दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’
कास्की, १६ साउन : साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन ।
शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्नुहुन्छ । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहनुभएकी उहाँ प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आउनुभएको थियो ।
पोखरा आएसँगै उहाँमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उहाँ ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुग्नुभयो, उहाँले त्यसपछि आफ्नो खुसी थाम्न सक्नुभएन । “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो”, उहाँले भन्नुभयो, “उडेर हावाको...









