हुँदैनौं सही बाटो हिँड्न सकिँदैन ।’ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया प्रवेश गरेको एक वर्षमा नै सफलताको उचाइ चढ्न थालेकी उनको सपनाचाहिँ के त ? ‘बिग फो वा अस्ट्रेलियामा रहेका कुनै मल्टिनेसनल कम्पनीमा कन्सल्टेन्टका रूपमा काम गर्ने,’

उनी भन्छिन् । उनको आत्मविश्वास र छोटो समयमा पाएको सफलताले लाग्छ त्यो छिट्टै पूरा हुनेछ ।

Copy link
Powered by Social Snap