कोलहवामै विद्यालय खोल्ने सपना
जनकपुरधाम, २३ वैशाख (रासस) : आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने ।
वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कूल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो ।
“त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि (वैद्यनाथ देवानन्द जनता मावि) वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्...









