२०८१ बैशाख २६

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड




काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो ‘वाउ पपकर्न’। कतिपय त ‘वाउ पपकर्न नै दिनु न’ भनेर किन्छन् पनि।

पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो।

चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्।

कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ।

‘लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,’ उनले सेतोपाटीसँग भने।



Advertisement



वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको शुभाकर बताउँछन्।

‘यो संख्या धेरै त होइन तर एउटा आउटलेटको भरमा आफ्नो परिवार पाल्ने धेरै छन्,’ उनले भने, ‘यो देख्दा खुसी लाग्छ।’

शुभाकरलाई मकै भुटेर बेच्ने आइडिया कसैले दिएको होइन, आफ्नी छोरीले गरेको रहरबाट फुरेको हो। चार वर्षअघि उनकी छोरीले घरमा फिल्म हेर्दै गर्दा पपकर्न खान मन नगरेको भए उनी यतिखेर ट्रेडिङ बिजनेसमै रमाइरहेका हुने थिए।

काठमाडौंको न्युरोडमा पुर्ख्यौली घर भएका शुभाकर भारत, थाइल्यान्ड लगायत देशबाट इनर्जी ड्रिङ्स, चकलेट र प्याकेजिङ फुड्स आयात गर्छन्। यही सूचीमा उनले पपकर्न थपेका हुन्।

‘घरमा फिल्म हेर्दै गर्दा छोरीले पपकर्न खाऊँ न बाबा भनिन्। पछि सिनेमा हल जाँदा खाऊँला है भनेँ तर छोरीको चित्त बुझेन,’ शुभाकरले चार वर्षअघिको कथा सुनाए, ‘कति केटाकेटीले पपकर्न खाने रहर गर्छन् होला। सधैं हलमै लगेर त कसरी खुवाउनु भन्ने लाग्यो। अनि आफैंले उद्योग खोल्ने निधो गरेँ।’

व्यावसायिक पृष्ठभूमि भएकाले शुभाकरलाई पुँजी अभाव थिएन। उनले तुरून्तै अमेरिकाबाट पपकर्न बनाउने सेकेन्ड ह्यान्ड मेसिन किनेर ल्याए।

बालाजुमा छपाइ मेसिन भएको एउटा उद्योगलाई अन्तै सारेर त्यहाँ त्यो मेसिन राखे। मकै मेसिनमा हालेर भुट्ने तरिका सिके। चार महिनासम्म बजार अध्ययन गरे। यसपछि मकैका दाना फुलाएर त्यसमा गुलियो र गुलियो–नुनिलो स्वाद भर्न थाले।

शोभाकरका अनुसार पपकर्न बनाउने मेसिनमा मकै राखेर निश्चित तापक्रम दिएपछि फुल्छ। फुलेको मकैमा स्वाद दिने मसला राखेर घोलिन्छ। परीक्षण गर्दै गए, धेरै उत्पादन खेर गयो। आखिरमा उनले स्वादिलो पपकर्न बनाउन सके।

त्यो नयाँ स्वादको पपकर्न साथीभाइ र परिवारजनलाई चखाए। सबैजसोले रूचाए।

‘चाख्नेहरूले थम्प्स–अप गर्दै वाउ भने,’ उनले सम्झिए, ‘प्रतिक्रियामा सुनिएको त्यही वाउ मैले पपकर्नको ब्रान्ड बनाएँ।’

व्यावसायिक उत्पादनका लागि सरकारी प्रक्रिया पूरा गरेर उनले २०७४ माघमा ‘वाउ पपकर्न’ ब्रान्डमा आफ्नो उत्पादन बजारमा पठाउन थाले।



सुरूमा चीज, बटरसाल्ट र कारामेल स्वादमा पपकर्न बनाए।

‘ग्राहकले पिरो र सादा स्वाद पनि माग गरेपछि मसला र बटरस्कच गरी दुई स्वाद थपेँ,’ उनले भने।

उनले दरबारमार्ग र रञ्जना कम्प्लेक्समा दुइटा वार्मर (पपकर्न तातै राख्ने सिसाको बाकस) राखे। शुभाकर आफ्नो उत्पादन ठूलो झोलामा हालेर सिधै वार्मरमा पठाउँथे। पहिले चार किलो पठाउँथे, बिस्तारै माग बढ्दै गयो।

ग्राहकले उत्पादन रूचाउन थालेपछि वार्मर बढाउँदै गए। उनका अनुसार काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल, धरान लगायतमा गरेर अहिले ८० वटाभन्दा बढी आउटलेट छन्।

शुभाकरका अनुसार ग्राहकले वाउ पपकर्न आउटलेटमा मात्रै होइन बीसदेखि दुई सय ५० रूपैयाँको प्याकेटमा अरू पसलमा पनि किन्न पाउँछन्। अहिले आउटलेटहरूमा चीज, कारामेल, बटरसाल्ट, मसला र बटरस्कच गरी पाँच स्वादका पपकर्न पाइन्छ। बजारमा भने चार स्वादमा मात्र पाइन्छ। बटरस्कच आइसकेको छैन।

‘बटरस्कच हाम्रो पछिल्लो उत्पादन हो, त्यसलाई प्याकेजिङमा लगिसकेका छैनौं,’ शुभाकरले भने।

अहिले कम्पनीले पपकर्नबाहेक दुई स्वादमा ‘चीज रिङ्स’ पनि उत्पादन गर्दै आएको छ। यो भनेको चीज बल्सजस्तै स्वादको औंठी आकारको गोलो खानेकुरा हो। त्यस्तै आफ्नै ब्रान्डमा आलु चिप्स र कुकिज अरू कम्पनीलाई उत्पादन गर्न पनि दिएको छ।

शुभाकर मानन्धर

उनका अनुसार पपकर्न उत्पादन व्यवसाय जोखिमरहित छैन। पपकर्न ओसिन दिनु हुँदैन। प्याकेटमा नाइट्रोजन ग्यास भरिएको हुन्छ। प्याकेट फुट्यो वा बाहिरबाट हावा छिर्‍यो भने गुणस्तर खस्किन्छ। स्वाद पनि रहँदैन।

जोखिमबारे शोभाकर भन्छन्, ‘हामीलाई त उत्पादन गर्दादेखि ग्राहकको हातमा नपुगुन्जेल जोखिम हुन्छ। पानी पर्ने मौसममा मकै राम्ररी फुल्दैन। बजारमा पुगेपछि पनि प्याकेटमा सानो प्वाल पर्‍यो भने पनि ओसिन्छ।’

दुइटा मेसिनबाट सुरू भएको कम्पनीमा अहिले पपकर्न बनाउने तीन वटा, मसला घोल्ने दुइटा, रिङ्स बनाउने एउटा र प्याकेजिङ गर्ने दुइटासहित आठ मेसिन छन्। उद्योगको कुल लगानी ५० लाख रूपैयाँ पुगेको छ।

पछिल्लो समय कोरोना महामारीका कारण थुप्रै उद्योग तथा कम्पनीको बजारमा असर पर्‍यो। धेरैको आर्थिक अवस्था खस्कियो। कतिपय बन्दै भए। तर वाउ पपकर्नले यो चुनौती सामना गरेर पार गरेको शुभाकर बताउँछन्।

‘हामी आउँदो श्रीपञ्चमीमा तीन वर्ष पूरा गरेर चार वर्षमा जान्छौं,’ उनले भने, ‘हाम्रो लगनशीलता, उत्पादनको गुणस्तर, प्याकेजिङ र बजारीकरणले हामीलाई टिकाइराखेको हो। यसलाई हामी खस्किन दिँदैनौं।’

तर अहिले बजार मागअनुसार पपकर्न उत्पादन गर्न नसकिएको उनी बताउँछन्। शुभाकरका अनुसार पहिलो लकडाउनमा तीन महिना उद्योग बन्द भयो। त्यसपछि पनि कर्मचारी बिरामी, ढुवानीमा समस्या लगायत कारण सोचेजस्तो उत्पादन हुन सकेको छैन।

‘आउटलेटका लागि महिनामा एक/डेढ सयले फोन गर्छन् तर हामीले उत्पादन बढाउन नसकेकाले अहिल्यै धेरै आँट गर्न सकेकै छैनौं,’ उनले भने, ‘बाहिर पठाउन ढुवानीमा पनि समस्या छ।’

नेपालीहरूलाई खाने बानी लागेको यो पपकर्न बनाउने मकै नेपाली होइन। त्यसो त शुभाकरले नेपालमा राम्रो उत्पादन हुने मकै बेवास्ता गरेर बाहिरबाट आयात गरेका होइनन्। पपकर्न बनाउने जातको मकै यहाँ नपाइने भएकाले विदेशबाट ल्याउनुपरेको हो।

‘पपकर्न बनाउने जातको मकै अमेरिका र अर्जेन्टिनाबाट ल्याउनुपर्छ, यहाँ पाइँदैन,’ उनले भने, ‘भारतमा पाइने पपकर्न पनि तिनै देशबाट आयातित मकैबाट बनेको हो।’

केही साथीले शुभाकरलाई नेपाली मकैबाट किन नबनाएको भन्छन्। धेरैले मुरली मकै (भुट्दा सेतै फूल उठ्ने सानो मकै) बाट पपकर्न बनाएको पनि भन्ठान्छन्। तर पपकर्नको विशेषता यी मकैबाट नआउने उनको भनाइ छ। 

‘सही स्वाद र आकार कायम राख्न बाहिरबाट मकै ल्याउनुपरेको हो,’ शुभाकर भन्छन्, ‘यो पपकर्न मुखमा राखेपछि भिजेर नरम हुन्छ, खान एकदमै सजिलो। यहाँको मकै यसरी भिज्दैन। अनि त पपकर्नको विशेषता नै रहँदैन।’

उनी बटरफ्लाई र मसरूम जातका मकैबाट पपकर्न बनाउँछन्। यी जात यहीँ उत्पादन गर्न कृषि अनुसन्धान परिषद (नार्क) सँग छलफल भइरहेको उनले बताए। पपकर्नको मसला भने भारतबाट आयात हुन्छ।

वाउ पपकर्नका उत्पादन अहिले दराज, पठाओ, खानपिन लगायत अनलाइन बजारमा पनि पाइन्छ। कम्पनीले पपकर्न बेचेको वार्षिक लेखाजोखा भने दुरुस्त राख्न सकेको छैन। शुभाकरका अनुसार पहिलो वर्ष नयाँ उत्पादन बजारमा चिनाउनमै समय गयो। दोस्रो वर्ष अनुमानित दस करोडको कारोबार भएको थियो।

त्यसपछि कोरोना लकडाउनले ७० प्रतिशतसम्म बजार खस्कियो। तर उनी आत्तिएका छैनन्। आफूले गुणस्तरीय उत्पादन लैजान सके बजार सहज भएपछि बिक्री बढ्ने उनको विश्वास छ।

शुभाकर भन्छन्, ‘पहिले पपर्कन नेपालमा उत्पादन हुन्थेन। हामीले सुरू गरेपछि नयाँ पनि थपिएका छन्। हामीले बजारमा ल्याउनुअघि पपर्कन सिनेमा हलमा मात्रै पाइन्छ भन्ने थियो। अहिले आउटलेट र पसलमा पनि किन्न सकिन्छ। वाउ पपकर्नले पपकर्नको सँस्कृति बसालेको छ।’

पपकर्न सबै उमेर समूहका व्यक्तिले खान सक्ने स्वास्थ्यवर्द्धक खानेकुरा भएकाले स्वाद थप्न र उत्पादन बढाउन अध्ययन भइरहेको पनि उनले बताए।

Copy link
Powered by Social Snap