२०८१ बैशाख १२

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

साभार: सेतोपाटी

रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट।

बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ।

प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ।

तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ।

गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो।

उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। …..१२२२ आइडी नम्बर भएका उनको रिपोर्ट नेगेटिभ आयो।

उनले अर्को दिन अगष्ट २५ मा नेशनल प्याथ ल्याबमा फेरि परीक्षण गरे। आइडी नम्बर ….१३७४ भएका उनको रिपोर्ट नेगेटिभ नै आयो।

तर त्यसको भोलिपल्ट अगष्ट २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भने उनको रिपोर्ट पुनः पोजिटिभ नै आएको छ।

प्रयोगशालाको नमूना नम्बर १०८३७ बाट २६ अगष्टमा गरिएको उनको पिसिआर रिपोर्टको नतिजा पोजिटिभ आएपछि उनी अहिले आइसोलेनमा छन्।

एउटा प्रयोगशालामा नेगेटिभ र अर्कोमा पोजेटिभ आएको कारण आफू संक्रमित हो कि होइन भन्ने नै पहिल्याउन नसकेको उनले बताए।

यस्तै समस्यामा छन् रुपन्देहीकै रोहिणी गाउँपालिकाकी १३ वर्षीया बालिका।

उनको पनि दुइटा ल्याबमा परीक्षण गर्दा एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ आयो।

अगष्ट २९ मा लुम्बिनी प्रादेशिक अस्पतालको नमूना नम्बर ११६३४ बाट गरिएको पिसिआर परीक्षणको रिपोर्टमा पोजिटिभ छ।


Advertisement


दुई दिनपछि नेसनल प्याथ ल्याबमा परीक्षण गर्दा … १४७१ आइडी नम्बर भएकी उनको रिपोर्ट नेगेटिभ आयो।

यस्तो अन्यौलमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १२ मा बस्ने महोत्तरी पिपरा गाउँपालिकाका ३७ वर्षीय पुरूष पनि छन्।

उनले फरकफरक ल्याबमा गराएको परीक्षणको नतिजा पनि फरक नै आयो, एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ।

रुपन्देहीको एप्पल इन्टरनेशनल फर्मास्युटिकलमा काम गर्ने उनले गत आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालाको नमूना नम्बर १२५०४ बाट संकलन गराएको स्वाबको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

उनी उक्त रिपोर्टबाट सन्तुष्ट भएनन्। भोलिपल्ट नेशनल प्याथ ल्याबमा परीक्षण गर्न पुगे। उक्त ल्याबको परीक्षणबाट उनमा कोरोना नेगेटिभ देखियो।

‘एउटामा पोजेटिभ आएपछि क्रसचेकका लागि अर्कोमा गएको त्यहाँ नेगेटिभ पो देखायो,’ उनले भने, ‘म अन्यौलमा छु। बस्न त आइसोलेसनमै बसेको छु।’

उनी बनबाटिका स्वास्थ्य चौकीमा स्थापना गरेको आइसोलेसनमा छन्।  

पिसिआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुइटा प्रयोगशालाको रिपोर्ट फरकफरक आएपछि झन् जोखिम बढेको छ।

रिपोर्ट फरक आएकोले आइसोलेसन बस्ने कि नबस्ने अन्यौलमा परेको परीक्षण गराउने व्यक्तिहरू बताउँछन्।

भैरहवास्थित प्रादेशिक प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले स्वाब संकलन गरेको समय, प्रकृया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरक/फरक रिपोर्ट आउन सक्ने बताए।

उनले बुटवलका प्रयोगशालाहरूमा यस्तो समस्या आएको आफूले पनि जानकारी पाएको बताए।

एउटै मानिसको आज र भोलि स्वाब परीक्षण गर्दा भाइरसहरूको संख्या थपघट हुने र प्रयोगशालाहरूले त्यसैको आधारमा रिपोर्ट दिने हुँदा फरक/फरक रिपोर्ट आउने उनको तर्क छ।

गिरिले एउटा प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा बस्नुको सट्टा नेगेटिभ रिपोर्टको खोजीमा हिँड्नु गलत भएको बताए।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्प खनाल पनि प्रयोगशालामा स्वाब संकलन महत्वपूर्ण हुने र त्यसैको आधारमा नतिजा आउने बताउँछन्।

‘कुन परिस्थितिमा कसरी स्वाब संकलन गरिएको छ त्यसको आधारमा नै रिपोर्ट आउने हो, त्यसैले पिसिआर पनि ६० प्रतिशत मात्रै भरपर्दो रहेको छ,’ उनले भने।

Copy link
Powered by Social Snap