२०७९ मंसिर २२
Advertisement

Advertisement

बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!




बोतलको रक्सी गिलासमा खन्याएर सुरुप्प चुस्की लिने त धेरैलाई थाहा छ। चकलेट खाएजसरी रक्सी खाने तरिका चाहिँ कतिलाई थाहा होला!

आउनुहोस्, आज त्यही ‘चकलेट रक्सी’ को कुरा गरौं। 

नेपाली उपभोक्तालाई चकलेट रक्सी अर्थात् ‘लिक्वेर चकलेट’ को स्वाद पस्किने उद्यमी हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौं, छाउनीका निकेश श्रेष्ठ। दुवै ३० वर्षमुनिका छन्। 

उनीहरूलाई करिब ६ महिनाअघि चकलेट रक्सीको आइडिया फुरेको हो। त्यसको दुई महिनामै उनीहरूले ‘चोको रक्सी’ नाम राखेर चकलेट रक्सी तयार पारे। 

हाल उनीहरू छाउनीमा राखेको कारखानाबाट चार वटा स्वादमा चोको रक्सी बनाउँछन्। नेपाली ब्रान्डका भोड्का, रम, ह्विस्की, र ब्रान्डी स्वादमा चोको रक्सी बनाएर बेच्दैछन्। 


Advertisement


धारणाका अनुसार ग्राहकहरूले ह्विस्की र ब्रान्डी स्वादको चोको रक्सी धेरै रूचाएका छन्। केहीले विदेशी रक्सी प्रयोग गर्न पनि सुझाव दिएका छन्।

‘तर हामीले विदेशीभन्दा पनि स्वदेशी रक्सीकै प्रयोगमा जोड दिएका छौं,’ धारणाले भनिन्, ‘अब कोदोको रक्सीको स्वादमा पनि चोको रक्सी बनाउने योजना छ।’

उनीहरूले यसमा चकलेट पनि नेपालकै प्रयोग गर्ने सोचेका थिए। तर नेपाली चकलेट प्रयोग गर्दा खोजेजस्तो स्वाद आएन। अहिले बेल्जियमको चकलेट प्रयोग गरिरहेको उनले बताइन्।

ह्विस्की र ब्रान्डी डार्क चकलेटसँग मिसाइएको छ। रम र भोड्का ह्वाइट चकलेटमा छ। धारणाका अनुसार विदेशमा ह्वाइट लिक्वेर चकलेटको चलन छैन, डार्क चकलेटमा मात्रै बनाउँछन्।

नेपालमा मदिराका थोरै उपभोक्ता मात्र लिक्वेर चकलेटसँग परिचित छन्। आफूहरूले पनि विदेशी लिक्वेर चकलेट चाखेरै उत्पादनको सोच बनाएको धारणाले बताइन्। 

उनले भनिन्, ‘हामीले कुनै इन्स्टिच्युटमा गएर सिकेका होइनौं। करिब दुई महिना अध्ययन गरेपछि सोचअनुसार बनाउन सफल भएका हौं।’

धारणाले करिब १२ वर्षअघि लिक्वेर चकलेट खाएकी थिइन्। उनले उपहारमा पनि पाएकी थिइन्। त्यति बेलै उनको मन लिक्वेर चकलेटले तानेको थियो।

‘कसैले बाहिरबाट के ल्याइदिऊँ भनेर सोधे म लिक्वेर चकलेट नै मगाउँथे। स्वाद र अवधारणा धेरै मनपर्थ्यो,’ उनले भनिन्, ‘त्यो बेलादेखि नै यो कसरी बनेको होला भनेर ध्यान तानिएको थियो।’ 

धारणा सन् २०११ मा कानुन विषय पढ्न भारत गएकी थिइन्। उनले धेरै नयाँ कुरा देखिन्। भारतमा हुँदै नेपाल फर्किएर केही नयाँ गर्नुपर्छ भन्ने सोच उनमा पलाएको थियो। 

उनी कानुनमा स्नातक तह पूरा गरेर फर्किन्। उनका सहकर्मी निकेश पनि भारतमै बिजनेसमा स्नातक तह पूरा गरेर फर्केका हुन्। पढाइकै क्रममा भारतमै उनीहरूको चिनजान भएको थियो।

धारणा शाह र निकेश श्रेष्ठ।

‘म भारतमा देखेको र सिकेको नयाँ कुरा कसरी नेपालमा आफैं गर्ने भन्ने सोच्थेँ,’ निकेशले भने।

निकेशका बुबा अटोमोबाइल व्यवसायी हुन्। भारतबाट फर्केर उनले केही दिन बुबाकै कम्पनीमा काम गरे। 

त्यहाँ काम गर्दाको अनुभव निकेशले सुनाए, ‘मैले श्रमिक भएरै काम गर्दा पनि अरू श्रमिकहरूले साहुको छोरो भनेर सम्मानको नजरले हेर्दा मैले केही पनि सिक्न सकिनँ। आफ्नै कम्पनी छाडेर एक वर्ष अर्कै कम्पनीमा काम गरेँ।’ 



धारणाले पनि भारतबाट फर्केपछि सर्वोच्च अदालतमा काम थालेकी थिइन्। लगत्तै व्यवसाय गर्न निकेशसँग कुरा मिलेपछि दुवैले सन् २०१८ मा ‘कोराक्रियसन’ नाममा एउटा मार्केटिङ एजेन्सी चलाउन सुरू गरे।  यो एजेन्सी अहिले पनि चलिरहेको छ।

मार्केटिङ एजेन्सीमा काम गर्दागर्दै उनीहरूले उत्पादन क्षेत्रमा पनि काम गर्ने सोच बनाए। यही सोचको नतिजा हो चोको रक्सी।

उनीहरूका अनुसार दुई लाख ५० हजार रूपैयाँमा उनीहरूले यो काम थालेका हुन्। लगानी गर्नुअघि धेरै घोत्लिएर बजार बुझेको उनीहरू बताउँछन्।

निकेश भन्छन्, ‘नेपालमा विदेशी कपडा र खानेकुरा धेरै देखियो तर लिक्वेयर चकलेट पाइएन। युवाहरूले नेपाली ब्रान्ड बनाएर काम गरिरहेको कुराले पनि हामीलाई हौसला दिएको थियो।’ 

सुरूमा उनीहरूले विभिन्न स्वादमा चोको रक्सी बनाउँदै परीक्षण गरे। परिवारजन, आफन्त र साथीहरूलाई चखाए। दुई महिनाको प्रयासमा चित्तबुझ्दो स्वाद तयार भयो। 

गत वर्ष, २०२१ को सेप्टेम्बर अन्तिम साताको एक दिन सामाजिक सञ्जालमार्फत चोको रक्सी सार्वजनिक गरे। पहिलो पटक सात बट्टा माग आयो। उत्पादकहरू उत्साहित भए।

‘सुरूमा दस बट्टा चकलेट बनाएका थियौं। सात बट्टा बिक्री हुनु त हाम्रा लागि माइलस्टोन नै भयो,’ उनले भने।

लगत्तै दसैं सुरू भयो। यस अवसरमा एक बट्टामा नौ वटा चकलेट राखेर दैनिक २७ बट्टासम्म बेचे। निकेशका अनुसार सुरूमा आफन्त, साथीभाइ र चिनजानका व्यक्तिहरूबाट माग आएको थियो। बिस्तारै बजारको माग बढ्न थाल्यो। उनीहरूले उत्पादन बढाउँदै लगे।

अहिले चोको रक्सी काठमाडौं उपत्यकाका धेरै ठाउँबाट माग हुने गरेको छ। पोखरा, चितवन, धरान लगायतका ठाउँबाट पनि माग आउन थालेको छ।

खासगरी चाडवाडको समयमा चोको रक्सीको राम्रो माग छ। यस्तो समयमा दैनिक ३० बट्टाभन्दा बिक्री भएको छ। एक पटक खाएपछि दोहोर्‍याएर मगाउने धेरै छन्। 

उपहार र सगुनका रूपमा दिन पनि चोको रक्सीको माग हुने गरेको उनीहरूको अनुभव छ। जन्मोत्सव मनाउनेहरूले पनि मगाउने गरेका छन्। उपभोक्ताले धेरै मन पराएर प्रतिक्रिया दिने गरेको धारणाले बताइन्।

आफ्नो उत्पादन गुणस्तरीय रहेको पनि उनको दाबी छ। 

चोको रक्सीबारे उपभोक्ताको अनेक जिज्ञासा आउने गरेको छ- यो चकलेट हो कि रक्सी हो? कस्तो रक्सी हो? नशा लाग्छ कि लाग्दैन? यो खाएर सवारी चलाउँदा मापसेमा परिन्छ कि परिँदैन? कतिवटा खाएपछि नशा लाग्छ?

खासमा लिक्वेर चकलेट भनेको रक्सी नै हो तर बोतलकै रक्सी खाएको भन्दा कम नशा हुन्छ। 

निकेश भन्छन्, ‘लिक्वेर चकलेट हो। अलिकति टिप्सी (नशा दिने) त भइहाल्छ, अल्कोहल मिसिएको छ तर झ्याप्प पार्दैन, रमाइलो अनुभव गर्न सक्नुहुन्छ।’ 

चोको रक्सीको एउटा बट्टामा नौ वटा चकलेट राखिएको हुन्छ। एउटामा अधिकतम ३० मिली मदिरा हुन्छ। यो खाएर सवारीसाधन चलाउँदा मापसे (मादक पदार्थ सेवन) को नियमले समाउँछ। 

‘नेपालमा कति मात्रासम्म मदिरा खाएर सवारी चलाउन मिल्छ भन्ने मापदण्ड छैन। यहाँ त रेडबुल खाँदा पनि मापसेमा परिन्छ। चोको रक्सी खाएर ड्राइभ नगर्न हाम्रो सुझाव छ,’ उनले भने, ‘अनि गर्भवतीलाई पनि यो नखान सुझाव छ।’

चोको रक्सी १८ वर्षभन्दा माथिको उमेर समूहलाई लक्षित गरेर उत्पादन गरिएको निकेशको भनाइ छ। 

देशबाहिर बस्ने नेपालीले पनि चोको रक्सी मगाउँछन्। तर उनीहरूले पठाउन सकेका छैनन्। देशभित्र भने माग भएका सबैजसो ठाउँमा पुर्‍याइरहेको उनले बताए। देशभित्रको माग पूरा गरेर मात्र बाहिर पठाउने सोच राखेको निकेशले बताए। 

त्यस्तै नेपालीहरू विदेश जाँदा चोको रक्सी उपहार लैजाऊन् भनेर चाँडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा पसल राख्ने योजना पनि उनीहरूले बनाएका छन्।

Copy link
Powered by Social Snap