२०७९ माघ २५

Advertisement

के नाफा खोज्नु पाप हो?




दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्।

पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो।

दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्।

सांसद चुनिएपछि समाजमा व्याप्त समस्यालाई विधायिकी सुव्यवस्थामार्फत् कसरी समाधान गर्ने भन्नुको सट्टा उनीहरू आफूलाई विकासे दूतका रूपमा प्रस्तुत गर्छन्।

नियम-कानुन सरल, स्पष्ट र पारदर्शी बनाई जनताले भोग्दै आएका अप्ठ्यारा सजिलो बनाउनुपर्नेमा सडक, पुल, भवन बनाइदिन्छु भनी बाचा गर्ने सोच-शैलीको पृष्ठभूमि राज्यवादी अर्थ राजनीति नै हो। जनतामा भएको सामर्थ्यलाई कथित राज्यमा समर्पण गर्ने र त्यही राज्यबाट केही पाउँछु कि भनी आशा गर्ने आशामुखी सोच-शैलीमा परिवर्तन आवश्यक छ।



Advertisement



एउटा स्वतन्त्र समाजमा म मेरो सामर्थ्यको विनिमय गर्छु। म आफ्ना तर्कहरूको कारोबार गर्छु। म मेरो सिर्जनालाई मजस्तै अरू धेरै नागरिकबाट प्रमाणीकरण गर्न खोज्छु। त्यसमा सही ठहरिएँ भने म सफल हुन्छु।

म चिकित्सक भए बिरामीको राम्रो सेवा गर्छु। खेलाडी भए राम्रो खेल खेल्छु। गायक भए राम्ररी गीत गाउँछु। यसरी पत्रकार, प्राध्यापक, इञ्जिनियर, वकिल, सिकर्मी, डकर्मी, व्यापारी सबै पेसा वा व्यवसायमा भएका मान्छे आफ्नो क्षेत्रमा उत्कृष्ट हुन चाहन्छन् र प्रशंसा बटुल्न चाहन्छन्। उनीहरू सबै आ-आफ्ना क्रियाकलापबाट नाफा खोज्छन्।

के समाजको यो चाहना गलत हो? के नाफा खोज्नु पाप हो?

विद्वानहरूले कतिसम्म भनेका छन् भने, समाज चल्न दुई चिज मात्र भए पुग्छ। यी दुई चीज सूचना र प्रेरणा हुन्।

कुन चाहिँ गतिविधि रोज्ने भन्ने सूचना र उक्त गतिविधिबाट मैले के पाउँछु भन्ने प्रेरणा मानव समाज सञ्चालनका लागि पर्याप्त हुन्छ। यी दुई चिज भएपछि अन्य कुराको जोहो मान्छै आफैंले गर्छ।

पुँजीवादी आर्थिक समाजमा बजार मूल्यले सूचनाको काम गरेको हुन्छ भने नाफाले प्रेरणाको। कुन काम गर्दा ठिक होला भन्ने कुरा बजार मूल्य (ज्याला, वस्तु तथा सेवाको भाउ, ब्याज दर, लगान, मुद्राको विनिमय दर) ले तपाईंलाई बताइरहेको हुन्छ। तपाईं सित्तैमा त कुनै काम गर्नु हुँदैन। त्यसो हुँदा कुनै काम गर्दा त्यसबाट मैले के लाभ पाउँछु भन्ने तपाईं हेर्नुहुन्छ। यस्तो लाभ आर्थिक मात्रै हुन्छ भन्ने हुँदैन।

नाफा आर्थिक कारोबारमा मात्रै हुन्छ भन्ने पनि होइन। हामीले बुझ्दै आएको परोपकारी काममा पनि नाफा हुन्छ। तपाईं चन्दा दिनुहोस् वा दान गर्नुहोस्, त्यसमा कुनै न कुनै लाभको अपेक्षा गरिएको हुन्छ।

हामीले मन्दिर, वृद्धाश्रम, अनाथालय, विद्यालय, पुस्तकालय वा अस्पतालहरूमा दान प्राप्त भएका दसीहरू देखिने स्मारकहरू देखेका छौं। कतिपय ठाउँमा त फलानो चिज (कुर्सी, टेबल, पंखा, फिल्टर) फलानाले दिएको भन्ने विवरण तिनै चिजमा लेखेर प्रदर्शन गरिएको हुन्छ।

यति मात्र होइन, मान्छेहरूका नाममा मूर्ति बनाइन्छ, पुरस्कार राखिन्छ। पार्क बनाइन्छ, सार्वजनिक सम्पत्तिहरूको नामाकरण पनि गरिन्छ।

यी सबै काम सामान्यतया तिनीहरूका नाममा गरिन्छ जसले समाजलाई केही दिएका छन्। समाजलाई केही दिएकैले यहाँ केही पाउन खोजिएको छ। यो पवित्र उद्देश्य हो कि होइन? यस किसिमको विनिमयलाई नैतिक रूपमा कसरी गलत भन्न सकिन्छ?

प्रचलित बजार मूल्यमा कुनै काम गर्न वा नगर्न मान्छे स्वतन्त्र हुन्छन्। सामान्य मानसिक अवस्थाका बालिग व्यक्तिले आफ्ना लागि उत्तम के हो छुट्याउन सक्छ भन्ने मान्यता राख्छ पुँजीवादले। सँगसँगै, पुँजीवादले अपवाद पनि स्विकार्छ। समाजमा असल मान्छे मात्र हुँदैनन्, खराब पनि हुन्छन्। समाजमा सबै मान्छे उत्तिकै सामर्थ्यवान हुँदैनन्।

खराब मान्छेबाट असल मान्छेलाई सुरक्षा प्रदान गर्न सहमतिको सामूहिक सुरक्षा संयन्त्र (प्रहरी, अदालत) बनाउन सकिन्छ भनेर पुँजीवादीहरू भन्छन्। समाजमा असमर्थ मान्छे पनि हुन्छन्। पुँजीवादी समाजमा उनीहरूलाई स्वतःस्फुर्त सहयोग गर्न कोही अघि सर्छ भने ठिक छ तर कसैले कसैलाई सहयोग गर्न बाध्य पार्न सक्दैन।

उसो भए असमर्थलाई कसरी सहायता गर्छ पुँजीवादी समाजले? यसका लागि राज्यले केही गर्नु पर्दैन? पुँजीवादीहरू भन्छन्, पर्दैन।

मान्छे प्रशंसा मात्रै खोज्दैन, प्रशंसाको लायक बन्ने केही काम गर्न खोज्छ। मान्छेको जीवनमा अप्ठ्यारा दिनहरू आउँछन् भन्ने उसले अनुभवबाट जानेको छ। मान्छे जुवामा हार्छ, खेतीपाती नष्ट हुन्छ, व्यापार चौपट हुन्छ, ठूलो रोगले समाउँछ, अचानक जागिर छुट्छ, दुर्घटनामा पर्छ, लागुऔषध दुर्व्यवसनमा फस्छ। त्यस्ता अप्ठ्याराबाट कसरी जोगिने भन्ने उपाय पनि उसले पत्ता लगाएको छ। बिमा, बैकिंग, धितोपत्र लगायतका वित्तीय आविष्कार आर्थिक क्षेत्रमा यस्ता उपायको खोजीबाट प्राप्त भएका नतिजा हुन्। राजनीति, सामाजिक व्यवस्था, प्रविधिका क्षेत्रमा पनि यस्ता थुप्रै उपाय पत्ता लगाइएका छन्।

आजको दिनमा हामी व्यक्तिगत रूपमा आर्थिक उन्नतिको मार्गमा होऊँला तर भोलिको हामीलाई थाहा हुँदैन। आज आर्थिक रूपमा सक्षम मान्छे कुनै कारणले भोलि संकटमा पर्न सक्छ, कसैले नियतवश उसलाई हानि नपुर्‍याउँदा पनि। त्यसैले मान्छे आर्थिक सुरक्षाका लागि बचत गर्छ, बिमा गर्छ, लगानी गर्छ, सम्पत्ति बढाउन खोज्छ।

समाजमा व्यक्तिगत स्वतन्त्रता र निजी सम्पत्तिको अधिकार सुनिश्चित गरेर पुँजीवादले यस्तो क्रियाकलाप प्रोत्साहित गर्छ। यी क्रियाकलाप वैधानिक भने हुनुपर्छ। अर्कालाई हानि पुर्‍याइनु हुँदैन। चोर्न, लुट्न, झुक्याउन पाइँदैन। बल प्रयोग हुनु हुँदैन।



पुँजीवादीहरू उद्देश्य असल भएर मात्र हुँदैन, त्यसलाई प्राप्त गर्ने साधन पनि पवित्र हुनुपर्छ भन्छन्। त्याग, बलिदान भन्ने कुरा मान्छेको व्यक्तिगत चाहनाको कुरा हो। उसलाई अरू कसैले बलिदान गर्न बाध्य पार्न सक्दैन। समाजका लागि, देशका लागि वा कुनै पहिचानयुक्त समूहका लागि व्यक्तिलाई त्याग गर्न लगाउनु हुँदैन। पाँच जनालाई बचाउन एक जनालाई मार्ने भन्ने हुँदैन।

व्यक्तिगत छनौटको यो जीवनशैली र सामाजिक व्यवस्थामा के खोट छ? पुँजीवादको यो नैतिकता अरू सामूहिकतावादको भन्दा फरक छ तर नराम्रो छैन। तुलनात्मक रूपमा भन्दा राम्रो छ। यी दुईमध्ये एउटा रोज्नुपर्‍यो भने म व्यक्तिगत स्वतन्त्रतालाई रोज्छु। मलाई मनपर्ने नैतिकता यही हो। तर त्यसो भन्दैमा म अरूमाथि यो नैतिकता थोपर्न सक्दिनँ।

वर्तमान समाजले भौतिक क्षेत्रमा धेरै विकास गरेको छ। हाम्रा आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक व्यवहार बदलिएका छन्। जटिल बन्दै गएका छन्। शिकारी, पशुपालन वा कृषि युगको जस्तो सरल छैनन्।

बजारबिना आर्थिक गतिविधि असम्भव हुन्छ। आर्थिक गतिविधि सुस्त भएका समाज पिछडिएका हुन्छन्। कमजोर आर्थिक धरातलमा परिष्कृत सामाजिक, राजनीतिक वा सांस्कृतिक व्यवहार अपेक्षा गर्न सकिँदैन। पुँजीवादीहरू भन्छन्, बजारमा वा जुनसुकै मानवीय कारोबारमा सरकारी हस्तक्षेप जति कम हुन्छ, त्यो कारोबार त्यति नै चुस्त हुन्छ। साधन र स्रोतको अधिकतम उपयोग गर्न बजारले जान्दछ। भलै बजारले दिने समाधान पूर्ण हुँदैन।

बजारले दिने समाधान किन पूर्ण हुँदैन त? किनकि बजार भनेको मानवीय सोच र व्यावहारिक शैलीको प्रतिबिम्ब हो। मानवीय सोच र व्यावहारिक शैली पूर्ण नहुँदासम्म बजार पनि पूर्ण हुँदैन। मान्छेको सोचमा र व्यवहारमा धेरै कमजोरी छन्। त्यो कमजोरी बजारमा प्रतिबिम्बित हुन्छ।

अर्थशास्त्रका पुस्तकमा मान्छे विवेकशील हुन्छ भन्ने मान्यता राखिएको हुन्छ। तर मान्छे विवेकशील हुनैपर्छ भन्ने अनिवार्य छैन। अर्थशास्त्रीले परिकल्पना गर्नेजस्तो मान्छे पूर्ण आर्थिक मानव हुँदैन। हानि हुन्छ भन्ने जान्दाजान्दै पनि मान्छेले लोभलालच, डर, त्रास, इर्ष्या, आलस्य, अहंकारजस्ता भावनात्मक कारणबाट प्रभावित भई आर्थिक कारोबार गर्छन्। मान्छेको यो कमजोरी बजारमा प्रतिविम्बित हुन्छ। बजार पूर्ण हुन नसक्नुका प्रमुख कारणमध्ये यी एउटा हो।

तर बजारले दिने समाधान सरकारले दिने समाधानभन्दा राम्रो हुन्छ। एउटा कुरा गरौं, हामीलाई राम्रा उपायहरूको संहिता (नियम) अनुसार आफ्ना गतिविधि सञ्चालन गर्न मन पर्छ कि एउटा बुद्धिमान, शक्तिमान शासकबाट शासित हुन? पहिलो बजारको बाटो हो जहाँ व्यक्ति आफ्नो इच्छाअनुसार चल्छन्, अरूलाई हानि नपुर्‍याइकन। दोस्रो सरकारको बाटो हो जसमा नागरिक अरूको निर्देशनमा चल्छन्।

बजार नियममा आधारित हुन्छ। के गर्न पाइने, के गर्न नपाइने सहमतिमा तय भएको हुन्छ। प्रत्येक सहभागीलाई थाहा हुन्छ, अर्को मान्छे के गर्न आएको हो। कुनै इञ्जिनियरले म डाक्टर हुँ भनेर बिरामी जाँच्ने धृष्टता गर्दैैन। बैंकले म कहाँ यति पैसा राख, म यति खान्छु, तिमीलाई यति दिन्छु भनेर खुलेर भन्छ।

दोस्रो सरकारी समाधानमा हामी एक जना मान्छेमा भर पर्नुपर्ने हुन्छ। जसमाथि हामी भर पर्छौं उसलाई के गर्दा तपाईं-हामीलाई राम्रो हुन्छ भन्ने जानकारी हुँदैन र त्यसलाई पूर्ति गर्ने चासो पनि हुँदैन। प्रधानमन्त्री शेरबहादुर देउवा (केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल वा बाबुराम भट्टराई) लाई मेरो अस्तित्वबारे जानकारी हुँदैन, उनीहरूले मेरो हित अधिकतम हुने गरी कसरी काम गर्छन्?

आफ्नै व्यक्तिगत हित रक्षामा व्यस्त उनीहरूलाई मेरो भलो गर्ने ज्ञान, फुर्सद होला भन्ने मलाई रत्तिभर पनि विश्वास छैन। यो उहाँहरूको व्यक्तिगत समस्या मात्र होइन। यो प्रणालीगत समस्या पनि हो। हाम्रो शासकीय प्रणालीको टुप्पोमा मात्रै होइन, हरेक तहमा समस्या छ। वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म, कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मलाई अधिकार दुरूपयोग गर्ने प्रशस्त अवसर हाम्रो प्रणालीले दिन्छ।

त्यसैले हामीलाई दोस्रो समाधान (सरकारी समाधान) मन पर्दैन। मन नपरे पनि जान-अन्जान हामी त्यसैलाई रोजिरहेका छौं। किनकि हामी नाफालाई पाप हो भन्ने दर्शनबाट प्रभावित छौं। तर नाफा पाप होइन।

यो सवालमा हाम्रो पुस्ताले निकै पिछडिएको सोच थामिराखेको छ। बरू ईसापूर्व चौथो शताब्दीका कौटिल्य निकै अग्रगामी सोच राख्थे। कौटिल्यको कृति अर्थशास्त्रलाई तत्कालीन समयको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विकासको उपज मान्न सकिन्छ। त्यसमा उनले ऋण लिनुदिनुलाई उचित भनेका छन्। यही समय अरू समाजमा खासगरी युरोपमा ऋण लिनुदिनुलाई पाप भनिन्थ्यो। ईसाको बाह्रौं, तेह्रौं शताब्दीमा मात्रै क्रिश्चियन युरोपले ऋण लेनदेन स्वीकार गरेको हो।

कौटिल्यले ऋण लेनदेन स्वीकार्य मात्र भनेका थिएनन्, यसलाई कसरी प्रभावकारी बनाउने र सम्पत्ति सिर्जनामा लगाउने भन्ने उपाय बताएका थिए। ब्याजदरमा हुने उतारचढाव कौटिल्यले बुझेका थिए। ऋणमा हुने जोखिम, अनिश्चितता र ऋण लिनुदिनुपर्ने परिस्थितिले ब्याज दर निर्धारण हुने व्याख्या उनले गरेका थिए।

धितोसहितको ऋणमा उनले प्रतिमहिना १.२५ प्रतिशत र व्यापारका लागि ५ प्रतिशत ब्याज दर निर्धारण गरेका थिए। वनको बाटो भएर हुने व्यापारका लागि १० प्रतिशत र समुद्री मार्गबाट हुने व्यापारलाई १५ प्रतिशत ब्याज दर तोकेका थिए। सैन्य अभियानका लागि सामान्यभन्दा दोब्बर ब्याज लिन सकिने उनको तर्क थियो।

तर हाम्रो दिग्भ्रमित पुस्ता ब्याजलाई पाप र नाफालाई पाप भन्ने तहमै छ। तीव्र भौतिक उन्नतिको आकांक्षा राख्ने तर नाफालाई पाप भन्ने हाम्रो सोचमा विसंगति छ। यसलाई सच्च्याइहाल्नुपर्छ।

कुनै कर्मप्रति गर्व गर्नु पुँजीवादी नैतिकताभित्र पर्छ। यसभित्र निर्भीक, इमानदारी, विश्वसनीय, उद्यमशील, मानवता, आस्था, सरलता, विवेकशील, मितव्ययी, स्नेह, आत्मनिर्भर, तर्कशील गुणहरू हुन्छन्। यस्तो नैतिकताको पक्षपोषण पाप हुँदैन। तर यो बुर्जुवा नैतिकतालाई हाम्रो समाजले पराया भनेको छ, पश्चिमा भनेको छ। यो गलत हो।

यस्तो नैतिकता हाम्रै समाजमा छ। हाम्रो टोलछिमेकमा, गाउँमा, सहरमा यत्रतत्र यसको प्रतिबिम्ब देखिन्छ। हामी स्वाभिमानी, उद्यमी, परिश्रमी छौं। हामी पुरस्कार खोज्छौं। त्यो आर्थिक (नाफा), गैरआर्थिक (प्रशंसा) जे पनि हुन सक्छ।

Copy link
Powered by Social Snap