२०८० चैत्र १६

मल लिन चर्को घाममा ८ घण्टा लाइन, बेलुका रित्तो हात

साभार: आर्थिक सवाल

दमौली – चर्को घममा ८ घण्टा लाइन बसेका किसानले मल नपाइएपछि फर्किएका छन । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका किसानले दिउँसो ४ः३० बजेसम्म पनि मल नपाएपछि निरास भएर फर्किएका छन ।

‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ एक किसानले भने, ‘मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।’ मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनको गुनासो छ । उनले कसैले ३५÷४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए ।

केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । ‘कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,’ एक महिला किसानले भनिन , ‘धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।’ उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । ‘अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,’ उनले प्रश्न गरिन् ।

दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे ।


Advertisement


प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।

Copy link
Powered by Social Snap